सुत्केरी हुन डेरा

भौगोलिक कठिनाइ र गाउँमा सुरक्षित सुत्केरी सेवा नहुँदा सदरमुकाम, पोखरा वा पाल्पा पुगेर डेरा बस्छन् बागलुङका महिला

वैशाख ८, २०८०

प्रकाश बराल

बागलुङ — बडिगाड–८ रणसिंकिटेनीको पुरानो गाउँमा स्वास्थ्य चौकी छ, तर स्वास्थ्यकर्मी कमै भेटिन्छन् । कारण हो, भौगोलिक कठिनाइ । नजिकमा स्वास्थ्य चौकी र सुरक्षित सुत्केरी सेवा नभएकाले यहाँका महिलाले सधैं सास्ती खेप्नुपर्छ ।

रणसिंकिटेनी भेडीखोरकी सीता घर्ती त सुत्केरी हुने बेला डेढ महिना बुर्तिवाङमा डेरै बसिन्, सुबिस्ताका लागि । उनको घरबाट बुर्तिवाङ पुग्न ७ घण्टा हिँड्नुपर्छ । भेडीखोरकै कल्पना श्रीशले पनि सुत्केरी हुन 

४० दिन बागलुङ बजारमा डेरा लिइन् । एक महिना कुरेपछि शल्यक्रिया गर्नुपर्ने भयो । बागलुङ अस्पतालमा पनि स्त्रीरोग विशेषज्ञ नहुँदा उनलाई रातारात ट्याक्सी लिएर पोखरा लैजानुपर्‍यो । 

‘कि मरे पनि मरिन्छ भनेर गाउँमै बस्नुपर्‍यो, नत्र मजदुरी गरेको कमाइ सुत्केरी हुँदा सकिन्छ,’ स्थानीय महिला स्वास्थ्य स्वयंसेविका विष्णु थापा भन्छिन्, ‘समयमा उपचार नपाएर कति दिदीबहिनीले गाउँमै ज्यान गुमाए ।’ गत साउनमा अत्यधिक रक्तस्रावका कारण स्थानीय एक महिलाको मृत्यु भएको घटना उनले स्मरण गरिन् । भेडीखोर र खोलाखानीका बासिन्दाले सडक भेटाउन पैदल ५ देखि ७ घण्टा धाउनुपर्छ । 

त्यहाँबाट गाडी चढेर सदरमुकाम जानुपरे थप ४ घण्टा लाग्छ । त्यतिन्जेल प्रसूति व्यथा लागेकाहरूको ज्यान जाने खतरा बढी हुन्छ । गत वर्ष पनि बडिगाड गाउँपालिकाले ४ जनाको हेलीकोप्टरबाट उद्धार गरेर ज्यान बचाएको थियो । त्यसअघि पनि कतिपय घटनामा महिलाले ज्यान गुमाइरहेका थिए । 

सुत्केरी हुने मिति नजिक आएपछि वा बीचैमा कुनै समस्या देखिएमा महिलाले सदरमुकाम, पोखरा वा पाल्पा पुगेर डेरा लिएर बस्नुपर्ने बाध्यता भएको हो । डेरा भाडा, खाने खर्च र एक जना साथीसमेत राख्नुपर्दा प्रसुती सेवामै रणसिंकिटेनीका महिलाले हरेक पटक कम्तीमा ५० हजार खर्चनुपरेको गुनासो गरे । शल्यक्रिया गर्नुपर्ने भए लाख र हेलिकोप्टरबाट उद्धार गर्दा तीन लाखसम्म खर्च हुने गरेको उनीहरूको भनाइ छ । 

यहाँका अधिकांश युवाले गलकोटको हटिया बजारमा मजदुरी गर्दै आएका छन् । चैत दोस्रो साता पनि खोलाखानीकै एक महिलालाई सुत्केरी बेथाले च्याप्यो । उनी हटिया बजार जान गाडी खोज्दाखोज्दै सिकिस्त भइन् । यहाँबाट नियमित गाडी चल्दैनन् । पिकअप गाडी रिजर्भ गरेर हटिया आइनपुग्दै जोखिम भइसकेको थाहा भएपछि ती महिलालाई गलकोट नगरपालिकाले हेलिकप्टर खोजेर पोखरा पठायो । समयमा पोखरा नपुगेको भए उनको ज्यान जाने अवस्था आइसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । 

गर्भवती भएपछि रणसिंकिटेनी र गलकोट–१० रमुवाका महिलाले पनि सदरमुकाम वा पोखरा डेरा खोज्न थालेका छन् । ‘मजदुरी गरेर खानेले सुत्केरी हुन सदरमुकाम र पोखरा धाउनु परेपछि खर्च कसरी पुर्‍याउनु ?’ श्रीषले भनिन्, ‘पोखरा नपुगेको भए यतिबेला मरिसकेको हुन्थेँ ।’ सदरमुकाम देखि ७० किमि पश्चिमको बडिगाडको केन्द्र ग्वालीचौरबाट फेरि ४५ किमि उत्तरतर्फ कच्ची सडकको यात्रा गरेपछि मात्रै भेडीखोर पुगिन्छ । यहाँको स्वास्थ्य चौकी रहेको पुरानो गाउँ जाने सडकसमेत छैन । पैदल यात्रा गर्दा भेडीखोरबाट ३ घण्टा, खोलाखर्कदेखि ४ घण्टा लाग्छ । 

अहिलेसम्म सडक सञ्जालले नछोएकाले यहाँको स्वास्थ्य चौकी पुग्नै कठिन छ । ग्रामीण बस्तीमा भएकाले उपकरण र दक्ष प्रसूतिकर्मी पनि अभाव हुँदा धेरै महिलाले सास्ती खेपेको स्वयंसेविका थापाले बताइन् । ‘अप्ठेरो परेर बुर्तिवाङ लैजानुपर्‍यो भने डोकोमा बोकेर जानुपर्छ,’ उनले भनिन्, ‘सुत्केरी हुने मिति नजिक आएपछि अधिकांश महिलाले बजारमा डेरा खोज्नुपर्ने बाध्यता छ ।’ 

वडाध्यक्ष जंगबहादुर बलालले अझै वडामा सडकले नछोएको बताए । त्यसका लागि प्रयास भए पनि बजेट अभाव भएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष गण्डकी थापाले समस्या भएका स्थानमा हेलिप्याड बनाएर सुत्केरी र गर्भवती महिलालाई उद्धारको गर्ने योजना बनाएको बताइन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully