मेलबर्न — नेपाली टोलीले ‘टच फुटी’ विश्वकप डिभिजन १ का लागि तयारी पूरा गरेको जनाएको छ । भिक्टोरियास्थित मेलबर्नको बक्सहिल रग्बी क्लब मैदानमा हुने प्रतियोगितामा नेपालको समूहमा स्विजरल्यान्ड, जिम्बावे, संयुक्त राष्ट्रसंघको समुदाय टोली छन् ।
समूह विजेता हुने टोली फाइनलमा पुग्ने प्रावधान छ । गत वर्ष नेपालले फाइनलमा ब्राजिली टोलीलाई पराजित गरी डिभिजन २ को विजेता बन्दै डिभिजन १ मा प्रवेश गरेको थियो । त्यतिखेर प्रतियोगितामा खेल्ने नेपाल दक्षिण एसियाबाट एक्लो टोली थियो । अस्ट्रेलियाली फुटबलको परिमार्जितस्वरुप हो ‘टच फुटी’ । विश्वभरबाट आएका अन्य मुलुक र समुदायलाई अस्ट्रेलियाली फुटबलमा सहभागिता जनाउन यसको सुरुआत भएको थियो ।
अस्ट्रेलियन फुटबल एसोसिएसन (एफआई) स्थापना गरी यो प्रतियोगिता आयोजना गर्दै आएको छ । ५० देशमा खेलिने दाबी गरिएको टच फुटीलाई २०४० को ओलम्पिकमा समावेश गर्दै प्रमुख खेल बनाउने लक्ष्यमा एफआईको छ ।
टच फुटीमा महिला र पुरुष दुवै खेलाडीले खेल्न पाउनेछन् । त्यसैले यसलाई ‘सबैको खेल’ पनि भनिन्छ । भिक्टोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले नेपाली टोली निर्माण गरेको हो । एफआईका प्रमुख कार्यकारी अधिकृत ब्रायन क्लार्कले आइतबार नेपालको प्रशिक्षणमा सहयोग गरेका थिए ।
नेपाली टोलीमा रोशन कँडेल कप्तान, जेम्स थापा उपकप्तान, विशिष दुरा, आदर्श पौडेल, रञ्जन कँडेल, निश्चल अर्याल, प्रेरणा मल्ल, हिरामती मगर, प्रज्ञा दाहाल, सुरज श्रेष्ठ, प्रमोद घिमिरे र स्वजन कार्की खेलाडीका रूपमा छन् । प्रशिक्षकमा ससेन्द्र केसी, व्यवस्थापकमा बबी लामा र संयोजकमा दीप चन्द छन् ।
‘नेपालको टोली निर्माण र दोस्रो पुस्ताका नेपालीसम्म यो खेल पुर्याउन न्याभले जुन भूमिका खेलेको छ, त्यो सुरुआती चरणमा छ । यसले हाम्रो देशको चिनारी माथि उकास्न पक्कै पनि मद्दत गर्नेछ,’ नेपाली टोलीको जर्सी अनावरण कार्यक्रममा प्रशिक्षक ससेन्द्रले भने, ‘हामी मनोरन्जनका लागि यो खेल खेलिरहेका छैनौं, हामी भविष्यको अर्को पुस्ताका लागि खेलिरहेका छौं ।’
उनकै कप्तानीमा नेपालले गत वर्ष यो उपाधि जितेको थियो । अहिले प्रशिक्षकको भूमिका दिएकामा उनले न्याभलाई धन्यवाद दिए । तयारी छोटो भए पनि, सन्तुलित टोली, खेल योजना भएकाले नेपालले राम्रो खेल्दै इतिहास रच्ने उनको विश्वास छ । गत वर्ष नेपालले एउटा पनि खेल जित्दैन भनेर अड्कल गरिरहेकामा आफूहरूले उपाधि जितेर देखाइदिएको स्मरण गर्दै कप्तान रोशनले यसपालि अन्य टोलीले निगरानीमा राख्नुपर्ने भएकाले सचेत हुनुपर्ने जनाए ।
नेपाली टोलीलाई ग्रेस इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले सहयोग गरेको छ । ग्रेसका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेल, न्याभका अध्यक्ष प्रेमराज उप्रेती, उपाध्यक्ष ललिसा थापा, जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष विनितराज शर्मा, म्याक्सीम्याक्स मिडिया सीईओ शंकर धरेल, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी यशवन्त सुवेदीले नेपाली टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिए ।
‘फुटी अस्ट्रेलियाली जीवनको एउटा पद्धति हो, यस खेलले नेपालीहरूलाई घुलमिल गर्न र आफ्नो पहिचान देखाउनलाई मद्दत गर्छ,’ न्याभका अध्यक्ष उप्रेतीले भने, ‘महिला र पुरुष दुबै सँगै खेलिने भएकाले यसले नेपाली समाजमा समानताको दृष्टिलाई फराकिलो बनाउन सहयोग गर्नेछ ।’
प्रकाशित : चैत्र ६, २०७९ २०:५१