काठमाडौँ — अस्ट्रेलियाले १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थित थिए ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रसंशा गरे । उनले भने,‘अस्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौं भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अस्ट्रेलियाली जनताको र विश्वको हामीप्रतिको आशा हो ।’
सहायकमन्त्री वाट्सले थपे,‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको छ कि अस्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ । यो सम्बन्धको मुटुका रुपमा हाम्रा दुई राष्ट्रका जनताहरू रहेका छन् ।’
उनले नेपालमा जलवायु परिवर्तन, प्रकोप पूर्वतयारी र सुशासनका क्षेत्रमा सहकार्य गर्न पाउँदा अस्ट्रेलियालाई खुशी लागेको बताए । ‘अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्नेलगायत हाम्रो सम्बन्ध सुदृढ गर्न नयाँ पहल लिन हामी उत्साहित छौं । हामी हाम्रा दुई देशहरु र जनताहरुलाई अझ नजिक ल्याउँदैछौं,’ उनले भने ।
समुदायका सदस्यहरूलाई टुँडाल हस्तान्तरण गर्दै आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक ब्रान्डले अस्ट्रेलियाली सरकारसँग सहकार्य गरी नेपालको महत्त्वपूर्ण सम्पदा आफ्नै स्थानमा नेपाली जनताका साथमा फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामी हाम्रो विगतका बारेमा बुझ्दै अगाडि बढ्छौं र अझै नजिकिँदै गरेको विश्वमा रहन पाउनु हाम्रो गर्वको कुरो हो । अस्ट्रेलियामा झांगिदै गरेका व्यवसायिक व्यक्तित्व तथा विभिन्न डायस्पोरासँग सहकार्य गर्नु र सम्बन्ध विस्तार गर्नु हाम्रो कामको महत्त्वपूर्ण पाटो हो । यी समुदायले हाम्रा अनुसन्धानका निम्ति सहयोग गर्छ र उनीहरूको स्वामित्वमा रहेका कला र सीपको बारेमा बुझ्न सहयोग गर्छ,’ उनले भने ।
सम्बन्धित समाचार
