कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सीमा बन्द गरेर मात्र विदेसिनेको संख्या रोकिँदैन : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ — देशको आर्थिक अवस्था र ज्यालाको दर बढ्न थालेमा विदेसिने जनशक्ति आफैं कम हुने पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

सीमा बन्द गरेर मात्र विदेसिनेको संख्या रोकिँदैन : पूर्वअर्थमन्त्री खतिवडा

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको तेस्रो कान्तिपुर इकोनोमिक समिट २०२३ को तेस्रो सत्रअर्न्तगत 'अर्थतन्त्रमा अवरोध : नियत कि नियति' शीर्षकमा बोल्दै खतिवडाले अवसरका लागि विदेश गएका मानिसहरू यहाँको अवस्थामा सुधार भए बिस्तारै फर्किने उनले बताए । 'बोर्डर सिल गरेर मात्र विदेसिनेको संख्या कम हुँदैन,' उनले भने । अन्य देशमा पनि अवसरको खोजीमा गएकाहरू बिस्तारै फर्किएको उदाहण दिँदै खतिवडाले नेपालको अवस्था सुधार भएमा विदेसिने संख्या बिस्तारै कम हुने बताए ।

सशस्त्र द्वन्द्वकालअन्तर्गत १० वर्ष त्यसै गुमाएको र संविधान, राज्यको संरचना, कोभिड भूकम्पलगायतले पनि निकै समय त्यसै गएको भन्दै यसमा केही नियत र केही नियति रहेको उनको भनाइ छ ।

'नेपालमा सशस्त्र द्वन्द्वकालको समयमा विकासका लागि खर्चिनुपर्ने १० वर्ष हामीले गुमायौँ । दोस्रो संक्रमणकालअर्न्तगत संविधान निर्माणमा लामो समय बितायौं । यस्तै राज्यको पुनर्संरचनादेखि राज्यको शासकीय स्वरुपको परिर्वतनका लागि निकै लामो समय गुजार्नुपर्‍यो । यसलाई हाम्रो नियतले भन्नुहोस् वा नियतिले भन्नुहोस्, जेले भए पनि हामीले एउटा कालखण्ड यसरी बिताउनुपर्‍यो,' उनले भने, 'अब नियतिको कुरा गर्दा भूकम्प र कोभिड संक्रमण हो, यसले धेरै समस्या निम्त्याएको छ । त्यस्तै अर्को नियतिको कुरा गर्दा कृषिमा आधारित अर्थतन्त्र हो ।’

कृषिमा आधारित अर्थतन्त्रमा आज पनि नेपालको कृषि क्षेत्र मनसुनमा आधारित हुने गरेको भन्दै उनले कृषिमा क्षेत्रमा सिंचाइको सुविधा पुर्‍याउन नसक्ने र भ्रष्टाचार गरेर कामै नगर्ने नियत रहेको बताए ।

'हाल नेपालमा सबैभन्दा ठूलो क्षेत्र कृषि नै हो । जनजीविकाको ठूलो क्षेत्र कृषि नै हो । अझै पनि ५० प्रतिशतभन्दा माथिको जनजीविका कृषिमै आश्रित छ । कृषि क्षेत्रको उन्नतिले हाम्रो समग्र अर्थतन्त्र सुधारले अन्य वृद्धिलाई टेवा दिन सकेनौँ,' उनले भने ।

आर्थिक वृद्धि कम भएपछि राजस्व कम हुने बताउँदै उनले भने, 'राजस्वको आधार भनेको त्यहि आर्थिक वृद्धि हो । हाम्रो बुझाइ रेमिट्यान्स भनेको सरकारको पैसा हो, आएपछि विकास भइहाल्छ नि भन्ने भयो । विदेशमा बसेका व्यक्तिहरूले घर व्यवहार चलाउनलाई, बालबच्चा पढाउनका लागि पठाएको पैसा सरकारको कोषमा जोडेर हामी बहस गर्छौं ।’

विप्रेषण भनेको नित्तान्त व्यक्तिगत कुरा भएको भन्दै उनले यसले व्यक्तिको जीवनलाई राम्रो गरेको बताए । 'यसले राज्यको शक्तिलाई बलियो बनाउन कत्तिको सहयोग गरेको छ भन्नेबारे पनि छलफल हुन जरुरी छ । दुई दशकअघि कृषिमा रहेका दुईतिहाइलाई हामीले एकतिहाइमा झार्नुपर्ने अवस्था थियो,’ उनले भने ।

उनले अगाडि भने, 'हाम्रो नियति के भयो भने हाम्रा दुईवटा छिमेकी औद्योगीकरणमा धेरै अगाडि गए । उनीहरूसँग प्रतिस्पर्धात्मक क्षमता नुहँदा हामी ठूला औद्योगीकरणमा जान सकेनौँ । यसमा नीतिगत त्रुटि पनि धेरै भए होलान् । प्रतिस्पर्धात्मक क्षमतामा आउने ह्राससँग प्रविधिको प्रयोग, बजार क्षमताजस्ता धेरै कुराहरू जोडिएका छन् । यसकारण हामी कृषिबाट एकैपटक सेवामा रुपान्तरित हुन खोज्यौँ । जबकि हामीले त्यो बीचको मेरुदण्ड कायम गर्नै सकेनौं । अहिले पनि हाम्रो अर्थतन्त्र कृषि र सेवामा मात्रै घुमिरहेको छ । जबसम्म ज्यालाका दरहरू फरक भइरहेको हुन्छ, तबसम्म क्रस बोर्डर मुभमेन्ट भइरहन्छ ।'

प्रकाशित : वैशाख १३, २०८० १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?