कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । योसँगै प्रतिनिधिसभामा उनी निर्वाचित तनहुँ १ को सिट रिक्त भएको छ । उनले राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधिसभाको सिटबाट राजीनामा गरेका छन् ।

तनहुँ १ मा कहिले होला उपनिर्वाचन ?

राष्ट्रपति निर्वाचित भएपछि पौडेल प्रतिनिधिसभा सदस्य भएको तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले वैशाख १० गतेका लागि चितवन २ मा पनि उपनिर्वाचन मिति तोकेको छ भने सोही दिन तनहुँ पनि उपनिर्वाचन गर्ने तयारी गरेको छ । उपराष्ट्रपतिमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सदस्य पनि चुनिने सम्भावना ख्याल गर्दै आयोगले त्यसरी रिक्त हुने पदमा पनि वैशाख १० मा नै उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको सर्वोच्चको फैसलासँगै उक्त क्षेत्र रिक्त भएको थियो । उक्त क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन गर्ने घोषणा आयोगले यसअघि नै गरिसकेको छ ।

तनहुँ १ को सिट पनि सोमबारबाट औपचारिक रूपमा रिक्त भएको हो । चालु आर्थिक वर्ष २०७९/०८० भित्र खाली हुने पदहरूमा हुने चुनावका लागि आयोगले केही नीतिगत निर्णय यसअघि नै गरिसकेकाले अब एक महिनाको तयारीमा नै उपचुनाव गर्नसकिने आयोगका अधिकारीले बताएका छन् ।

'चालु आर्थिक वर्षभित्र चुनावद्वारा पुर्ति भएर रिक्त हुने पदहरूमा चुनाव गर्नका लागि नीतिगत रूपमा आयोगले मतदाता नामावलीबारे निर्णय गरिसकेको छ । उक्त निर्णयमा चालु आर्थिक वर्षभित्र खाली हुने पदहरूमा हुने निर्वाचनमा अहिले भएको मतदाता नामावलीलाई नै मान्यता दिने आयोगले नीतिगत निर्णय गरिसकेको छ,' ती अधिकारीले भने, 'उपराष्ट्रपतिको निर्वाचनपछि संसद्बाट स्थान रिक्तताको सूचना प्राप्त हुने र त्यसपछि निर्वाचनको मिति तय हुनेछ ।'

उपराष्ट्रपतिको निर्वाचनपछि पनि प्रतिनिधिसभा सदस्यको स्थान रिक्त हुने सम्भावनालाई ख्याल गरेर आयोगले अहिले नै कुनै औपचारिक निर्णय गरेको छैन । यसबारे सार्वजनिक रूपमा आयोगका अधिकारीले औपचारिक रूपमा कुनै अभिव्यक्ति दिन चाहेका छैनन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ । उपराष्ट्रपतिको पदका लागि बारा २ बाट निर्वाचित जनता समाजवादीका सांसद रामसहायप्रसाद यादव पनि उम्मेदवार छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार छन् । यसअघि राष्ट्रपतिमा पौडेले पनि सत्तारुढ गठबन्धनबाट नै निर्वाचित भएका थिए । सोही अवस्था कायमै रही उनी निर्वाचित भएमा बारा २ को प्रतिनिधिसभा सदस्य सिट रिक्त हुनेछ ।

चुनाव गर्नका लागि न्यूनतम १ सय २० दिन चाहिने भएपनि उपनिर्वाचनको तयारी १ महिनामा नै गर्न सकिने आयोगका अधिकारीले बताएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २०८० वैशाख १० मा उपनिर्वाचनको मिति घोषणा गरिएको छ । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि वैशाख १० आउन १ महिनाभन्दा बढी समय रहने भएकाले उपनिर्वाचन तयारीका लागि पर्याप्त समय हुने आयोगका ती अधिकारीले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?