बच्चा जन्मिएको एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गर्न चिकित्सकको सुझाव

काठमाडौँ — चिकित्सकहरुले बच्चा जन्मिएको एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गर्न सुझाएका छन् । शनिबार पब्लिक हेल्थ डिस्कसन ग्रुपले गरेको ‘बहसमा नआएको आँखा स्वास्थ्य’ विषयक  अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै आँखा रोग विशेषज्ञहरूले बालबालिकाको आँखासम्बन्धी समस्याबारे प्रकाश पार्दै जटिलता नम्तिनुअघि नै आँखा जाँच गर्न सुझाएका हुन् । 

बच्चा जन्मिएको एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गर्न चिकित्सकको सुझाव

कार्यक्रममा बोल्दै तिलगंगा आँखा प्रतिष्ठानकी मेडिकल रेटिना कन्सलटेन्ट डा इली प्रधानले बालबालिकाहरुमा प्रायः दृष्टिदोष (रिफ्रिक्टिभ एरर), पर्दासम्बन्धी समस्या, जस्तैः ‘रेटिनोप्याथी अफ प्रिम्याच्योरिटी’(आरओपी), रेटिनोब्लास्टोमालगायतका समस्या बढी देखिएको बताइन् ।उनले भनिन्‚ ‘आँखा जाँच गर्नुपर्छ भन्ने जनचेतना भए पनि अझै पुग्न सकेको छैन । बच्चा जन्मिएको ४ हप्ता वा एक महिनाभित्र अनिवार्य रुपमा आँखाको जाँच गराउनुपर्छ ।’

डा. प्रधानका अनुसार महिना नपुगी जन्मिएका बच्चाहरुमा आँखाको समस्याको जोखिम बढी रहन्छ ।उनले समय नुपगी जन्मिएको २० देखि ३० प्रतिशत बालबालिकाहरुमा आरओपीको समस्या आउन सक्ने बताइन् । ‘जनचेतना आवश्यक छ । महिना नपुगी जन्मिदा बच्चाहरुको आँखाको पर्दा विकास हुन पाउँदैन । धेरै दिनसम्म आइसियुमा राख्दा आँखाको जोखिम हुन सक्छ । धेरै जना आँखाको पर्दामा क्षति भएर आइपुगेका हुन्छन्। जनचेतना यसमा निकै आवश्यक छ । यस्तो समस्या छिटो नै पत्ता लगाउन सकियो भने आँखा जोगाउन सकिन्छ,’ उनले भनिन् ।

डा. प्रधानले नेपालमा आँखासम्बन्धी उपचारमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्‚ ‘सरकारको रणनीतिमा स्कुल स्क्रिनिङ कार्यक्रम छ‚ त्यो राम्रो पाटो हो तर स्कुलमा ५ वर्षमाथिका बालबालिका भर्ना हुने भएकाले त्यसभन्दा मुनिका बच्चाहरु छुटिरहेका छन् । यसमा पनि सरकारको ध्यान जान जरुरी छ ।आँखासम्बन्धी रोगको प्याटर्न परिवर्तन भएसँगै सरकारले पनि उपचार प्याटर्न फरक बनाउनुपर्छ ।’

पाटन अस्पतालकी एसोसिएट प्रोफेसर तथा पेडियाट्रिक अंकोलोजिस्ट डा. सुचारिता तुलाधरले आँखारोग विशेषज्ञबाहेक अन्य स्वास्थ्यकर्मीले पनि आँखासम्बन्धी कुनै समस्या देखिएमा पायक पर्ने आँखा केन्द्रमा उपचार गर्न सिकाउनुपर्ने बताइन् । उनले भनिन्‚ ‘कुनै बच्चाले टाउको दुखेको छ, आँखा हेर्न सकिनँ भन्यो भने बेवास्ताभन्दा पनि एकपटक आँखा परीक्षण गर्दा पनि समस्या थाहा पाउन सकिन्छ ।’ उनले सरकारले एसएनसीयू (स्पेसन न्युबर्न केयर युनिट) सुरु गर्दा आँखासम्बन्धी उपचार सेवा पनि जोडिएको खण्डमा धेरै बच्चालाई आँखाको क्यान्सरबाट जोगाउन सक्ने बताइन् ।

त्यसैगरी तिलगंगा आँखा प्रतिष्ठानकी अंकलुर अंकालोजिस्ट डा. पूर्णिमा राजकर्णिकार स्थापितले बालबालिकामा देखिने आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) जतिसक्दो छिटो पत्ता लगाए त्यति नै उपचार गर्न सहज हुने बताइन् । उनका अनुसार यसको प्रमुख लक्षण आँखाको नानीमा सेतो टीकाजस्तै देखिनु हो । उनले भनिन्‚ ‘वार्षिक ४० देखि ४५ जना बालबालिकामा यो समस्या पाइएको छ । ३० प्रतिशतलाई वंशाणुगत हुन्छ भने बाँकीलाई के कारणले हुन्छ भनेर थाहा हुँदैन । यसको समयमा उपचार भएन भने आँखा रातो हुने, आँखाको घरभन्दा बाहिर आउने, ट्युमर देखिन सक्छ ।’

उनका अनुसार विदेशमा कुनै बच्चालाई डिस्चार्ज गर्दा सम्पूर्ण अंग परीक्षण गरेर मात्र डिस्चार्ज गरिन्छ । त्यस्तै सेवा नेपालमा सुरु भएमा आँखा सम्बन्धी धेरै समस्याबाट बालबालिकाहरु जोगिने थिए ।‘ अनमी, खोप दिने स्वास्थ्यकर्मीले पनि बालबालिकामा आँखामा त्यस्तो सेतो टीकाजस्तै देखिएमा अभिभावकहरुलाई परीक्षण गराउन भन्नुपर्छ । सचेतना एकदम आवश्यक छ । यो टर्च लाइट तथा फोटो खिचेर हेर्दा पनि सजिलै देखिन्छ,’ उनले भनिन् ।

प्रकाशित : जेष्ठ ६, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?