पूर्वफुटबलर डम्बरसिंह गुरुङको निधन

दीपक परियार

पोखरा — पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको बुधबार पोखरामा निधन भएको छ । ७१ वर्षीय गुरुङको हृदयघातका कारण निधन भएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पोखरा फर्कने क्रममा नाउँडाँडामा उनले चलाएको कारले कुकुरलाई ठक्कर दिएको थियो । स्थानीयले केरकार गरेपछि उनी त्यहीं ढलेका थिए ।

उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । तीन वर्षअघि मस्तिष्कघात भएपछि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । उनको श्रीमती, ३ छोरी र १ छोरा छन् ।

सन् १९६६ मा बेलायती सेनामा भर्ती भएका उनी सन् १९७४ मा कोरियन प्रशिक्षक च्यानको प्रशिक्षकत्वमा थाइल्यान्डको रजाधानी बैंककमा खेले । सन् १९८२ मा जर्मन प्रशिक्षक रुडी गुटेनडोर्फको प्रशिक्षकत्वमा भारतको राजधानी नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय टिमबाट प्लेमेकरको भूमिकामा खेलेका थिए । उनले कुनै समय आरसीटीबाट फरवार्डको भूमिका निर्वाह गरेका थिए ।

भूतपूर्व बेलायती सैनिक गुरुङ एन्फा यू–१४, यू–१६, आर्मी, एपीएफजस्ता ‘ए’ डिभिजन क्लबको प्रशिक्षक भइसकेका छन् । उनले सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीमा सुरुआती समयदेखि करिब छ वर्ष निःशुल्क प्रशिक्षण दिएका थिए । सन् १९८२ मा ब्रिटिस गोर्खा टिमबाट एन्फा कप पनि खेलेका उनी हाल पोखरामै आराम गरिरहेका थिए ।

प्रकाशित : चैत्र ८, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगरमा पेलेको सालिक

कान्तिपुर संवाददाता

विराटनगर — विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सालिक स्थापना गरेको छ ।

भद्रकाली कला कुञ्ज इटहरीका प्रमुख अभिषेक तिम्सिनाले विश्वविख्यात फुटबलर पेलेको अर्धकदको सालिक विराटनगर महानगरपालिकालाई नि:शूल्क उपलब्ध गराएपछि गोल्डकप आयोजक समितिले उक्त सालिक सहिद मैदानमा राखेको हो ।

सालिकलाई बिहीबार सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

प्रकाशित : चैत्र ८, २०७९ २०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×