३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

अजरबैजानमा पक्राउ परेका नेपालीको उद्धार गर्न केही दिन लाग्न सक्छ : राजदूत तुलाधर

काठमाडौँ — अवैध रूपमा सीमापार गर्दै 'अमेरिका जान खोजेका' २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएपछि उनीहरूलाई छुटाउनका लागि नेपाल सरकारले पहल गरिरहेको छ ।

अजरबैजानमा पक्राउ परेका नेपालीको उद्धार गर्न केही दिन लाग्न सक्छ : राजदूत तुलाधर

रुसका लागि नेपालका आवासीय राजदूत तथा अजरबैजानका लागि नेपालका गैरआवासीय राजदूत मिलन तुलाधरले कान्तिपुरसित कुरा गर्दै नेपालीहरूलाई स्वदेश फर्काउनका लागि पहल भइरहेको जानकारी दिए ।

‘दूतावासले अजरबैजान गृह प्रशासनसँग सम्पर्क गरेको छ । नेपालीको उद्धार गर्न केही दिन लाग्न सक्छ,’ तुलाधरले भने, ‘नेपालीहरू कसैको पनि राहदानी छैन । उनीहरूलाई ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाउनुपर्ने हुन्छ ।’ अजरबैजानको गृह प्रशासनसँग मौखिक रुपमा कुरा भए पनि लिखित रुपमा भने नेपाललाई औपचारिक रुपमा जवाफ आएपछि हुने उनले बताए । ‘हामीले नेपाल सरकारको तर्फबाट नेपालीहरूलाई छुटाउनका लागि के गर्नुपर्छ, तयार छौं भनेका छौं । अब अजरबैजानबाट जवाफ आएपछि काम अघि बढ्छ । तर यसका लागि थप केही दिन लाग्न सक्छ‚’ उनले भने ।

सम्बन्धित समाचार

अवैध रूपमा अमेरिका जान लागेका नेपाली अजरबैजानमा पक्राउ

तुलाधरका अनुसार नेपालीहरुलाई झुक्याएर पैसा उठाउँदै विदेश लैजान खोजेको सूचना दुतावासलाई प्राप्त भएको छ । ‘एक जनाले त अमेरिका लैजाने भन्दै आफूसँग १० लाख रुपैयाँ लिएर ल्याएको हामीसँगको संवादमा बताएका छन् । हामीसँग सम्पर्कमा आएका व्यक्ति नेपाली बोल्न नजान्नेजस्तो लाग्यो । उनी यो मानव ओसारपसारमा संलग्न व्यक्ति हो कि जस्तो लाग्यो,’ राजदूत तुलाधरले भने ।

अजरबैजानमा नेपालीहरू सीमापार गर्न खोज्दा समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँ दिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास‚ दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि दूतावासले उनीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।

तुलाधरले अवैध रुपमा छिरेका विदेश नागरिकलाई अजरबैजानमा कम्तीमा पनि ३ महिना जेल र करिब ४०० हजार डलर जरिवाना गर्ने कानुन रहेको पाइएको उल्लेख गरे । ‘हामीले नेपालीहरूलाई उक्त जरिवाना र जेल सजाय नगरिकन घर फर्काउन पहल गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : असार १०, २०८० १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×