कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गगन थापा भन्छन् : चित्त बुझेन भने गठबन्धन फेरिन्छ

'समाजवादी मोर्चामा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ  ?'

काठमाडौँ — कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन ठट्ठक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताएका हुन् । 

गगन थापा भन्छन् : चित्त बुझेन भने गठबन्धन फेरिन्छ

कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको समेत महामन्त्री थापाको भनाइ छ । सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न सक्नुपर्ने उनको भनाइ छ । समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्ट एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने उनको भनाइ छ ।

‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्‍यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ,' उनले भने ।

कम्युनिस्ट पार्टी मिलेर १० वर्ष नै सरकार चलाए पनि कांग्रेस डराउन नहुने महामन्त्री थापाको भनाइ छ । 'के हुन्थ्यो कम्युनिस्ट पार्टी मिलेर ? १० वर्ष सरकार चल्थ्यो, चलोस्, समाजवादीमा एमाले पनि थपियोस्, चलोस्, एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ । अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ,' उनले भने ।

निर्वाचन प्रणालीकै कारण देशमा गठबन्धन गर्नुपर्ने बाध्यता रहेको समेत उनले बताए । 'जताततै प्रदेशमा तल,माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि,' उनले भने ।

महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा कांग्रेसलाई ल्याउनुपर्नेसमेत बताए ।

प्रकाशित : असार ९, २०८० १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?