कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

सबैभन्दा बढी धनुषाका मृतक शम्भु शाहको परिवारले १ करोड ७ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।
होम कार्की

काठमाडौँ — कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । नेपाली दूतावासका अनुसार अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लड्दै आएको हो । कुवेतमा एकजना पीडितलाई क्षतिपूर्ति दिलाउन  कम्तीमा दुई वर्षसम्म लाग्ने गर्छ ।

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

दूतावासका अनुसार कार्यस्थल र सडक दुर्घटनामा परी मृत्यु भएकाहरूले मात्रै बिमाबापत क्षतिपूर्ति दिने गरिएको छ । त्यसबाहेक मृतक कामदारको परिवारको संख्या हेरी पनि क्षतिपूर्ति रकम निर्धारण हुने दूतावासले जनाएको छ ।

सबैभन्दा बढी धनुषाका मृतक शम्भु शाहको परिवारले १ करोड ७ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यो रकम किस्ता-किस्तामा दूतावासमा जम्मा भएको थियो । सन् २०१५ सेप्टेम्बरमा काम गर्ने क्रममा उच्च स्थानबाट झरेर शाहको मृत्यु भएको थियो ।

खोटाङका पासाङ दोर्ची शेर्पाका परिवारले ९६ लाख ४२ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । १८ सेप्टेम्बर २०१८ मा बस दुर्घटनामा परी शेर्पाको मृत्यु भएको थियो । उनी कामबाट क्याम्पमा जानेक्रममा बस दुर्घटनामा परेको थिए ।

खोटाङका गंगाबहादुर गुर्वाछाने मगरले ८१ लाख ६८ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गंगाबहादुर काम गर्नेक्रममा घाइते भएका थिए । अस्पतालले गंगाबहादुरको शरीर ९९ प्रतिशत काम नलाग्ने र दीर्घकालसम्म हेरविचार गर्नुपर्ने रिपोर्ट दिएपछि अदालतले ८१ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको हो । गंगाबहादुर नेपाल आइसकेका छन् ।

त्यस्तै तनहुँका मृतक वीरबहादुर गुरुङका परिवारलाई ५९ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त भएको छ । उनको पनि कार्यस्थलमा नै मृत्यु भएको थियो । कास्कीका मृतक हरिबहादुर क्षेत्रीका परिवारले ३३ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । सुनसरीका मृतक पदमबहादुर मगरको परिवारलाई ३४ लाख ९२ हजार रुपैयाँ क्षतिपूर्ति दिइएको दूतावासले जनाएकफ छ । रामेछापका मृतक राजकुमारी सुनुवारको परिवारलाई २८ लाख ७० हजार रुपैयाँ दिइएको छ ।

दूतावासले क्षतिपूर्ति रकम परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाएको छ । जिल्ला प्रशासन कार्यालयले क्षतिपूर्ति रकम हकवाला व्यक्तिलाई दिने दूतावासले जनाएको छ । कुवेतमा सुतेको सुत्यै अवस्थामा मृत्यु भएका कामदारलाई भने क्षतिपूर्ति रकम दिइँदैन। पछिल्लो तीन वर्षमा कुवेतमा ७ महिलासहित १४४ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ५ जना मात्रै कार्यस्थलमा मृत्यु भएका थिए ।

प्रकाशित : चैत्र १, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?