१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘गठबन्धनले मतदाताको अधिकार प्रभावित’

कान्तिपुर संवाददाता

काठमाडौँ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचनअघि नै गठबन्धन बनाउने प्रचलनले मतदाताको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने र बहुदलीय प्रतिस्पर्धा गर्ने वातावरणलाई प्रभावित बनाएको निष्कर्ष निकालेको छ ।

‘गठबन्धनले मतदाताको अधिकार प्रभावित’

इन्सेकले तयार पारेको मानवअधिकार वर्ष पुस्तक २०२२ मा निर्वाचनलाई जसरी पनि सत्ता हत्याउने माध्यम बनाइँदा आमजनताको सरोकार ओझेलमा परेको उल्लेख छ ।

‘निर्वाचनअघि नै गठबन्धन बनाउने प्रचलनले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकार र बहुदलीय प्रतिस्पर्धाको वातावरण प्रभावित हुने विषयमा व्यापक विमर्श आवश्यक छ,’ इन्सेकले तयार पारेको पुस्तकमा भनिएको छ, ‘निर्वाचनलाई जसरी पनि सत्ता हत्याउने माध्यम बनाइँदा आमजनताका सरोकारका विषय ओझेलमा पर्न सक्छन्, बहुदलीय प्रतिस्पर्धाबाट सुशासन सुनिश्चित गर्ने संविधानको ध्येयसमेत प्रभावित हुन सक्छ ।’

निर्वाचन प्रक्रियालाई अझ विश्वसनीय र पारदर्शी बनाउँदै साधनस्रोत तथा शक्तिको प्रभावबाट मुक्त गरी स्वच्छ प्रतिस्पर्धालाई सुनिश्चित गर्नसमेत इन्सेकले आह्वान गरेको छ । पुस्तकमा तीनै तहको निर्वाचनका क्रममा राज्य पक्षबाट २ र अन्य पक्षबाट १ गरी ३ जनाको हत्या भएको जनाइएको छ । त्यसैगरी निर्वाचनका क्रममा राज्य पक्षबाट भएका १८ घटनामा ७३ जना र अन्य पक्षबाट भएका १ सय २४ घटनामा ३ सय ३ जना पीडित भएको उल्लेख छ ।

‘आर्थिक पारदर्शिता, जनसहभागिताको नीति तथा अभ्यासमा उपलब्ध स्वतन्त्रता, जनचेतनाको स्तर, विधिको शासन तथा राजनीतिक नेतृत्वमा भएको विविधताले निर्वाचनको स्वच्छता संकेत गर्छन्, अपराधको राजनीतीकरण र नियन्त्रित प्रतिस्पर्धाले जनप्रतिनिधित्वको मर्म स्खलित हुँदै जान्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रकारान्तरले निर्वाचनहरू आवरणमा लोकतन्त्रको पर्याय भए पनि राजनीतिक दुष्कर्मका परिणामले बदनाम हुन्छन् ।’

इन्सेकले २०२२ वर्षभरमा ७ हजार ३ सय ७६ जनाको मानवअधिकार उल्लंघनको घटनामा पीडित भएको जनाएको छ । जसमा हत्या, घाइते बनाउने, यातना दिने, महिला तथा बालबालिकाको अधिकार उल्लंघन, यातना दिइएको, अपहरणमा परेकोसहितका घटनामा मानवअधिकार उल्लंघन भएको इन्सेकले अभिलेखीकरण गरेको छ ।

३ सय ३२ जनाको हत्या भएको इन्सेकले जनाएको छ । यसअघिको वर्षमा ३ सय ४२, २०२० मा ३ सय ५०, २०१९ मा ३ सय ५०, सन् २०१९ मा ३ सय ५८ मा, सन् २०१८ मा ३ सय २८ जना र सन् २०१७ मा २ सय ५५ जनाको नेपालमा हत्या भएको थियो ।

त्यसैगरी २ सय ५६ जना घाइते भएको, ३५ जना अपहरणमा परेको, ८१ जना गैरकानुनी रूपमा गिरफ्तारी भएको, ४ सय ४८ कुटपिटमा परेको, बालअधिकार उल्लंघनको घटनामा १४ सय ५३ जना पीडित भएको जनाएको छ । बालअधिकार उल्लंघनमा पर्ने अधिकांश बालिका छन् । ४ जनाको हिरासतमा मृत्यु भएको, २५ जनामाथि अमानवीय व्यवहार भएको, २२ जना जातीय विभेदमा परेको, ४ सय ५ जनाको अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार खोसिएको, २७ जनालाई धम्क्याइएको, ५ जनालाई यातना दिएको, ४ हजार २ सय २७ जना महिलाको अधिकार उल्लंघन भएको, ५३ जनाको कारागारमा मृत्यु भएको, २ जनालाई बेपत्ता पारिएको इन्सेकले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?