कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाखसम्म बुझाएका सर्वसाधारणमाथि धोका, गिरोहका तीन जना पक्राउ
सार्वजनिक नभएको प्रतिवेदन हात पारेर नाम थप, अमेरिका उडाउने भन्दै नक्कली शरणार्थी परिचयपत्र वितरण
कहिले छुट दर्तामा नाम हाल्ने , कहिले फोटो खिच्ने र कहिले मेडिकल गर्ने भन्दै गिरोहद्वारा किस्ता– किस्तामा असुली
गृह मन्त्रालयले गठन गरेको प्रतिवेदनमा ‘दुई नक्कली अनुसूची’
देवेन्द्र भट्टराई

पथरी, मोरङ — भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको छ । प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको हो ।

अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ जेठमा गठित कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्यसचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदलले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेपछि त्यसमा ८७५ नेपालीको नामसहितको दुइटा अनुसूची थपेको हो । स्रोतका अनुसार सरकारी संयन्त्रसँग निकट रहेको गिरोहले नाम प्रतिवेदनमा समावेश गरेर जनही १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएका थिए । रकम उठाइसकेपछि गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी परिचयपत्र दिलाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित तीन जना आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलाल, सानु भण्डारी र टेक गुरुङलाई नियन्त्रणमा लिएको हो । ‘पथरी घर भएका केशव दुलालले यहाँका ५० भन्दा बढी सिधासाधालाई अमेरिका पठाउने भन्दै शरणार्थी परिचयपत्र र ट्राभल डकुमेन्ट तयार गर्न भनेर १० लाख रुपैयाँदेखि माथि उठाएका छन्,’ उर्लाबारीका एक पीडितले भने, ‘पैसा उठाउन पथरीकै पूर्ववडाध्यक्ष सागर राईले समन्वय गरिदिएका थिए ।’ पथरीका राई भने ‘हल्ला निकै चलेको छ, बोल्ने ठाउँमा पुगेर आवश्यक परे बोलौंला’ भन्दै पन्छिन चाहे ।

गिरोहले प्रतिवेदन हात पारेर त्यसमा ९(क) र ९(ख) अनुसूची थपेको छ । अनुसूची ९(क) ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पबाहिर ठेगाना देखाएका निवेदकहरूको विवरण’ उल्लेख गरिएको छ जहाँ ४५१ परिवारका ५३५ जनाको नाम समेटिएको छ । ९(ख) मा ‘विभिन्न कारण देखाई शरणार्थीमा छुट दर्ता गरी तेस्रो देशमा पुनःस्थापना गर्न माग गर्दै कार्यदलसमक्ष निवेदन दिने क्याम्पभित्र ठेगाना देखाएका निवेदकहरूको विवरण’ मा भने १३० परिवारका ३४० जनाको नाम उल्लेख छ ।

मोटो रकम असुल्दै ठगी गिरोहले उपलब्ध गराएको नक्कली शरणार्थी परिचयपत्र ।

गृह मन्त्रालयले गत वर्ष डिसेम्बरमा जारी गरेको लतिका भण्डारीको शरणार्थी परिचयपत्रमा ठेगाना ‘बेल्डाँगी–सी ३/३३९’ लेखिएको छ । सलिना प्रधानको ठेगाना ‘बेल्डाँगी ८–३/३७’ छ । यी दुवै परिचयपत्रको प्रतिलिपि बोकेर संवाददाता दमकको बेल्डाँगी शिविरमा पुगेको थियो । ‘बी–३’ सेक्टरकी प्रतिनिधि कविता राईले यी नामका कोही पनि शरणार्थी आफ्नो र आसपासको सेक्टरमा नरहेको बताइन् । परिचयपत्रमा रहेको नम्बरको हट (झुप्रो) शिविरभित्र कतै नरहेको पनि उनले जानकारी दिइन् ।

प्रतिवेदनको ‘छुट दर्ता’ सूचीमा ‘रमेश कटवाल (पथरी–११ एक्स्टेन्सन/एफ२/१०७/ १८११ एक्स)’ र ‘सुनील अधिकारी (पथरी–११ एक्स्टेन्सन/ए१/१७०८एक्स)’ उल्लेख छन् । तर, यी नाम–ठेगाना पनि पथरी शरणार्थी शिविरमा कतै पाइएन । कटवाल र अधिकारी दुवै दाङवासी रहेको अनुसन्धानमा देखिएको छ ।

गिरोहले कहिले छुट दर्तामा नाम हाल्ने, कहिले फोटो खिच्ने र कहिले मेडिकल गर्ने भन्दै किस्ता–किस्तामा जनही १० लाख रुपैयाँ लिएको पीडितहरू पथरीका ईश्वर भट्टराई, संगीता खड्का, विकास खड्का, समीर पराजुली, सोनिया लिम्बू, सारा तामाङ, कमल सुवेदी, महेश कार्कीलगायतले जानकारी दिए । ‘सन्देश शर्मा नामका व्यक्तिले मेरो दाङ क्षेत्रका चिनारु र गाउँलेको रकम उठाएको मैले पाएँ,’ दाङबाट आएका पीडितका आफन्त गजेन्द्र बुढाथोकीले कान्तिपुरसँग भने, ‘मेरै क्षेत्रका ६१ जना पीडितको उजुरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको छ ।’ उनका अनुसार दाङमा २०७८ जेठमा धन्दा सुरु गरेको गिरोहले कहिले फोटो खिच्ने भनेर चितवन सफारी होटलमा बोलाएको थियो, कहिले विराटनगरको विराट मेडिकलमा स्वास्थ्य परीक्षण गर्न पुर्‍याएको थियो ।

यो गिरोहको धन्दाबारे जानकारी दिन बुढाथोकीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, गृह सचिव टेकनारायण पाण्डेलाई पनि भेटेका थिए । ‘सानु भण्डारीसँग मेरो चिनजानी छ, म कुरो गरिदिउँला’ भन्दै गृह सचिव पाण्डेले आफूलाई सान्त्वना दिएको बुढाथोकीले सुनाए । त्यसअघिका गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईसहितका पदाधिकारी पनि यो गिरोहबारे जानकार रहेको पीडितहरूको भनाइ छ ।

गिरोहका नाइके केशव दुलाल नेता सुजाता कोइराला उपप्रधानमन्त्री भएका बेला उनका निजी सहायक थिए । शरणार्थी बनाएर अमेरिका उडाउने प्रलोभनमा पारिएका व्यक्तिहरू काठमाडौं आएका बेला दुलालले नेता कोइरालाकहाँ चियापानमा लिएर जाने गरेको पाइएको छ । गृह मन्त्रालयको तत्कालीन नेतृत्व तहसम्म पहुँच पुर्‍याएर गिरोहले चलखेल गरेको पीडितको भनाइ छ । ‘गिरोहले अब हेर्दै जानुस्, अख्तियारमा प्रमुख आयुक्त बनेर गृह सचिव प्रेमकुमार राई जाँदै छन्, यो हाम्रै सेटिङ हो । झापामा सीडीओ जनक दाहाल फेरिँदै छन्, तल शिविरमा अब संयुक्त प्रमाणीकरण जाँदै छ, गृहका सहसचिव पन्थीको नेतृत्वमा शरणार्थीको छुट दर्ता कार्यदल बन्दै छ भन्थे,’ पथरीमा भेटिएका अर्का पीडितले भने, ‘नभन्दै त्यस्तै हुन्थ्यो ।’

दाङबाट भने रोहित शर्मा कोइराला (सन्तोष शर्मा), कृष्ण कार्की (विवेक थापा), प्रदीप पौडेल (प्रदीप अर्याल), भुवन थापा (सन्देशजंग ठकुरी), कपिल खनाल (खिमराज पौडेल), सिम्रन थापा (मीना राणा) सहितका पीडितले आफूले तिरेको रकम, बैंक दाखिला रसिद, नक्कली शरणार्थी परिचयपत्रसहितका प्रमाण अनुसन्धानका लागि प्रहरीमा बुझाएका छन् ।

दुलाललगायतकै गिरोहले कास्की, चितवन, दाङ, सल्यानसहितका २ सयभन्दा बढीलाई अमेरिकाको सपना देखाएर ठगी गरेको उजुरी प्रहरीमा छ ।

बेलडाँगी शर्णार्थी शिविरको बसोबास सूची । तस्बिर : देवेन्द्र/कान्तिपुर

पूर्वी नेपालमा रहेका शिविरहरूका झन्डै १ लाख १५ हजार शरणार्थी तेस्रो देशमा बसोबासमा गइसकेपछि ‘दिगो समाधान खोज्न’ भन्दै गृह मन्त्रालयले विभिन्न कार्यदल, समिति र अध्ययन टोली बनाउँदै आएको छ ।

पछिल्लो पटक २०७६ जेठ ३० मा बनेको पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको काम सन्देहपूर्ण देखिएको भन्दै झापाकै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा २०७८ मंसिर १९ मा उपसमिति बनाइएको थियो । उपसमिति गठनका क्रममा गृहले झापा जिल्ला प्रशासन कार्यालयलाई ‘शरणार्थी परिचयपत्र वाहकका परिचयपत्रविहीन सन्ततिलाई परिचयपत्र दिने’ भन्ने द्वैध अर्थ लाग्ने कार्यादेश दिएको थियो ।

फेरि २०७९ जेठ २७ मा ‘पन्थी कार्यदलले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गर्दै छुट शरणार्थीका सन्दर्भमा समेत दीर्घकालीन समाधान र व्यवस्थापनको ठोस सुझाव पेस गर्ने’ भन्दै गृहले अर्को उपसमिति बनायो । यो उपसमितिको काम अहिले पनि जारी छ । यही उपसमितिको नेतृत्व गरेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले पन्थी प्रतिवेदनमा छुट दर्ता भनेर राखिएका ४ सय २९ जनाको नाम पनि ‘प्रमाणीकरण’ बाँकी रहेको बताए । ‘यहाँ शरणार्थी हो, होइन र शंकास्पदका गरी तीन वर्गमा बाँडेर अध्ययन गर्दै छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको अध्ययनमा सिफारिस गरिएकामध्ये धेरैजसो होइनन् कि भन्ने देखिएको छ ।’

झापा–मोरङका पीडितले एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष कुरा राखेपछि उनकै निर्देशनमा राष्ट्रिय सभामा गिरोहको चलखेलका विषयमा प्रश्न उठाइएको थियो । चितवनकी राष्ट्रिय सभा सांसद दिलकुमारी थापा रावल (पार्वती) ले ‘अमेरिका लैजाने भन्दै सोझासाझा नेपालीमाथि गिरोहको आर्थिक चलखेल भइरहेको’ भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले यसमा गम्भीर अनुसन्धान हुनुपर्ने आवाज पनि उठाएकी थिइन् । ‘यो गिरोहको चलखेलबारे एमाले, कांग्रेस, माओवादीका सबैजसो शीर्षस्थ नेता जानकार हुनुहुन्छ,’ पथरीमा भेटिएका एमाले नेता युवराज बाँस्कोटाले भने, ‘तर, गिरोहको राजनीतिक र अन्य पहुँचका कारण धेरैले मुख खोल्न सकेका छैनन् ।’

प्रतिवेदनमा के छ ?

गृह स्रोतबाट कान्तिपुरले हालै प्राप्त गरेको पन्थी कार्यदलको प्रतिवेदनअनुसार अध्ययन कार्यदललाई ६ वटा कार्यादेश दिएको पाइएको छ । यसमध्ये सबैभन्दा अर्थपूर्ण र द्वैअर्थी छैटौं बुँदामा ‘भुटानी शरणार्थीलाई दर्ता भई पुनःस्थापना हुन बाँकी र दर्ता हुन छुट भएका शरणार्थीहरूको लगत तयार गरी निजहरूलाई भुटान फिर्ता गर्न सकिने वा नसकिने, तेस्रो देशमा पुनर्वासमा पठाउन सकिने वा नसकिने सम्बन्धमा सुझाव दिने’ भनिएको छ । ‘तर, कार्यदलले यो कार्यादेशमा काम गरेन, हामी दर्ता छुटका शरणार्थीको लगत राख्ने अवस्था र समयावधिमा थिएनौं । यसरी दर्ता गर्न अनेक जोडबल आइपरेको भए पनि यो कार्यादेशलाई स्वीकार नगरी काम पूरा गरेका थियौं,’ पन्थीले भने ।

प्रतिवेदनको सुझावमा भनिएको छ, ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अबउप्रान्त दर्ता प्रक्रिया मात्र नभई शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ, नेपालको भूराजनीतिक अवस्था र आर्थिक, प्राकृतिक सामर्थ्यको कमी र भावी सम्भावित परिणामलाई मध्यनजर गर्दा भुटानी शरणार्थीहरूलाई नेपाली नागरिकता दिन उचित नहुने देखिन्छ ।’

पन्थी प्रतिवेदनमा दर्तामा आएका भुटानी शरणार्थीलाई ‘स्मार्ट भुटनिज रिफ्युजी आइडेन्टी कार्ड’ उपलब्ध गराउँदै वैज्ञानिक अभिलेखन गर्न सुझाव दिइएको छ । कार्ड उपलब्ध गराएपछि निश्चित समयावधि तोकी शिविर खाली गराउने र खाली भएको जग्गालाई प्रचलित कानुनबमोजिम सम्बन्धित सरकारी निकायलाई संरक्षणका लागि हस्तान्तरण गर्नुपर्ने भनिएको छ ।

नेपालबाट भुटानी शरणार्थी पुनर्वास कार्यक्रम टुंगिएपछि ०७७ पुस १६ (२०१६ डिसेम्बर) मा झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको उपशाखा (कार्यालय) बन्द भइसकेको छ । गिरोहले भुटानी शरणार्थीलाई तेस्रो देश लैजान भन्दै रकम असुल्ने गरेको सूचना आउन थालेपछि ०७९ वैशाख ३ मा नेपालस्थित यूएनएचसीआरको कार्यालयले विज्ञप्ति निकाल्दै ‘प्रमाणीकरण हुनेलाई पुनर्वासका सबै प्रक्रिया स्थगित भइसकेको’ जानकारी गराएको थियो । तर, त्यसयता पनि गिरोह चलखेल जारी छ ।

प्रतिवेदनको पूर्णपाठ :

ooo

‘१० महिनादेखि अनुसन्धानमा थियौं’


–डा. मनोजकुमार केसी,

प्रहरी वरिष्ठ उपरीक्षक, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय

हाम्रो कार्यालयमा आएका उजुरी र जुटेका प्रमाणहरूका आधारमा तीन जनालाई आज नियन्त्रणमा लिइएको छ । यो अनुसन्धान सुरु भएको १० महिना भइसक्यो । गरिब जनतालाई अमेरिका लैजाने भन्ने गलत मनसायले ठगी गरेको प्रारम्भिक रूपमा देखिएको छ, यसको सूक्ष्म अनुसन्धान भइरहेको छ । यसमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनेछ । पक्राउ गरिएकालाई आइतबारै काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धानमा अघि बढेका छौं ।

ooo

‘हामीले नयाँ दर्ता सिफारिस दिएका छैनौं’

– बालकृष्ण पन्थी, कार्यदल संयोजक

गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन–२०७६’ ले गृहमा बुझाएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । विशिष्ट स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा, पन्थी कार्यदलले शरणार्थी समस्या र समाधानका बारेमा १८ पेजको अध्ययन–सुझाव दिएको छ । यसबाहेक विगतको संयुक्त प्रमाणीकरण, हाल शिविरमा रहेका शरणार्थीको लगत, राष्ट्रसंघीय शरणार्थी आयोग(यूएनएचसीआर) र शरणार्थी समन्वय समिति(आरसीयु)ले उपलब्ध गराएको दर्ता छुटको सूचीसहितका सन्दर्भ प्रतिवेदनमा अभिलेखमा राखिएको छ । तर, यही दर्ता छुटको ४२९ जनाको संख्यालाई विवादित बनाइँदै आएको र यो प्रतिवेदनको नियतमा आशंका गरिएपछि संयोजक पन्थी आफैं अचम्ममा परेका छन् । हाल अवकाशप्राप्त पन्थीसँग कीर्तिपुरमा गरिएको कुराकानी :

तपाईंको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन सार्वजनिक नहुँदै चर्चामा छ नि ?

यो बेकारको हल्ला हो । ०७६ जेठ ३० को गृहमन्त्रीस्तरीय निर्णयअनुसार विज्ञ सदस्य गणेशबहादुर केसी र मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपानेसहितको टोलीले प्रतिवेदन तयार गरेर बुझाएको हो । कार्यदलले साउन २ मा काम सुरु गरेर तीन महिनामा प्रतिवेदन तयार गरेको थियो । हामीले झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, यूएनएचसीआर प्रतिनिधिसहितको परामर्शमा आफ्नो कार्यक्षेत्रमा रहेर काम गरेका थियौं । यूएनएचसीआरले उपलब्ध गराएको छुट दर्तामा रहेका ४ सय २९ जनाको नाम पाएका हौं । त्यसमा नेपाल सरकारको समन्वयमा रहने आरसीयू र यूएनएचसीआरले आवश्यक प्रमाण जुटाइसकेको पायौं । हामीले त्यही ‘दर्ता हुन छुट’ को सूचीलाई अभिलेखको एउटा दफामा राखेका हौं । त्यो हाम्रो खोजी र उत्खननको विषय होइन । यो दर्ता छुटकै आधारमा अहिले उब्जिएको विवादमा यो प्रतिवेदनलाई जोडिनु सही होइन ।

त्यही प्रतिवेदनमा अनेक नाम थपिएको र गैरशरणार्थीलाई अमेरिका लैजाने भन्दै खेल जारी रहेकोबारे प्रतिवेदन संयोजकका हैसियतमा जानकार हुनुहुन्छ ?

मेरो संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदनमा थपघट भएको, तोडमोड भएकोबारे म जानकार छैन । मैले आफ्नो १८ पेजको प्रतिवेदनसहित १० अनुसूचीको अभिलेख प्रतिवेदन गृहमा बुझाएको हुँ । नेपालमा मान्यता पाइसकेका करिब ६५ सय भुटानी शरणार्थीको व्यवस्थापनका लागि के कस्तो गर्नुपर्छ भनेर मलाई दिइएको कार्यादेशको अधीनमा रहेर मैले ८ बुँदे सुझाव दिएको छु । अध्ययनका बेला हामीसमक्ष छुट भएका शरणार्थीको नामावली समावेश गर्दिनुपर्‍यो भनेर व्यक्तिगत रूपमा र शरणार्थी क्याम्पका तर्फबाट तथा शरणार्थीको हित हेर्ने अन्य निकाय/व्यक्तिबाट अनुरोध, निवेदन आएका हुन् । हामीले नयाँ नामावली थप गर्न आवश्यक र उपयुक्त देखेनौं । कोही वास्तविक भुटानी छुट भएका हुन सक्छन्, तर तिनको पहिचान गर्ने विधि त्यति सजिलो छैन । कसैले निवेदन दिएकै भरमा र उसको कुरा सुनेकै भरमा निर्णय गर्न सकिन्न । त्यो वास्तवमा भुटानी शरणार्थी हो/होइन भन्नका लागि त भुटान सरकारको पनि सहयोग चाहिन्छ ।

तपाईंको कार्यदललाई दिइएको कार्यादेशमा ‘भुटानी शरणार्थीमा दर्ता भई पुनःस्थापना हुन बाँकी र दर्ता छुट भएका शरणार्थीहरूको लगत तयार गर्न’ पनि भनिएको रहेछ । यसबारे के भन्नुहुन्छ ?

कार्यादेशको अन्तिम बुँदामा दर्ता छुटको नामावली लगत तयार गर्न भनिएको थियो । हामीसमक्ष यस्ता छुटेको दाबीसहित निवेदन पनि आएका हुन् । तर, हामीसँग सत्यतथ्य पहिल्याउने आधार थिएन र समय पनि थिएन । त्यस्तो खोजी एकतर्फी रूपमा हुनै सक्दैन । यसकारण कार्यादेशको अन्तिम बुँदामा भनिएको काम हामीले गरेनौं, गर्न सकेनौं ।

ooo

‘अन्योलले गिरोह सलबलाए’

शिवराम पोखरेल, प्रमुख जिल्ला अधिकारी, झापा

कार्यदलले त्यस बेलाको स्थितिमा शरणार्थी समस्याको दिगो समाधानको सुझाव दिएको प्रतिवेदन हो । दर्तामा जाने भनिएका ४ सय २९ जनाको प्रक्रिया अब के गर्ने अथवा बाहिरी मुलुकमा शरण चाहनेको हकमा के गर्ने भन्ने निर्णय गर्ने त केन्द्र सरकारले हो । हामी त निर्देशन र निर्णयबमोजिमको कार्यान्वयन गर्ने निकाय मात्रै हौं । फरक निर्णय र कार्यदिशामा हामी चल्न मिल्दैन । त्यो प्रतिवेदन त तत्कालको ‘इनपुट’ मात्रै हो, ‘आउटपुट’ (परिणाम) दिने भनेको त सरकारले हो । तर भनिहालौं, पन्थी कार्यदलको रिपोर्ट मैले पूरै पढेको पनि छैन । यत्ति हो कि दिइएको कार्यादेशभन्दा अघि बढेर प्रतिवेदनमा नयाँ शरणार्थीको नाम दर्ता वा सूची थपिएको हो भने त्यो गलत हो ।

परिचयपत्र त्यत्तिकै बनाउन सम्भव छैन । नयाँको हकमा मन्त्रीस्तरीय निर्णय नभई कार्ड दिन सकिन्न । यहाँ पनि केही शंकास्पद शरणार्थी परिचयपत्र आएको थियो । प्रमाणीकरण गर्दा दमक, बेल्डाँगीको ठेगाना, हट–नम्बर, अधिकारीको हस्ताक्षर सबै नक्कली पाइयो । यत्ति हो कि शरणार्थी समस्याको यो अन्योलकै कारण धमिलो पानीमा गिरोह सल्बलाएको हुन सक्छ ।

हामीकहाँ ‘फरेन–मेनिया’ छ । अझ अमेरिकाको सपना देखाएर लैजाने र शरणार्थीको माध्यम बनाएर लगिनेछ भन्ने भ्रममा धेरै परेका हुन सक्छन् । यो एक प्रकारले मानव तस्करी हो । अब सधैंभरि शरणार्थीको भार बोकेर बस्ने अवस्था रहन्न । घरफिर्तीको प्रयत्न वा तेस्रो देशमा बसोबासको अरू सम्भावना पनि रहन्छ नै । यसको निर्क्योल सरकारले गर्ने हो ।

खोज पत्रकारिता केन्द्र

प्रकाशित : चैत्र १३, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?