एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । 

एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । परराष्ट्रमन्त्री बिमला राई पौड्यालले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई पार्टीबाट मन्त्री भएका सबै जनाले राजीनामापत्र बुझाएको बताइन् । 'भर्खरै हामी सबैजनाले राजीनामापत्र प्रधानमन्त्रीलाई बुझाएका छौं,' उनले भनिन् ।

दाहाल मन्त्रिपरिषद्‍मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको मा‌ओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

प्रकाशित : फाल्गुन १५, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच स्ववियु चुनावमा तालमेल

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादी केन्द्रको अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ । स्ववियु निर्वाचनपछि दुवै संगठनबीच एकता गर्ने तयारीसहित तालमेल भएको क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।

अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनबीच सोमबार काठमाडौंमा तीन बुँदे सहमति भएको हो । दुवै संगठनबीच भएको सहमतिपत्रमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयसहित मुलुकका विभिन्न विश्वविद्यालयमा आगामी चैत महिनाको पहिलो साता स्ववियु निर्वाचन हुँदैछ । चैत ५ मा त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय, चैत ३ मा मध्यपश्चिम र चैत ८ मा सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचनमा दुवै संगठनले एउटै प्यानल बनाउने सहमति भएको छ । समानुपातिक बन्दसूची पनि एउटै बुझाउने सहमतिपत्रमा उल्लेख छ । संगठनहरूबीच एकताका लागि कार्यदल पनि गठन गरिएको छ । कार्यदलमा क्रान्तिकारीका महासचिव दपेश पुन र समाजवादी विद्यार्थी युनियनका महासचिव टंक धमला रहेका छन् ।


प्रकाशित : फाल्गुन १५, २०७९ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×