यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो [मन्त्रिपरिषद्का निर्णयहरु]- समाचार - कान्तिपुर समाचार

यतीको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थपियो [मन्त्रिपरिषद्का निर्णयहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको छ । मन्त्रिपरिषद्‌‌को मंगलबार बसेको बैठकले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइन एनएएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज ११ बजेतिर पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।

यस्तै बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

२०७९ फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय :

– पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने ।

– नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने ।

– नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने ।

– तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने ।

– रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने ।

– यती एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने ।

प्रकाशित : चैत्र १, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्

सामसङले ल्यायो एम- ४ स्मार्टफोन, दराजबाट प्रिअर्डर गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ एम सिरिजअन्तर्गतको ग्यालेक्सी एम- ४ स्मार्टफोनको प्रिअर्डर अनलाइन बजार दराजमार्फत खुलेको छ ।  फोनमा ४ जीबी र्‍याम प्लसका साथ ८ जीबीसम्म क्षमता बढाउन सकिने विशेषता उपलब्ध छ । र्‍याम प्लसले प्रयोगकर्तालाई आवश्यकता बमोजिम र्‍यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ ।

यसमा १ टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकोले प्रयोगकर्ताले स्टोरेजको चिन्ता लिन नपर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार फोनमा मिडिया टेक हेलियो पी- ३५ प्रोसेसर जडित छ, जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ । 'प्रयोगकर्ताले यसमा परिस्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्न सक्ने छन्' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६ दशमलव ५ इन्च डिस्प्ले रहेको यो फोनमा ५ हजार एमएएच पावरकाे ब्याट्री जडान गरिएको छ । इन–बक्स चार्जरसहित फोन उपलब्ध रहेको कम्पनीले जनाएको छ । ४ जीबी प्लस ६४ जीबीको बजार मूल्य १५ हजार ९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीबीको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । हरियो र निलो रंगमा फोन उपलब्ध छ । हाल दराज एपमार्फत मात्रै प्रिअर्डर खुलेको सामसङले जनाएको छ ।


प्रकाशित : चैत्र १, २०७९ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×