एमाले नीति तथा अनुसन्धान प्रतिष्ठानले भन्यो- 'नीति तथा कार्यक्रम देशको हितमा छैन'

जेष्ठ ८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको नीति अनुसन्धान प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुलुकको हितमा नभएको भन्दै स्वीकार गर्न नसकिने जनाएको छ । सोमबार प्रतिष्ठानको धारणा सार्वजनिक गर्दै देशले भोगिरहेको कठिन परिस्थितिलाई अहिलेको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको प्रतिष्ठानले जनाएको छ ।

‘यो नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक विकास गर्न, निराशा र हतोत्साहित निजी क्षेत्रको गुमेको विश्वास फर्काउन, नागरिकमा देखिएको त्रास र सुरक्षाको भावना हटाई भरोसा जगाउन र देशले अहिले भोगिरहेको कठिन परिस्थितिको सामना गर्नसक्ने देखिँदैन,’ प्रतिष्ठानले भनेको छ ।

९ बुँदामा सार्वजनिक गरिएको धारणामा नीति तथा कार्यक्रमको स्पष्ट दृष्टिकोण नभएको, संघीयता कार्यान्वयन र लोकतन्त्र सुदृढिकरण गर्ने विषय नभएको, सैद्धान्तिक आधार नभएको, राजनीतिक, सामाजिक, आर्थिक तथा बाह्य परिवेशका कारण उत्पन्न समस्यालाई नजर अन्दाज रहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, नीति तथा प्रतिष्ठानले विद्यमान अर्थ राजनीति तथा समाजिक चुनौतीलाई आत्मसात गर्न नसकेको, धेरै वर्ष लगाएर तयार पारेका सामाजिक रुपान्तरण र समृद्धिका संरचना ध्वस्त पार्ने काम गरेको, झनै गहिरो आर्थिक संकट निम्त्याउने खतरा रहेको पनि प्रतिष्ठानको धारणामा जनाइएको छ ।

यसैबीच, सरकारले अध्ययनबिनाका योजना घोषणा गरेको भन्दै नीति तथा कार्यक्रम र बजेटबीच तालमेल मिल्ने सम्भावना नरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 'लिइएको लक्ष्य, समयसीमा र स्रोत एवम् सयन्त्रबिना नै हचुवाका भरमा कार्यक्रम घोषणा गरेको कारणले यसबाट कुनै उपलब्धिको अपेक्षा गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully