प्राध्यापक संघको सदस्यता विवाद टुंगियो, जेठमा महाधिवेशन

वैशाख १७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ । संघमा देखिएको सदस्यतासम्बन्धी विवाद टुंगिएपछि संघले राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । महाधिवेशनका लागि देशभरिबाट आउने प्रतिनिधिको अन्तिम सूची तयार गरी आइतबार निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।

समितिले आगामी जेठ १९ र २० गते राष्ट्रिय महाधिवेशन हुने जनाएको छ । गत जेठमा तय भएको महाधिवेशन विवादका कारण स्थगन भएको थियो । सो विवाद समाधान गर्न सदस्यताबारे छानबिन गर्न समिति गठन गरिएको थियो ।

सो समितिले केन्द्रीय समितिलाई दिएको प्रतिवेदनका आधारमा महाधिवेशन प्रतिनिधि सूची तयार गरी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको हो । अब हुने महाधिवेशनका लागि केन्द्रीय समिति र समितिले मनोनयन गर्ने १० राष्ट्रिय प्रतिनिधिबाहेक नै एक हजार तीन सय ७६ प्रतिनिधि चयन भएका छन् ।

सो सूची संघका अध्यक्ष जगत तिमिल्सिनाले निर्वाचन समितिका संयोजक लालमणि पाण्डेलाई हस्तान्तरण गरे । अध्यक्ष तिमिल्सिनाले सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउन आफू तयार रहेको भन्दै सकेसम्म त्यसकै लागि पहल गर्ने बताए ।

कान्तिपुर

Link copied successfully