काठमाडौंको जनघनत्व १७,४०० जना प्रतिवर्गकिमि

काठमाडौं उपत्यकाको जनसंख्या ३० लाख २५ हजार ३८६ पुगेको छ

वैशाख १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको जनघनत्व प्रतिवर्गकिमि १९८ जना मात्रै हो । तर, राजधानी काठमाडौंमा भने मानिसहरूको खचाखच बसोबास छ । राष्ट्रिय जनगणना-२०७८ अनुसार काठमाडौंको जनघनत्व १७ हजार ४ सय छ । जुन राष्ट्रिय जनघनत्वभन्दा ८७ गुणाभन्दा पनि धेरै हो । पछिल्लो दशकमा ठूलो राजनीतिक परिवर्तन र संघीयता लागू भए पनि संघीय राजधानी काठमाडौं छिर्नेको संख्या घटेको छैन । बरू सिंगो काठमाडौं उपत्यकाको जनसंख्या उकालो लाग्दा काठमाडौं महानगरपालिकाको जनसंख्या भने घटेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार २०७८ मा काठमाडौं उपत्यकाको जनसंख्या (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) ३० लाख २५ हजार ३८६ छ । जबकी २०६८ को गणनामा उपत्यकाका तीन जिल्लाको जनसंख्या २५ लाख १७ हजार ३ थियो । दस वर्षमा उपत्यकाको जनसंख्यामा ५ लाख ८ हजार ३८३ वृद्धि भएको छ ।

कार्यालयका अनुसार काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको छ । ललितपुरको जनसंख्या ५ लाख ५१ हजार ६६७ पुगेको छ भने भक्तपुरको ४ लाख ३२ हजार १३२ पुगेको छ । सबैभन्दा धेरै भक्तपुरमा ३.३५ प्रतिशत वृद्धिदर छ  । ललितपुरको जनघनत्व प्रतिवर्गकिमि १४३३ जना छ भने भक्तपुरको प्रतिवर्गकिमि ३ हजार ६३१ छ । 

२०६८ को जनगणनामा काठमाडौं जिल्लाको जनसंख्या १७ लाख ४४ हजार २२०, भक्तपुरको ३ लाख ४ हजार ६५१ र ललितपुरको जनसंख्या ४ लाख ६८ हजार १३२ रहेको थियो । 

पछिल्लो दशकमा उपत्यकाका तीनवटै जिल्लाको जनसंख्या वृद्धि हुँदा काठमाडौं महानगरपालिकाको जनसंख्या भने घटेको छ । २०७८ को गणनाअनुसार काठमाडौं महानगरपालिकाको जनसंख्या ८ लाख ६२ हजार ४०० जनसंख्या छ । जबकी ०६८ सालमा काठमाडौं महानगरपालिकाको जनसंख्या ९ लाख ७५ हजार ४५३ थियो । यो दशकमा काठमाडौंको महानगरको जनसंख्या १ लाख १३ हजारले घटेको हो । 

काठमाडौं महानगरपालिकाको जनघनत्व भने सबैभन्दा धेरै छ । गणनाअनुसार काठमाडौंको जनघनत्व १७ हजार ४४० जना प्रतिवर्गकिमि छ । काठमाडौं महानगरपालिकामा २ लाख ३८ हजार ९६६ परिवार बसोबास गर्छन् । 

कान्तिपुर

Link copied successfully