सांसद अमरेशकुमार सिंह जब संसद्‌मै अर्धनग्न भए

वैशाख २५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।

सोमबार दिउँसो भएको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए । 

उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । सांसद सिंहको उक्त व्यवहारपछि नेकपा एमालेका सांसद अच्युत मैनालीले उनको स्वास्थ्य जाँचको माग गरेका छन् ।

सांसद सिंह अहिले बैठकस्थलबाट बाहिरिसकेका छन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

कान्तिपुर

Link copied successfully