कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

सरकारले अब यही वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले जानकारी दिए । ‘असोज २ नेपालमा सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिनेसम्बन्धी ऐन पारित भएको दिन हो । त्यसकारण त्यो दिन सबै नागरिकले सम्झनुपर्ने, गौरव मान्नसक्ने दिन हो । हामीले त्यही दिनको महत्वलाई ध्यानमा राखेर राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने निर्णयमा पुगेका छौँ,’ उनले भने ।

बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो ।

त्यस्तै, विद्यालय क्षेत्र रुपान्तरणका लागि विश्व बकैंबाट प्राप्त हुने १२० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले परराष्ट्र मामिला प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका १६ जनाविरुद्ध २ दिन म्याद थप गरेको छ ।

अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित हिरासतमा रहेका सबैको म्याद २ दिन थपिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए ।

नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजीत राई, मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर थुलुङ राई, खाणका तत्कालीन स्वीकय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, पाँचथरका टंक गुरुङ, दाङका सन्देश शर्मा पोखरेल, सुनसरीका गोविन्द चौधरी, काठमाडौंका रामशरण केसी पक्राउ परिसकेका छन् ।

उनीहरूलाई प्रहरीले विभिन्न मितिमा फरक-फरक ठाउँबाट पक्राउ गरेको हो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकसहित १७ जना आरोपित फरार छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० १६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×