कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ठूला दललाई उपनिर्वाचनको प्रश्न : सच्चिने कि सक्किने ?

पराजयको कारण आफैंभित्र खोज्न पुराना दलका नेताहरू गम्भीर छैनन् । कांग्रेस सभापति देउवाले मंगलबार संसदीय दलको बैठकमा भने, ‘सोसल मिडियामा पुराना दलमाथि आक्रमण भयो, त्यस्तै विदेशमा रहेका युवाले नेपालमा रहेका बाबुआमालाई टेलिफोन गरेर रास्वपालाई मतदान गर्न भनेकाले हामीले जित्न सकेनौं ।’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — तनहुँ–१ र चितवन–२ का मतदाताले परम्परागत भनिएका दलहरूलाई बुलन्द स्वरमा प्रश्न सोधेका छन्, ‘अब सच्चिने कि सक्किने ?’ तनहुँमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारले ल्याएको कुल मतभन्दा ६ हजार बढी मतसहित नवोदित रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन् भने चितवनमा रास्वपा सभापति रवि लामिछानेले कांग्रेस गठबन्धन र एमालेका उम्मेदवारभन्दा ५/५ गुणाभन्दा धेरै मत प्राप्त गरेका छन् ।

ठूला दललाई उपनिर्वाचनको प्रश्न : सच्चिने कि सक्किने ?

लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्‍याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका दलप्रति मतदाताको आकर्षण देखिएको छ । बारा–२ मा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपासहितको समर्थनमा उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई एक्लै प्रतिस्पर्धामा रहेको जनमत पार्टीले कडा टक्कर दिएको थियो । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् ।

चितवन–२ मा ५४ हजार १ सय ७६ मत पाएका लामिछाने अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तरसहित विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत मात्रै पाएका छन् । लामिछानेले प्राप्त गरेको मत कुल सदरमतको ६९ प्रतिशत हो र यो गत मंसिरमा प्राप्त गरेकोभन्दा बढी मत र मतान्तर हो ।

कांग्रेस र एमालेले चितवन–२ लाई जित्ने सूचीमा राखेका थिएनन् । तर, अघिल्लो चुनावको तुलनामा मत बढाउने कसरत उनीहरूको थियो । पहिलेभन्दा मतदान कम भए पनि लामिछानेले ४ हजार ९ सय १२ मत बढाएर आफ्नो लोकप्रियता अझै बढेको सावित गरेका छन् । २०७४ मा वाम गठबन्धन हुँदा एमालेका कृष्णकुमार (किसान) श्रेष्ठबाहेक तनहुँ–१ मा सधैं जितेको कांग्रेसले यसपालि प्रतिष्ठाको लडाइँ बनाएको थियो ।

खासगरी, सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा सांसद आरजु राणालाई ‘गिरोह’ भनेर कांग्रेसबाट अलग्गिएका वाग्लेलाई हराउने योजनालाई सभापतिले आफ्नो व्यक्तिगत हारजितको विषय बनाएका थिए । तर, उनको मात्र होइन, सिंगो कांग्रेस, गठबन्धन र एमालेको पनि हारका रूपमा नतिजा आएको छ ।

मंसिरको चुनावमा ५ हजार ३ सय ८० मतान्तरका साथ रामचन्द्र पौडेल निर्वाचित उक्त क्षेत्रमा कांग्रेस गठबन्धनले २० हजार १ सय २२ मत मात्र जोगाउन सक्यो । बरु, त्योभन्दा १४ हजार ७ सय ९७ मत बढी अर्थात् ३४ हजार ९ सय १९ मतसहित वाग्ले विजयी भए । कांग्रेसभन्दा ठूलो धक्का एमालेले व्यहोरेको छ । अघिल्लो प्रतिस्पर्धामा मुख्य प्रतिद्वन्द्वीका रूपमा १९ हजारभन्दा बढी मत ल्याएको एमालेले यस पटक ८ हजार ४ सय ८८ मत मात्रै प्राप्त गरेको छ । यसरी परम्परागत दलहरूलाई मतदाताले एक स्वरमा भनेका छन्, ‘काम गर या मैदान छाड ।’

उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा कांग्रेसलाई ठूलो धक्का पुगेको विश्लेषण नेताहरूले पनि गर्न थालेका छन् । तर, यसको कारण आफैंभित्र खोज्न भने उनीहरू तयार छैनन् । कांग्रेस सभापति देउवाले मंगलबार संसदीय दलको बैठकमा ‘पुराना दलप्रति सोसल मिडियामा भएको आक्रमणको परिणामस्वरूप चुनाव हार्नु परेको’ भन्दै चिन्ता प्रकट गरेका छन् । ‘सोसल मिडियामा भएको आक्रमण र विदेशमा रहेका युवाहरूले नेपालमा रहेका बाबुआमालाई टेलिफोन गरेर रास्वपालाई मतदान गर्न भनेकाले हामीले जित्न सकेनौं,’ देउवालाई उद्धृत गर्दै एक सांसदले भने ।

कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे भने सोसल मिडियाका कारण हार भयो भन्नु सतही विश्लेषण हुने बताउँछन्, बरु पहाडमा कांग्रेसको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको उनी स्विकार्छन् । ‘२०६२/६३ को जनआन्दोलनपछि मधेश विद्रोहले जन्माएका पार्टीका कारण हामी मधेशमा कमजोर बन्यौं, पहाडमा कांग्रेसबाट अर्को पार्टी प्रवेश गर्ने वैकल्पिक लोकतान्त्रिक शक्ति थिएन । त्यो ठाउँ अब रास्वपाले लिने अवस्था बनेको छ,’ घिमिरे भन्छन्, ‘सरकारमा रहेर पनि सुशासनको सन्देश दिन सकेनौं र आचरण बदल्न सकेनौं भने सोसल मिडियालाई गाली गरेर मात्रै हुनेवाला केही छैन ।’

केन्द्रीय सदस्य तथा नेता प्रदीप पौडेल उपनिर्वाचनमा भएको क्षतिले पार्टीलाई समग्रमा सच्चिने ठूलो मौका दिएको ठान्छन् । ‘यो मौकालाई सदुपयोग गरेर पार्टी परिवर्तनको दिशामा नलाग्ने हो भने हामीले आसन्न निर्वाचनमा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिलेको मतादेश हिजो आन्दोलनमा सँगै अघि बढेका मूलधारका राजनीतिक दलले सत्ता र पार्टी सञ्चालनमा लिएका नीति, कार्यक्रम र प्रक्रियामा असफल भएको सन्देश हो । यसलाई गहिरो ढंगले बुझ्न सक्नुपर्छ ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसको रणनीति र कार्यक्रम असफल भइसकेकाले नेतृत्वको मुद्दा नै मुख्य सवाल हुनुपर्ने बताउँछन् । उनका अनुसार नेतृत्वको राजीनामाबाटै कांग्रेस आमूल सुधारको बाटोमा जान सक्छ । तनहुँमा गोविन्द भट्टराईको हारको मुख्य कारण नेतृत्वको अनुहार रहेको उनको ठम्याइ छ । भन्छन्, ‘देउवाले सोमबार मतदाताले पुराना पार्टी नरुचाएको भनेर प्रतिक्रिया दिनुभएको छ, पुराना पार्टीप्रति होइन, पुरानो नेतृत्वप्रतिको विकर्षण मुख्य कारण हो । तर पुराना पार्टीप्रति विकर्षण हुने भए अमेरिकामा डेमोक्रेटिक र कन्जर्भेटिभ पार्टी नै रहने थिएनन् ।’ अब देउवा नीति र शैलीबाट कांग्रेस अघि बढ्नै नसक्ने उनी बताउँछन् ।

कांग्रेसले तनहुँमा अघि सारेको गोविन्द भट्टराई विवादमा नपरेका सरल नेता मानिन्छन् । टिकटमै आन्तरिक किचलो हुने कांग्रेसमा उनको हकमा अपवाद बनेको थियो । आम कार्यकर्ता पंक्तिमा गोविन्दले न्याय पाए भन्ने भावना थियो, उनीभन्दा बलिया नेता जिल्लामा थिएनन् ।

उता, स्वर्णिमले पार्टी छाडेको घोषणा गर्दा नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेललाई सम्बोधन गरेर लेखेको पत्रमा ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको भन्दै’ भनेका थिए । त्यसलाई धेरै कांग्रेसजनले विश्वास गरे, त्यसैले पनि नेतृत्वलाई पाठ पढाउन खोजे ।

‘गोविन्द दुःख पाएका, अवसर नपाएका नेता हुन् । गाउँको विकासमा खट्ने मान्छे पनि हुन् । तर, यस पटक उनलाई भोट नदिएर म र मजस्तै धेरैले घण्टी रोज्यौं,’ विगतमा कांग्रेसलाई भोट हाल्दै आएका भानु नगरपालिकाका रामबहादुर अधिकारीले भने, ‘किनकि तनहुँमा यस पटक गोविन्दसँग भन्दा दाइ–भाउजू प्रवृत्तिसँग प्रतिस्पर्धाका रूपमा चुनावलाई हेरियो ।’

सत्ताका लागि भइरहने गठबन्धनलाई पनि मतदाताले मन नपराएको सन्देश दिएका छन् । गठबन्धनले संगठन निर्माणलाई ध्वस्त बनाएको बुझाइ कांग्रेस पंक्तिमा छ । पुष्पकमल दाहालपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने, त्यसपछि फेरि देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने भद्र समझदारीले पनि मतदातालाई निराश बनाएको छ । ‘अहिले रास्वपालाई मतदाताले रोज्नुका कारण उसले कुनै नयाँ काम गरेर होइन, कुशासन, भ्रष्टाचार बेथितिका विषय उठाएर हो,’ कांग्रेस नेता घिमिरे भन्छन्, ‘तनहुँको एउटा सिटले संसदीय अंकगणितमा खासै ठूलो अर्थ राख्दैन । तर, यसले राजनीतिक रूपमा हामी सच्चिएनौं भने ठूलो क्षति पुग्नेवाला छ ।’

परम्परागत दलमा जनसेवाभन्दा सत्तामोह हावी भएकाले जनतामा वितृष्णा जागेको बुझाइ माओवादी नेताहरूको पनि छ । प्रमुख दलहरू जहिले पनि सत्तामा रहने तर सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ध्यान नदिँदा उपनिर्वाचनमा परिणाम भोग्नुपरेको माओवादी सचिव लीलामणि पोखरेलले बताए । ‘पुराना दलहरूको आफ्नै कार्यशैली र व्यवहारका कारण नयाँ शक्ति उदाएको हो । निर्वाचनमा करोडौं खर्च गरेर जितेका नेताहरूले त्यो खर्च उठाउन उद्यत रहँदा जनता निराश हुने अवस्था आएको हो,’ उनले भने, ‘करोडौं खर्च हुने निर्वाचन प्रणालीलाई नबदलेसम्म नेतालाई जहिले पनि सत्ताको आवश्यकता पर्छ, त्यसले जनतामा आक्रोश बढाउँछ ।’

प्रकाशित : वैशाख १३, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?