अब नेपालमै पाइलट तालिम

दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ सञ्चालन इजाजत
कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ । मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई इजाजतपत्र दिएको हो । शुभम् एभिएसन पाइलट जनक अधिकारीको संस्था हो भने चन्द्रसूर्यका सञ्चालक मनबहादुर थापा हुन् ।

मन्त्रालयले दुवै संस्थालाई ७ दिनभित्र १ लाख रुपैयाँ इजाजत दस्तुर र ‘क’ वर्गको मान्यता प्राप्त बैंकबाट १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाउन भनेको छ । विज्ञान विषय लिई १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका नेपाली नागरिकले फ्लाइङ स्कुलमा हेलिकोप्टर र जहाजको पाइलट तालिम लिन पाउँछन् । मुलुकभित्रै फ्लाइङ स्कुल नहुँदा नेपालीहरू तालिमका लागि दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त राज्य अमेरिका जाने गरेका छन् । तालिममा करिब १ करोड रुपैयाँ र एकदेखि डेढ वर्ष समय खर्च हुने गरेको छ ।

१६ वर्षअघि पर्यटन मन्त्रालयले भरतपुर विमानस्थलमा बेस बनाउने गरी सिवानी एयर प्रालिलाई हवाई उडान प्रशिक्षणका लागि इजाजत दिएको थियो । व्यवस्थापकीय समस्याका कारण उक्त कम्पनी बन्द भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रक्रिया पूरा गरेर आवेदन बुझाउने अरू संस्थालाई पनि फ्लाइङ स्कुल सञ्चालनका लागि अनुमति दिइने बताए ।


प्रकाशित : वैशाख ३, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्

ओम पार्क र घुडेमा भित्रिए दुई हजार पर्यटक

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका—७ घुम्थाङ खोलेखर्कमा रहेको ‘ओम पार्क’ र मानेँश्वाराको शिरस्थित पर्यटकीयस्थल घुडेमा पर्यटक लोभिएका छन् । ओमपार्कको महोत्सव र लेकाली गाउँ घुडेमा दुई हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको ओमपार्क नेपाल व्यवस्थापन समितिकी अभियन्ता लिला नेपालले जनाइन् ।

महोत्सवमा हिन्दु र बौद्ध धर्म परम्पराअनुरुप पूजा, प्रार्थना गरिएको थियो । स्थानीय शेर्पा, तामाङ समुदायका लामा, ब्राम्हण, क्षेत्री समुदायका झाक्रीले आफ्नो कला प्रदर्शन गरेका थिए ।

तामाङ कलाकारले लोकसंस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरेका थिए । ‘ओमपार्कमा उल्लेख्य पर्यटक भित्रिएका छन्, जसले गर्दा महोत्सव सफल भएको महसुस गरेका छौं,’ नेपालले भनिन् । खोलेखर्क लेक जंगलक्षेत्रबाट तिब्बत जाने पुरानो पैदल बाटोमा ढुंगाबाट बनाइएको ऐतिहासिक भृकुटी डोली बिसौना रहेको छ । स्थानीयले उक्त बिसौनीको अवलोकन गरेका थिए ।

तिब्बत जाने क्रममा यही स्थानमा राष्ट्रिय विभूति भृकुटी डोलीसहित दक्ष कालिगढ, सेनाको टोली बास बसेका थिए । वरीपरी लोभलाग्दा हिमश्रृंखला, लेकाली जंगलको बीचमा मैदान । देवीदेवताका कलात्मक मन्दिर, मूर्ति र पार्क । यहाँ ठड्याइँदै गरिएको ३१ फिट अग्लो ओम र अन्य पार्कको निर्माणाधीन ६ रोपनी संरचनाको अवशेषले यहाँ घुम्न आउनेलाई झनै आर्कषित गरेको छ ।

१३ करोडको लागतमा बन्न लागेको ओम र पार्क वरीपरीको देविदेवताको संरचना धमाधम बनाइँदैछ । पार्कसँगै खोलखर्क मैदान केही तलको जंगलमा रहेको अनौठो चट्टानले भरिएको कलात्मक धनलक्ष्मी गुफा, महादेव मन्दिर, पिकनिक स्पट, वृन्दाबन, भृकुटी डोली बिसौनाजस्ता अनेकन पर्यटकीय आकर्षक स्थानले ओमपार्क भरिएको छ भने बाह्रबिसे ८ घुडे गाउँमा पुरानै स्वरुपमा ढुंगामाटाले बनाइएका घर छन् । जहाँ बाह्रबिसे नगरले होमस्टे संञ्चालन गर्ने तैयारी थालेको छ ।


ओमपार्क र घुडेमा दैनिक ५० भन्दा बढी पर्यटक घुम्न र पिकनिकको लागि आउछन् । ती पाहुनालाई स्थानीय शेर्पा र तामाङ समुदायले घरेलु उत्पादन उपहार दिएर बिदा गर्ने गरेका छन् । स्थानीय घुम्थाङ खोलेखर्कको डाँडामा अनेक जंगली फूल र जडीबुटी, पशुपक्षी प्रत्यक्ष देख्न पाइन्छ । हालै राजधानीदेखि अन्यत्रका आन्तरिक पर्यटक ‘पिकनिक’ र ‘क्याम्प फाइरिङ’ गर्दै सामूहिक रमाइलोको लागि आउने भएकाले त्यहीअनुरुप व्यवस्थित बनाउन नियम बनाइएको उनको भनाइ छ । पर्यटक तान्नको लागि व्यवस्थित प्राकृतिक बास र छाप्रोको पनि व्यवस्था गरिएको छ ।

बाह्रबिसेको नगरको मानेश्वारा घलंसा हुँदै घुम्थाङ गाउँको खोलेखर्कबाट चारैतिरको मनोरम दृश्य नियाल्न सकिन्छ । हरियाली फाँटले भरिएको यसस्थानबाट चीनको खासा क्षेत्र, गौरीशंकर हिमालजस्ता सुन्दर संरचना हेर्न सकिन्छ ।

प्रकाशित : वैशाख ३, २०८० २२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×