बन्चरेडाँडाको अनुगमन गर्न संसदीय छानबिन समिति बनाउन माग
काठमाडौँ — सिसडोलको नियति बन्चरेडाँडामा हुन नदिने बताउँदै आएका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहमाथि प्रश्न उठेको छ । धादिङको धुनबेंसी र नुवाकोटको ककनी गाउँपालिका सिमानामा सञ्चालनमा ल्याइएको बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवैज्ञानिक तवरबाट फोहोर विसर्जन गरिएपछि स्थानीयवासीले आवाज उठाउन थालेका हुन् ।
मापदण्ड (प्रोटोकल्स)हरु पालना नगरी जथाभावीरुपमा फोहोर विसर्जन गर्दा स्थानीयवासीले आवाज उठाउन थालेका छन् । फोहोरलाई माटोले नपुरी खुला छाड्दा दुर्गन्ध फैलिएको बताउँदै धादिङका सांसद राजेन्द्र पाण्डेले प्रतिनिधिसभामा व्यवस्थापकीय पक्षको बारेमा प्रश्न उठाएका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल साइटको लिचेट ट्यांकी भरिएपछि सिधै खोलामा फालिदिने गरिएको छ । फोहोरको झोल कोल्पुखोलामा सिधै हाल्न थालिएको बताउँदै सांसद पाण्डेले ध्यानाकर्षण गराएका हुन् ।
‘वैज्ञानिक ढंगले व्यवस्थापन गर्न भनेर बनाइएको बन्चरेडाँडामा अहिले अव्यवस्थित ढंगले फालिएको छ,’ सांसद पाण्डेले भने । उनका अनुसार वैज्ञानिक ढंगले फोहोर विसर्जन गर्न बनाइएको बन्चरेडाँडा ल्यान्डफिल साइट अहिले अव्यवस्थित छ । सिसडोलमा फोहोर विसर्जन गरे जसरी नै फोहोर विसर्जन गर्न थालिएको स्थानीयको भनाइ छ ।
सांसद पाण्डेले भने, ‘बन्चरेडाँडा अव्यवस्थित छ । आसपासका घरहरुमा बस्न सक्ने अवसथा छैन । खोलामा सिधै लिचेट फालिने गरिएको छ । वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हो भएका छैन । ’ स्थानीयले फोहोरलाई सधैं माटोले विछ्याइदिन आग्रह गर्दा उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाएका छन् । फोहोर राम्रोसँग व्यवस्थापन गर भन्दा युवाहरुमाथि यातना भइरहेको उनले बताए ।
सांसद पाण्डेले उक्त स्थान हवाई रुटसमेत भएकाले फोहोरलाई व्यवस्थित ढंगले व्यवस्थापन नगर्दा चिल, गिद्धलगायतका चराहरु आसपासका झुम्मिने र दुर्घटनाको खतरा भएको औंल्याए । उनले बन्चरेडाँडा ल्यान्डफिल साइटको अवस्थाबारे संसदीय टोली बनाएर सत्यतथ्य ल्याउन आग्रह गरेका छन् ।
यस्तै, उनले स्थानीयहरुले राखेको मागको बारेमा पनि संसद्मा वाचन गरेका छन् । जसअनुसार स्थानीयले कोल्पुखोलामा फोहोरको झोल फाल्न बन्द गरिनुपर्ने, प्रभावित क्षेत्रमा सडक, विद्युतीकरण, नदी तटबन्धलगायतका कार्यहरुमा सहयोग गर्नुपर्ने, सडक कालोपत्रेको व्यवस्थापन गरिनुपर्ने, प्रभावित क्षेत्रका विद्यालयमा शिक्षकको दरबन्दी हुनुपर्ने, एम्बुलेन्सको बन्दोबस्ती गरिनुपर्ने, फोहोरमा बस्न सकिँदैन भनेर आवाज उठाउने युवाहरुविरुद्धको जारी गरिएको पक्राउ पुर्जी तत्काल रद्द गरिनुपर्ने माग राखेका छन् ।
