कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्ले रास्वपाको साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ : प्रवक्ता ढकाल

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् । बिहीबारमात्रै कांग्रेस छोडेको घोषणा गरेका वाग्ले रास्वपाको उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा तनहुँ- १ बाट चुनाव लड्न तयार भएको बताइएको छ । 

वाग्ले रास्वपाको साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ : प्रवक्ता ढकाल

रास्वपाका महामन्त्री तथा प्रवक्ता ढकालले कांग्रेस त्यागको घोषणा गर्नुपहिला वाग्लेसँग छलफल भएको जानकारी दिए । 'साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ । त्यसपछि पार्टीमा सहभागी हुनुहुन्छ,' ढकालले भने ।

पार्टीमा वाग्लेलाई कुन पद दिने भन्ने विषयमा अहिले कुनै समझदारी नभएको पनि ढकालको भनाइ छ । 'उहाँसँग सकारात्मक कुरा भएको छ,' ढकालले भने । नयाँ पार्टी भएकाले विभिन्न पद खाली रहेको र त्यहाँ वाग्ले जस्ता नेताहरूलाई सहभागी गराउन सकिने ढकालले बताए ।

अब वाग्लेले अनलाइन माध्यमबाट रास्वपाको सदस्यता लिने र तनहुँबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने ढकालले जानकारी दिए ।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टी परित्यागको घोषणा गरेका वाग्लेले नेतृत्वको कारण अलग्गिनुपरेको र भविष्यमा सक्रिय राजनीतिमा आउने जनाउ दिएका छन् । 'जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,' उनले पार्टीबाट अलग्गिएको जानकारी दिन लेखेको फेसबुक स्टाटसमा उल्लेख छ, 'अब कांग्रेस-कम्युनिस्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुआतसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर 'यो देश बन्छ' भन्ने आशा जगाउने हो, बनाउने नै हो ।'

प्रकाशित : चैत्र १६, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?