सुडानमा रहेका नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

वैशाख ११, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकारले यही वैशाख २ (१५ अप्रिल २०२३) गतेदेखि सुडानमा विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासद्वारा सुडानमा रहेका नेपाली, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा कार्यरत नेपाली पदाधिकारी, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायहरूसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ जना नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ । तीबाहेक तीनजना नेपाली शान्ति सैनिक हिजो (१० गते) अफ्रिकी मुलुक चाडतर्फ गएको, खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्फत रेड सीस्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगान्डा जाने तयारी रहेको बुझिएको छ ।

हालको असहज र जटिल सुरक्षा अवस्थामा नेपाल सरकारले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँड्डुल नगर्न आग्रह गरेको छ । मन्त्रालयले आपत्कालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully