काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको प्राथमिकतामा सत्ता नरहेको बताएका छन् । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक निर्माण गर्न सकिने निष्कर्षका साथ एमाले अघि बढिरहेको महासचिव पोखरेलको भनाइ छ ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको कार्यक्रममा महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने निष्कर्षसहित बलियो शक्ति निर्माणमा लागेको बताए । एमालेले सत्ता प्राप्तिलाई प्राथमिकतामा नराखी शक्ति निर्माणमा जुटेको उनको भनाइ छ । 'अहिले हाम्रा लागि सत्ता प्रधान होइन, हाम्रा लागि राष्ट्रको भविष्य प्रदान हो । अब यो राष्ट्र निर्माण गर्नका लागि कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन । बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेको विकास अबको हाम्रो संकल्प हो भन्ने मान्यताका आधारमा हामीले मिसन ग्रासरुट अभियान थालेका थियौं,' उनले भने, 'त्यही मिसन ग्रासरुट अभियानको जगमा यतिबेला एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्पका साथ नयाँ योजना, नयाँ संकल्पका साथ अगाडि बढन खोजिरहेको छ ।’
बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकमा विकास निर्माण गर्न सकिने पोखरेलको भनाइ थियो । मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढनुपर्ने बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनावलगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी मिशन ग्रासरुट अभियान सञ्चालन गरेको उनले बताए ।
‘आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गर्ने । के जनताको जनादेश त्यस्तै हो ? आज प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली कांग्रेस पहिलो दल छ, एमाले दोस्रो दल छ । माओवादी धेरै तल तेस्रो दलका रूपमा रहेको छ । तर सरकारको नेतृत्व कसले गर्दैछ ? तेस्रो दलले गर्दैछ । के का आधारमा गर्दैछ ? भन्दाखेरी नेपाली समाजमा राजनीतिको ध्रुवीकरण हुन सकेन,' उनले भने, 'बलियो राजनीतिक दल, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरू बलिया हुन सकेनन् । यो मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ । यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ ।'
धेरै राजनीतिक दल हुँदा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको पनि पोखरेलको भनाइ थियो । यस्तो अवस्थामा वैदेशिक हस्तक्षेप पनि बढेको उनले बताए । 'जति धेरै राजनीतिक दल, त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दल, त्यतिधेरै राजनीतिक अस्थिरता । जति धेरै राजनीतिक दल, त्यतिधेरै वैदेशिक चलखेल । जतिधेरै राजनीतिक दल, राष्ट्रको भविष्य अँध्यारो हुन्छ,' उनले भने, 'धेरै राजनीतिक दल होइन्, बलिया राजनीतिक दलतर्फ अब समाजलाई डोहोर्याउन जरुरी छ ।'
