कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य गरेको छ । तेस्रो पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएपछि जेठमा पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री दाहालले चीन यात्राको तयारी थालेका हुन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको गृहकार्य

चीनले यसअघि चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन निम्ता गरे पनि प्रधानमन्त्री दाहाल गएका थिएनन् । चिनियाँ राजदूत छन सोङले फागुन १० मा दाहाललाई भेटेर बोआओ फोरममा सहभागिताका लागि निम्तो दिएका थिए ।

‘दाहालको बेवास्ताप्रति बेइजिङले सार्वजनिक रुपमा नबोले पनि आन्तरिक रुपमा असन्तुष्टि जनाएको थियो, सोही कारण उनलाई छिट्टै भ्रमणमा बोलाउने योजनामा बेइजिङ थिएन,’ परराष्ट्र स्रोतले भन्यो, ‘चिनियाँ पक्षलाई आश्वस्त पार्न र भ्रमणका लागि वातावरण मिलाउन दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका हुन् ।’ स्रोतका अनुसार चीनमा आगामी नोभेम्बर वा डिसेम्बरमा हुने १० औं बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनभन्दा अगाडि नै भ्रमण गर्ने दाहालको चाहना छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ चीनको सिचुवान प्रान्तमा भएको पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी भएर फर्किएका हुन् । उनले भ्रमणका दौरान चीनका उपप्रधानमन्त्री ही लिफङसँग भेटवार्ता गरेका थिए । उक्त अवसरमा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको उनले बताएका छन् ।

सोही अवसरमा प्रधानमन्त्री दाहालको चीन भ्रमणबारे पनि कुराकानी भएको स्रोतको दाबी छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहालको भ्रमण छिट्टै हुने बताए । उनले चीन भ्रमणका लागि बेइजिङमा दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको पनि जानकारी दिए । ‘अगस्टभित्र (साउन १५ देखि भदौ १५) गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ, प्रधानमन्त्रीको चीन भ्रमण छिट्टै होला, दुवैतिर अनुकूलता मिलाएर भ्रमण हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि भ्रमणको गृहकार्य भइरहेको बताए । उनले प्रधानमन्त्री दाहाल बेइजिङ निस्कनुअघि इटालीमा हुने ‘यूएन फुड सिस्टम प्लस टु स्टकटेकिङ मुभमेन्ट समिट’ मा सहभागी हुने जानकारी दिए । उक्त समिट साउन ८–१० सम्म रोममा हुनेछ । उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघ र इटाली सरकारको संयुक्त आयोजनामा हुन लागेको हो ।

दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ को अगस्टमा भारत भ्रमण नगरीकन बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन चीन पुगेका थिए । दाहालले त्यस बेला तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गरेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए ।

तर पछि दाहाल स्वयंले बेइजिङबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने दाबी गरेका थिए । दाहाल सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा भने आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए । उक्त अवधिमा दाहाल द्विपक्षीय भ्रमण र गोवामा भएको ब्रिक्स सम्मेलनमा बिमस्टेकका सदस्य मुलुकहरूको आउटरिच समिटमा सहभागी हुन गएका थिए ।

प्रकाशित : असार १८, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?