२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनशक्तिको प्रयोग स्वदेशमै हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिन्छौँ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले जनशक्तिको सरकारले स्वदेशमै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिने बताएका छन् ।उनले स्वदेशमा अवसर छैन भनेर विदेशमा गएर आफ्नो उन्नति गर्न चाहनेका लागि सरकारले ढोका बन्द गर्न नसक्ने बताए । 

जनशक्तिको प्रयोग स्वदेशमै हुनुपर्छ भन्ने मान्यतालाई प्राथमिकता दिन्छौँ : अर्थमन्त्री महत

प्रतिनिधिसभाको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका शनिबार सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री महतले नेपालमै अवसरहरुको सिर्जना गर्ने कुरामा सरकारको ध्यान केन्द्रित गर्ने बताए ।

'स्वदेशमा अवसरै छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नुहुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन,' उनले भने, 'युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।'

उनले स्वेदशी उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए । 'नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडिसन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं,' उनले भने ।

उनले आफू अर्थमन्त्री भएपछि दुई महिनामै सबै समस्याहरु समाधान गर्छु भनेर एक्लै भाषण गर्ने प्रवृत्तिको नभएको दाबी गरे ।

'ज्ञान र अनुभवलाई म उपयोग गर्छु । म ठूलो स्वरमा कुरा गर्दिनँ । सुधारको आवश्यकता छ, यसलाई इमानदारीका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिनँ । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपालि गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिनेछ,' उनले भने ।

उनले आफू अर्थमन्त्री भएपछि सरकारले कोही एउटा व्यवसायी वा उद्योगीको फाइदामा भन्दा पनि समग्र देशको आर्थिक उन्नतिका लागि काम गर्ने बताए ।

'समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा मेरो प्राथमिकतामा छ । एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजस्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु,' उनले भने, 'सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् ? यी सबै कुरा दिनरात म हेरिरहेको छु । यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।'

बैठकमा एमाले सांसद सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०८० १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?