मिटरब्याजविरुद्धको अर्को संघर्ष समितिले भन्यो- पीडितलाई अलमल्याउने सम्झौता मान्य छैन

कान्तिपुर संवाददाता

काठमाडौँ — मिटरब्याज तथा ठगीविरुद्धको किसान-मजदुर संघर्ष समितिले सरकारी टोली र मिटरब्याजविरुद्धको संघर्ष समितिबीच शनिबार भएको सम्झौता पीडितलाई अलमल्याउने किसिमको रहेको भन्दै आपत्ति जनाएको छ ।

६ महिनाअघि पश्चिम तराईका मिटरब्याज पीडितहरु आन्दोलन गर्दै काठमाडौं आएका थिए । उनीहरूसँग असोज १ मा सम्झौता भएको थियो । अहिले पूर्वीतराईका मिटरब्याजपीडितहरू हिँडेर काठमाडौ आएपछि सरकारले फेरि अर्को सम्झौता गर्‍यो । यो सम्झौता गर्दा विगतमा सम्झौता गर्ने समूहलाई जनाकारी नै नभएपछि उनीहरू आक्रोशित भएका हुन् ।

संघर्ष समितिका अध्यक्ष अवदेश कुशवाहाले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ सम्झौताप्रति संशय व्यक्त गरेका हुन् । 'असोज १ गते हाम्रो संघर्ष समितिसँग यस्तै अन्तर्यको सम्झौता भएको थियो । हाल केवल आयोग गठन गर्ने बुँदा नयाँ छ । आयोग गठनले समस्या समाधान गर्ने छैन, बरु लम्ब्याउने छ‚' कुशवाहाले भनेका छन्, 'समस्यालाई लम्ब्याउने कुनै पनि सम्झौताले मिटरब्याजविरुद्धको आन्दोलनलाई विश्वस्त बनाउने छैन ।'

उनले प्रमुख आवश्यकता मिटरब्याजविरुद्धका कानुनलाई पूर्णता दिनुपर्नेमा आयोग गठन गरेर पीडित पक्षलाई अलमल्याउन खोजिएको दाबी गरे । 'कानुन अभावमा किसानको जग्गा लिलाम भइरहनेछ । प्रशासन संयन्त्रले प्रभावकारी तरिकाले काम गर्न सक्नेछैन । हामी चाहन्छौँ, आन्दोलनकारीको सम्पूर्ण साचो समेट्न विद्यमान मस्यौदा तत्काल सार्वजनिक गरियोस् साथै कानुन बनाउने कार्यलाई तीव्र गतिमा पूर्णता दिइयोस्‚' उनले भनेका छन् ।

सरकारले मिटरब्याजका तमसुक अवैध भएको घोषणा गर्नुपर्ने, मिटरब्याजविरुद्धका सम्पूर्ण मुद्दा तत्काल स्थगित गर्ने, फैसला भइसकेका मुद्दा पुनरवलोकन गर्ने र मिटरब्याजी साहु–महाजनको सम्पत्ति छानबिन गर्ने राजनीतिक बन्दोबस्त शीघ्र गर्न पनि उनले माग गरेका छन् । यो संघर्ष समितिले चैत २० मा काठमाडौंमा केन्द्रीकृत भई संघर्ष गर्ने तयारी गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

ब्याजदर घट्ने वातावरण बनाउन नयाँ अर्थमन्त्रीलाई उद्योग वाणिज्य महासंघको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । आइतबार बिहान सिंहदरवारमा भएको भेटवार्ताका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्था र निजी क्षेत्रले भोगेका समस्याबारे अवगत गराएका थिए । 

गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव छ । सहकारी र लघुवित्तमा तरलता बढाउनेगरी काम गर्न पनि उनले आग्रह गरे । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै गोल्छाले त्यसलाई बढाउन सुझाव दिए । ‘अहिले सरकारको राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ’ गोल्छाले भने ‘यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने अवस्था छ ।’ यसरी लिएको ऋण विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

सीमाबाट हुने अवैध आयात रोक्न, विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसँग पहल गर्न उनले आग्रह गरे । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै गोल्छाले मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए ।नवनियुक्त अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रसँग सुझाव लिएर सहकार्य गर्ने बताए ।


प्रकाशित : चैत्र १९, २०७९ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×