सरकार छोड्नु परे परोस्, यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : राजेन्द्र पाण्डे

जेष्ठ २६, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन् । 

उपाध्यक्ष पाण्डेले ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०/७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी दिए। उनले १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने उनको भनाइ थियो ।

यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको उनले बताए । उनले भने, ‘हामीले समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छौँ । अहिले हामीले बजेटका बारेमा कडाइका साथ भनेका छौँ । यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।’ उपाध्यक्ष पाण्डेले अरु पार्टीहरुको इसारामा चल्दा पार्टी निर्माण गर्न नसकिने बताए ।

कान्तिपुर

Link copied successfully