कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जलवायु परिवर्तन अझै राष्ट्रिय प्राथमिकताको विषय हुन नसकेको गुनासो

जलवायु परिवर्तन अझै राष्ट्रिय प्राथमिकताको विषय हुन नसकेको गुनासो

काठमाडौँ — जलवायु परिवर्तनको विषय राष्ट्रिय प्राथमिकताको विषय अझै हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण क्षति भएको, असर परेको विषयले चर्चा पाउने गरेपनि राष्ट्रिय प्राथमिकतामा अझै पर्न नसेकेको बताएका हुन् ।

राजधानीमा शुक्रबार 'जलवायु न्याय र महिला' विषयमा भएको संवाद कार्यक्रममा बोल्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जोन हृोल्मोले स्थानीय स्तरमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरु अझै आउन नसकेको बताए । नीति तथा योजना निर्माण गर्दा जलवायु परिवर्तनले पारेको असरको सामना गर्न यस्ता कार्यहरु गरिने छ भनेर उल्लेख नगरिएको उनको गुनासो थियो ।

‘काठमाडौंलाई पानी खुवाउने मेलम्चीमा मेरो गाउँपालिकाभित्र पर्छ । हेलम्बुमा त्यत्रो बाढी आयो । जलवायु परिवर्तनका कारणले भने तर आजको मितिसम्म गाउँपालिकालाई सरकारले सहयोग नै गरेन,’ उनले भने, ‘जलवायु परिवर्तनको असर यस्तो हुन्छ उस्तो हुन्छ भनेर ठूला ठूला बैठक र सम्मेलन गर्ने तर समस्या भएको ठाउँमा बजेट नै नखन्याउने ? राष्ट्रिय प्राथमिकताको भित्रमा यो विषय अझै पर्न सकेन । ’

सोलुखुम्बुका सांसद मानवीर राईले पनि जलवायु परिवर्तनका असरहरु हिमाली क्षेत्रमा देखिन थालेको बताउँदै उनले सबैको ध्यान त्यसतर्फ जानुपर्ने बताए । ‘संसारको ध्यान तान्ने सगरमाथाको जिल्ला सोलखुम्बुमा अहिले हिउँ पर्न छाडिसक्यो । समयमा न हिउँ पर्छ न त बाली नै फस्टाउँछ,’ राईले भने, ‘अरुले उत्सजर्न गरेर तापक्रम वृद्धि भएको छ । अब क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ । ’

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रेवतीरमण पौडेलले जलवायु परिवर्तनको मुख्य चुनौती नै नीति कार्यान्वयन गर्ने रहेको बताए । नीतिहरु बनाए पनि कार्यान्वयन पक्ष फितलो भएको उनको भनाइ छ । यस्तै, ठूला ठूला होटलमा सभा/सम्मेलन गरेर गरिने जलवायु परिवर्तन सम्बन्धीका छलफलले कुनै नतिजा नदिने भएकाले प्रभावित क्षेत्रमा जानु पर्नेमा उनले जोड दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पाले पनि जलवायु परिवर्तनको असर हिमाली क्षेत्रहरुमा देखिँदै गएको बताइन् । उनले पर्यापर्यटनमा निर्भर अर्थतन्त्रमा असर पारेको उनको भनाइ छ ।

सांसद एवं पूर्वमन्त्री विमला राई पौड्यालले जलवायु परिवर्तनको असर सबै क्षेत्रमा परे पनि कृषिमा त्यसको प्रभाव धेरै नै देखिने गरेको बताइन् । उनले नीति निर्माण तहहरुमा गरिनुपर्ने सुधार तथा कार्यान्वयनका पक्षमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन् ।

सहभागीहरुले बाढी, पहिरोलगायत विभिन्न प्राकृतिक विपत्तिका घटनाहरुलाई जलवायु परिवर्तन जोडिने गरे पनि पर्याप्त अध्ययनबिना नै हुने गरेको टिप्पणी गरे ।

कार्यक्रममा यूएईका राजदूत अब्दुल्लाह अल साम्सीले आफ्नो मुलुकले जलवायु परिवर्तनको असरसँग लड्नका लागि गरेका चालेका कदमहरुको बारेमा जानकारी गराए । उनले महिला सहभागिताको कुरा उठाएका थिए । कोप-२८ को आयोजक राष्ट्र यूएई भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावसँग जुध्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा साथसाथै फाउन्डेशनले महिला दिवसको अवसर पारेर यही मार्च १० तारिखमा खुम्बु क्षेत्रको कलापत्थरमा गरिएको कार्यक्रमको बारेमा समेत जानकारी गराएको थियो । संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण महिलाहरुलाई पारेको असरबारे ध्यानाकर्षण गराउनका लागि गत वर्षदेखि खुम्बु क्षेत्रमा महिला दिवस मनाइँदै आएको बताइन् ।

जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा साथसाथै फाउन्डेशनले प्यानल छलफल चलाएको थियो । सो छलफलमा सहभागीहरुले अनुसन्धानमा जोड दिएका थिए ।

प्रकाशित : चैत्र ३, २०७९ २१:५२
x
×