२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री दाहाल

बारा — प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् । बिहीबार दिउँसो बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने बताएका हुन् ।

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री दाहाल

उनले भने, 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।'

प्रधानमन्त्री दाहालले गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने बताए । कोभिडको बेला बन्द भएको नाका पुन: सञ्चालन गरिने र विद्युतीय प्रणालीमार्फत सिँचाईको व्यवस्था गरिने उनको भनाइ छ। ती विकासका कार्यहरु उपेन्द्र यादवको नेतृत्वमा गराउन सरकारले विशेष ध्यान दिने दाहालको भनाइ छ । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

प्रधानमन्त्री दाहालले पहिले नागरिकता विधेयक रोकिएकोतर्फ संकेत गर्दै अब नागरिकता समस्या समाधान गर्ने आश्वासन दिए । 'यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं," प्रधानमन्त्री दाहालले भने, 'नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।'

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा-२ का उम्मेदवार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गरेका थिए ।


प्रकाशित : वैशाख ७, २०८० १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?