कान्तिपुरको प्रधान सम्पादकमा चौहान

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गर्दै कान्तिपुर व्यवस्थापनले चौहानलाई आइतबार नयाँ प्रधान सम्पादकको जिम्मेवारी दिएको हो । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न चौहान दुई वर्षदेखि कान्तिपुरको सम्पादकको रुपमा कार्यरत थिए ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रधान सम्पादक शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारिताको उचाईमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले यस्तै व्यावसायिक सफलताको थप उचाईमा कान्तिपुरलाई पुर्‍याउन नयाँ प्रधान सम्पादक चौहानलाई शुभकामना दिए ।

अध्यक्ष सिरोहियाले रगतको नाताभन्दा एउटै कार्यस्थलमा जोडिएको नाता झन् बढी गहिरो हुने उल्लेख गर्दै शर्मालाई बिदाई गर्नुपर्दा आफूलाई धेरै अप्ठेरो भइरहेको बताए । उनले अहिले संस्थागत आबद्धता छोडे पनि पत्रकारिताका अभ्यासमा बाहिर बसेर पनि कान्तिपुरलाई सल्लाह, सुझावहरू दिन शर्मासँग आग्रह गरे ।

शर्माले झण्डै दुई दशकदेेखि कान्तिपुरमा जोडिएर पत्रकारिता गर्दा कहिल्यै पनि कुनै दबाब र प्रभावमा नपरेको उल्लेख गर्दै व्यावसायिक रुपमा सक्षम नेतृत्व र पत्रकारहरुको टिमले यो सफलता हासिल गरेको बताए । उनले आगामी दिनमा यसै क्षेत्रमामा रहने र कुनै न कुनै रुपमा कान्तिपुरको शुभेच्छुकको रुपमा जोडिइरहने बताए ।

नवनियुक्त प्रधान सम्पादक चौहानले शर्माले देखाएको पत्रकारिताको व्यावसायिक सिपबाट समेत आफूले सिकेर आगामी दिनमा समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए । उनले अझै पनि छापा पत्रकारिता उत्तिकै शक्तिशाली रहेको उल्लेख गर्दै यसलाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने पनि बताए ।

अर्घाखाँचीका प्रधान सम्पादक चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ ।

प्रकाशित : जेष्ठ ७, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्

डिम्ब र वीर्य दानको केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ : सांसद गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालमा महिलाको डिम्ब र पुरुषको वीर्य दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको व्यवस्था गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले उक्त माग राखेकी हुन् । 

नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै सांसद गौतमले यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्ने बताइन् । 'बाँझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने पनि प्रचलन बढिरहेको छ । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक हुनुपर्छ,' उनले भनिन्, 'स्पर्म डोनेसन (वीर्य दान) र एग डोनेसन (डिम्ब दान)का कुराहरू निकै संवेदनशील भएर आएका छन् । यसको सवालमा एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्छ ।'

सांसद गौतमले नेपालमा 'पार्ट टाइम' जागिरको व्यवस्था गर्नुपर्ने र त्यसलाई राज्यले नै अपनाउनुपर्ने बताइन् । त्यसले श्रम संस्कृतिको विकास गर्ने र रोजगारी वृद्धि हुने उनको भनाइ थियो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा राम्रा कुरा पनि समेटिएका सांसद गौतमको भनाइ थियो । 'सरकाले ल्याएको नीति तथा कार्यक्रममा धेरै राम्रा कुराहरू समेटिएका छन् । धेरै महत्वाकांक्षी कुराहरू पनि समेटिएका छन्,' उनले भनिन् ।

पुरानै नीति तथा कार्यक्रमलाई शब्द परिवर्तन गरेर ल्याइएको हो कि भन्ने सांसद गौतमको भनाइ थियो । 'हामी बुझ्छौं यस्तो किन भयो एउटा पुरानो ट्रे‍डिसनल कल्चर जस्तो पनि भइसकेको छ । नीति तथा कार्यक्रम होस्, बजेट होस्, पुराना शब्दहरूलाई फेरबदल गर्ने र तिनै पुराना कुराहरू दोहोर्‍याउने कल्चर पनि बनिसकेको छ,' उनले भनिन् ।

सांसद गौतमले रास्वपा रचनात्मक प्रतिपक्षी हुने बताइन् । उनले राम्रा कामको प्रशंसा र नराम्रा कामको विरोध गर्ने तथा सरकारलाई खबरदारी गरिरहने पनि जानकारी दिइन् । 'सामान्यतया प्रतिपक्षीलाई खुट्टा तान्ने पक्षको रूपमा बुझ्ने चलन छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष गरिसकेको छ, रास्वपा रचनात्मक प्रतिपक्षी हो । सरकारलाई राम्रो कुरामा प्रशंसा गर्छ, सरकारलाई सघाउँछ पनि त्यसै समयमा सरकारलाई खबरदारी पनि गर्छ, नराम्रो काम गर्ने हो कि भनेर,' उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ ७, २०८० १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×