प्रमिलाकुमारी यादवको उपराष्ट्रपति उम्मेदवारी फिर्ता गराउने तयारी

जसपा अध्यक्ष उपेन्द्र यादवले बोलाए नेताहरूको बैठक

फाल्गुन २८, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीले प्रमिलाकुमारी यादवको उपराष्ट्रपति पदको उम्मेदवारी फिर्ता गराउने तयारी गरेको छ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहेपछि प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता गराउने तयारी भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो १ बजे पार्टीका नेताहरूलाई बैठकमा बोलाएका छन् । प्रमिलाकुमारीको उम्मेदवारी फिर्ता गराउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । जसपा सांसद प्रदीप यादवका अनुसार सोही बैठकबाट उम्मेदवारीबारे छलफल हुने बताए । 'उम्मेदवारीबारे पार्टीमा छलफल गर्छौं र निर्णय गर्छौं । आन्तरिक बैठक बोलाइएको छ । प्रमिलाजीको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल भइरहेको छ,' उनले भने ।

निर्वाचन आयोगको निर्णयका कारण पुरुष उम्मेदवार हुन नपाउने हो कि भन्ने आशंकामा जसपाले रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने समय निर्वाचन अधिकृतको कार्यालयले आइतबार १ बजेदेखि ४ बजेसम्म निर्धारण गरेको छ । उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतबाट ममता झा पनि उम्मेदवार छन् भने जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला कुमारी उम्मेदवार बनेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।

कान्तिपुर

Link copied successfully