कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डिप बोरिङले पनि भेट्दैन पानी

‘खानेपानी र सिँचाइको समस्या मात्र होइन तराई नै मरुभूमीकरण हुँदै जाने जोखिम बढेको छ । जमिनमुनिको पानीको सतह र भण्डारण चक्रमा परेको असरले जमिन भासिने, बोट वृक्ष उम्रन नसक्ने, जमिनमुनिका पानीका स्रोत समाप्त हुँदै जाने समस्या देखिन सक्छ ।’
डीआर पन्त

धनगढी — कैलालीको अत्तरिया साना सहरी खानेपानी आयोजनाले ५ वटा डिप बोरिङमार्फत साढे ४ हजार घरलाई खानेपानी वितरण गर्दै आएको थियो । तीन वर्षयता ४ वटा डिप बोरिङमा पानी आउन छाड्यो । परीक्षण गर्दा भूमिगत स्रोत सुकेको पाइयो । त्यसपछि आयोजनाले स्रोतको विकल्प खोजिरहेको छ । 

डिप बोरिङले पनि भेट्दैन पानी

भूमिगत पानी भासिएर आयोजना संकटमा परेको अत्तरियामा मात्र होइन, कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिका क्षेत्रका आधा दर्जन खानेपानीका आयोजनामा पनि उस्तै समस्या देखिएको छ । आयोजनाले झिक्ने भूमिगत पानीको परिमाण घट्दै स्रोत बन्द हुन थालेपछि चुरेभावरनजिक नयाँ स्रोत खोजेर पानी आपूर्ति सहज बनाउने तयारी गरेका छन् ।

कृष्णपुर–२ र ४ का धेरैजसो निजी बोरिङबाट पानी आउन छाडेको चार वर्ष भयो । ‘टोलमा एकसाथ दुईवटा बोरिङ चलायो भने पानी आउँदैन,’ स्थानीय डब्बु थापाले भने, ‘सिँचाइमा प्रयोग हुने ठूलो बोरिङ सार्दासार्दै हैरान भइसक्यौं ।’ खानेपानीको समस्यासँगै खेतीका लागि सिँचाइमा संकट आइलागेको उनले बताए । ‘आकाशे पानी चाहिएका बेला वर्षा हुँदैन, जमिनमुनिबाट पनि पानी आउन छाड्यो,’ उनले भने ।

घरघरमा खनिएका नलबाट पानी आउन छाडेपछि तराईका गाउँमा टोलटोललाई लक्ष्य गरी स्थानीय तहले डिप बोरिङ गरेर खानेपानी निकाल्ने अभियान नै छ । नगरपालिकाले डिप बोरिङ गरी पानी वितरण गरिरहेका धारामा भाँडा भर्नेको भीड लाग्ने गरेको छ । कृष्णपुर–२ का डबल चन्द भन्छन्, ‘१५/२० घर भएको एउटा टोलमा एउटा डिप बोरिङका धारा छन् । बिहान–बेलुका खानेपानी थाप्नेको भीड लाग्नु स्वाभाविक हो ।’

ग्रामीण क्षेत्रका आयोजनामा पानीको समस्या हुन थालेको चार वर्षजति भएको चन्दले बताए । ‘पहिले अगाडि पानीको यस्तो समस्या हुँदैनथ्यो, सानो मोटरबाटै पनि पानी तान्न सकिन्थ्यो,’ उनले भने, ‘३ वर्षयता साना मोटर र बोरिङ दुवैबाट पहिलाको जस्तो पानी आउँदैन । एकछिनमै सुक्दै जान्छ ।’

भूमिगत पानी घट्नुमा धेरै हदसम्म मानव सिर्जित समस्या भएको विज्ञहरूले बताएका छन् । भूमिगत पानीको अनियन्त्रित उपयोग र वनजंगल र नदीनालाको दोहनसँगै मनसुनी प्रणालीमा आएको परिवर्तनलाई कारक मानिएको छ । ‘१५ वर्षअघि ३० फिटमा पाइने पानी अहिले ८० देखि १२० फिटसम्म खोज्नुपर्ने भएको छ,’ सहरी खानेपानी आयोजनाका परामर्शदाता वरिष्ठ इन्जिनियर परीक्षित श्रेष्ठले भने ।

तराईमा बसाइँ सराइको चाप १० वर्षयता तीव्र छ । ‘नदीनालाबाट अनियन्त्रित रूपमा ढुंगा, गिट्टी, बालुवाको दोहन हुन थाल्यो, वन अतिक्रमण भएर नयाँ बस्ती विकास भए, भूमिगत जलस्रोतको भण्डार एक तहसम्म कम भएको छ,’ श्रेष्ठले भने, ‘भूमिगत पानीको मुख्य भण्डार चुरे हो । त्यहाँ जल पुनर्भरणको प्रक्रियामा असर परेको नतिजा अहिले देखिन थालेको हो ।’

चुरे संरक्षणसम्बन्धी कानुन पुनरावलोकन समितिका सदस्य जगन्नाथ जोशी पश्चिम तराईका नदी र चुरे भावर क्षेत्रको दोहन कम भएन भने पानी संकट झन् बढ्दै जाने संकेत देखिएको बताउँछन् । भूमिगत जल भण्डारणको अव्यवस्थित दोहन रोक्न नसके दशकभित्रै तराईका भूभागमा गम्भीर समस्या आउने उनको आकलन छ । ‘खानेपानी र सिँचाइको समस्या मात्र होइन तराई नै मरुभूमीकरण हुँदै जाने जोखिम बढेको छ,’ उनले भने, ‘जमिनमुनिको पानीको सतह र भण्डारण चक्रमा परेको असरले जमिन भासिने, बोट वृक्ष उम्रन नसक्ने, जमिनमुनिका पानीका स्रोत समाप्त हुँदै जाने समस्या देखिन सक्छ ।’

भूमिगत जल भण्डारण प्रक्रिया र चुरे भावरको महत्त्वका विषयमा विद्यावारिधि वीरभद्रसिंह क्षेत्री पानीसँगै बगेर आउने माटो र गेग्य्रानले जमिनभित्र पानी पुनर्भरणको प्रक्रियामा असर पारेको बताउँछन् । ‘जंगल र ढुंगा, गिट्टी, बालुवा भएको खोलानालाका कारण चुरेबाट बगेको पानी बिस्तारै ठोक्किँदै रिचार्ज हुँदै बग्ने गर्थ्यो,’ उनले भने, ‘जंगल विनाश हुँदै गएपछि माटो बगाएर बाक्लो भएको पानी जमिनमुनि भण्डारण हुन नपाउँदै बगेर समुद्रमा जान थाल्यो, भूमिगत स्रोत त्यसैले घट्न थाल्यो ।’ नदीनालाको अनियन्त्रित दोहन पनि संकटको अर्को प्रमुख कारण भएको उनले बताए ।

पाँच वर्षअघि संघीय सरकारले भूमिगत जलस्रोतको अधिकतम उपयोग गर्ने नीति लिएपछि पश्चिम तराईमा स्थानीय तह र प्रदेश सरकारले डिप बोरिङका लागि ठूलो लगानी गरेका छन् । सिँचाइका लागि मात्र नभई खानेपानीका लागि पनि २/३ सय फिटमुनिबाट पानी निकाल्न थालिएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?