सगरमाथाको खुम्बु आइसफलमा हिमपहिरो : ३ शेर्पा आरोहीको मृत्यु


सोलुखुम्बु — सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।


सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा खुम्बु पासाङल्हामु गाउँपालिका ५ छेसोका ३२ वर्षीय तेम्बा तेन्जि शेर्पा, सोही स्थानका २२ वर्षीय लाक्पा रिता शेर्पा र ४५ वर्षीय बादुरे शेर्पा भनिने दा छिरि शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका बुधबार बिहान मृत्यु भएको हो ।
बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको छ ।शव निकाल्न एसपीसीसीको टोली घटनास्थलमा गए पनि शवहरु खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।
‘घटना निकै खोँचमा भएकाले हाम्रो टोलीले उद्धार गर्न सकिरहेको छैन,’ एसपीसीका अध्यक्ष शेर्पाले कान्तिपुरसित भने । वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो ।
पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु सगरमाथा हिमालको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन प्रयोग हुने डोरी लगायतका सामग्री ओसार्ने जिम्मेवारीमा थिए ।
विभागका अधिकृत विज्ञान कोइरालाका अनुसार बिहान ९:३० बजे भएको यो घटनामा उनीहरुको खोजीका लागि तीनपटक सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको थियो ।
यसपटक विभागले सगरमाथा आरोहणका लागि सोमबारसम्म २४ वटा आरोहण दललाई अनुमति दिइसकेको छ । यसमा ४१ महिलासहित २ सय ४३ जना सदस्य छन् । सोमबारसम्म विभागले २१ वटा हिमालका लागि ६६ वटा आरोहण दललाई अनुमति जारी गरिसकेको छ । जसमा ५ सय ५९ जना छन् ।