२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शक्तिको ओतमा सधैं पुलपुलिएका प्रसाईं

माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग निर्बाध पहुँच बनाएका प्रसाईं तत्कालीन नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबा भन्दै नजिकिएर पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए, पछिल्लो समय उनी राजालाई सडकमै उतारेर राजतन्त्र पुनःस्थापनाको अभियानमा लागेका छन्
मणि दाहाल

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै खाना खाएको तस्बिर २०७४ फागुन ६ मा सार्वजनिक भएपछि दुर्गा प्रसाईं राष्ट्रिय राजनीतिको चर्चामा आएका थिए । त्यसअघिसम्म उनको परिचय मेडिकल कलेजको सम्बन्धनका लागि दौडधुप गरिरहेको एउटा व्यापारीको थियो ।

शक्तिको ओतमा सधैं पुलपुलिएका प्रसाईं

भक्तपुरस्थित निवासमा ओली–दाहाल ‘लन्च मिटिङ’ पछि उनको परिचय फेरियो । उनी ‘मार्सी’ नामले बढी चिनिन थाले । २०७४ फागुन ४ मा ओली संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको प्रधानमन्त्री नियुक्त भएपछि उनलाई समर्थन गरे पनि माओवादीले मन्त्री पठाएको थिएन । प्रसाईंकै निवासमा भएको बैठकपछि माओवादीले आफ्ना मन्त्रीको नाम पठाएको थियो ।

माओवादीको कुनै कमिटीमा नभए पनि प्रसाईंको दाहालसँग निर्बाध पहुँच थियो । उनले दाहालको परिवारलाई गरेको आर्थिक सहयोग र किनिदिएको सामानको विषयमा सार्वजनिक रूपमै टिप्पणी गर्दै आएका छन् । दाहाल झापा जाँदा अधिकांश समय प्रसाईंको व्यवस्थापनमा बस्थे ।

ओलीको ४० महिने शासन अवधिमा प्रसाईंको निकटता परिवर्तन भयो । नेकपाभित्र विवाद चर्किंदा दाहालमाथि चर्को स्वरमा खनिनेमा प्रसाईं अग्रपंक्तिमा थिए । सर्वोच्च अदालतको फैसलापछि पनि उनी माओवादीमा फर्किएनन्, एमालेमै बसे ।

अध्यक्ष ओलीलाई ‘हजुरबा’ भन्ने गरेका प्रसाईं एमालेको कुनै पदमा नभए पनि सबैतिर निर्बाध सक्रियता थियो । कतिसम्म भने पार्टीको सदस्य नबन्दै एमालेको २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा उनी प्रतिनिधि बनेका थिए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गर्दै उनले एमाले प्रवेश गरेको घोषणा गरेका थिए ।

चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा उनले आफ्नो जयजयकार गर्न युवाको टोली परिचालन गरेका थिए । महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहन्थे तर अनुकूल भएन । पछि केन्द्रीय सदस्यमा मनोनीत प्रसाईंले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखको भूमिका पाएका थिए ।

मंसिरमा भएको निर्वाचनपछि भने प्रसाईंको सक्रियता परिवर्तन भएको छ । उनले राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेका छन् । उनले गत सोमबार झापाको काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् । परिवारसहित झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले महाअभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वयुवराज पारस, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वशाहाज्यादी सीताष्मा उपस्थित थिए ।

माओवादी सशस्त्र विद्रोहको समयमा ६ महिना सैनिक हिरासतमा परेका प्रसाईंको छवि विवादास्पद रहँदै आएको छ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा ज्ञापनपत्र बुझाउन शुक्रबार बिहान बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसाईंको अभियान एमाले अध्यक्ष ओलीकै आडमा भएको संकेत गरेका थिए । ‘बाहिर हेर्दा प्रसाईं देखिएका हुन्, खासमा यो एमालेकै अध्यक्षको अभियान हो भन्ने दाहालको धारणा थियो,’ प्रतिनिधिमण्डलका एक सदस्यले भने ।

दाहालले ओलीनिकट भनेर टिप्पणी गरेका प्रसाईंको पहिलो निकटता प्रधानमन्त्री दाहालसँगै थियो । अन्य नेतासँग पनि उनको निकट सम्बन्ध रहने गरेको छ । सधैं बोली फेरिरहने र युट्युबका अन्तर्वार्तामा चर्का टिप्पणी गर्ने उनी समय–समयमा फरक–फरक नेताहरूको दाहिना हुने गरेका छन् । ‘२–३ वर्षदेखि हेर्दा प्रसाईंले संगतिपूर्ण कुरा गरेको देखिँदैन, उत्तेजनामा कुरा गर्ने र उद्दण्डता देखाउने गरेका छन्, उनी आफ्नै सेना बनाएर सञ्चालन गर्ने स्वभावका हुन्,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘प्रसाईंले सबैलाई उल्लु बनाएको देखिन्छ । उनको शक्तिको स्रोत भनेको पैसा नै हो ।’

झापामा सोमबार आयोजित कार्यक्रममा प्रसाईंले राजनीतिक दलका शीर्ष नेताहरूसँगको निकटताबारे खुलाएका थिए । कार्यक्रममा पूर्वराजालाई ल्याउन नसक्ने भन्दै आफूविरुद्ध टिप्पणी गरे पनि ल्याएर देखाएको उनले बताएका थिए । राजनीतिक विश्लेषक डम्बर खतिवडाले प्रसाईंजस्ता व्यक्ति पैसाका कारण नेताहरूको नजिक पुगेको बताउँछन् । ‘यो गरिब मुलुकको दुर्भाग्य हो, राम्रो प्रणाली प्रजातन्त्र अपनायौं तर त्यसलाई दिगो बनाउनका लागि त्यसमा राजनीतिक दलले संगठन परिचालन गर्न, चुनाव लड्न र कार्यक्रम आयोजना गर्न पैसा चाहिन्छ, त्यस्तै समयमा दुर्गा प्रसाईंजस्ता नवधनाढ्य नजिक हुन्छन्,’ उनले भने, ‘उनमा पनि नवधनाढ्यको चरित्र देखिन्छ ।’

बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि देशको थिति बिग्रिएको दाबी गर्दै देशका विभिन्न स्थानमा कार्यक्रम गरेर फागुन २० मा राजधानीमा कार्यक्रम गर्ने घोषणा गरेका प्रसाईंले महिनौंसम्म काठमाडौं ठप्प पार्ने र सत्ता परिवर्तन गर्ने घोषणा गरेका छन् । ‘कोरोनाकालमा सात महिना बन्द गरेको जस्तै काठमाडौंलाई एक महिना बन्द गर्ने हो भने यो व्यवस्था परिवर्तन गर्न सकिन्छ,’ उनले भने, ‘हामी २०४६ सालअघि पुग्नु छ । २०४६ सालमै फर्किनुपर्छ, त्यहींबाट मिस्टेक भएको छ ।’ उनले फागुन ७ मा भैरहवा, फागुन १० मा धनगढी, फागुन १३ मा चितवनमा कार्यक्रम गर्ने र फागुन २० देखि काठमाडौंमा आन्दोलन गर्ने बताएका छन् ।

उनले निजी क्षेत्रका बैंकबाट पैसा निकालेर सरकारीमा राख्ने तर कारोबार नगर्ने, सामान आयात नगर्ने, मालपोत तथा राजस्व पनि नतिर्ने अभियान हुने बताए । ‘म केही दिनमा बाहिर (विदेश) जाँदै छु, रेमिट्यान्स पनि नपठाउन आग्रह गर्नेछु,’ उनको घोषणा थियो ।

बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब रुपैयाँ ऋण लिएको सार्वजनिक गरेका उनले तिनका कर्मचारीलाई लक्षित गर्दै आक्रमण गर्ने घोषणा गरेका छन् । जसका लागि झापामा २ सय १ सदस्यीय युवा दस्ता पनि उनले तयार पारेका छन् । जसमा २०–२१ वर्षका युवा रहेको उनले बताएका थिए । ‘अब लघुवित्तको मानिस आए भने च्याप्प समाउने, मोसो दलिहाल्ने, बैंकका मानिसलाई बैंकबाहिर मोसो दल्ने, भित्र पसे डाँका मुद्दा लागिहाल्छ,’ उनले भीडलाई उचाल्दै भनेका थिए, ‘मोसो दल्दा केही समस्या पर्दैन । जम्मा ५ दिन लगेर हिरासतमा राख्छ ।’ उनले २० लाखभन्दा कम हुनेको ऋण मिनाहा गर्नुपर्ने र २० लाखभन्दा बढी ऋण ६ प्रतिशतभन्दा धेरै ब्याजदरमा लिन नहुने बताएका छन् ।

झापाको बिर्तामोडमा बीएन्डसी र क्यान्सर अस्पताल सञ्चालन गर्दै आएका प्रसाईंले सोमबारको कार्यक्रममा असार महिनासम्मको ब्याज भुक्तानी गरिसकेकाले आफूलाई बैंकले कारबाही गर्न नसक्ने बताएका थिए । उनले विभिन्न सामाजिक काममा सक्रिय रहेका व्यक्ति र पूर्वन्यायाधीशहरूले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारी मासेको टिप्पणी गरेका थिए । चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गरेका डा.गोविन्द केसीलाई सहयोग गरेको भन्दै नागरिक समाजका अगुवाप्रति पनि उनी खनिएका थिए ।

उनी विगतमा पनि बैंकको ऋणका विषयमा विवादमा पर्दै आएका हुन् । पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरेका उनको होटलदेखि मिडिया क्षेत्रसम्म करोडौं लगानी छ । भक्तपुरमा उनले केही समयअघि दुई अर्ब लगानीमा तरकारी बजार खोलेका थिए । उनले करिब १० करोड रुपैयाँ हुन्डीमार्फत दुबई पठाएर कम्पनी सञ्चालन गरेको समाचार केही समयअघि बाहिरिएको थियो ।

जग्गाधनी पुर्जा किर्ते गरेको आरोप पनि उनीमाथि छ । उनले हुँदै नभएको जमिनको धनीपुर्जा सरकारी निकायमा पेस गरेर टिचिङ अस्पताल खोल्ने अनुमति लिएका थिए । सुरुमा उनको सम्पत्तिसम्बन्धी विवाद ससुराली पक्षसँग रहेको थियो । संवैधानिक हिन्दु अधिराज्यको विषयलाई राजनीतिक एजेन्डा बनाउँदै आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति उनले कटाक्ष गरेका थिए । लिङ्देनले आफ्नो कार्यक्रममा सहभागी हुन मानिसलाई रोकेको भन्दै उनले आलोचना पनि गरेका थिए ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपालाई गाली गरेर राजसंस्था पुनःस्थापना हुन्छ भन्नु हास्यास्पद रहेको बताए । ‘कठिन समयमा पनि राजसंस्थालाई बोकेर सडक र सदन दुवैमा हिँडेको शक्ति राप्रपा मात्रै हो, त्यो पार्टी नेतृत्वलाई गाली गरेर राजसंस्था पुनःस्थापना हुन्छ भन्नु हास्यास्पद हो,’ श्रेष्ठले भने, ‘विगतमा यस्ता तत्त्व धेरै आए । उनीहरू बाथरुममा राखेको ओडोनिल जस्तै हुन् । केही समय मगमगाए जस्तो हुन्छ, कति खेर सकिन्छ ठेगानै हुन्न ।’

झापाको कार्यक्रममा राप्रपाका एक जना प्रवक्ता सुगन लावती भने सहभागी भएका थिए । पुराना पञ्चनेताहरू केशरबहादुर विष्ट, रामकुमार लिम्बू र सिनेट श्रेष्ठ पनि गएका थिए । प्रसाईंको अभियानको प्रवक्ता लामो समय अमेरिका बसेर फर्किएकी सञ्चारकर्मी रमा सिंह रहेकी छन् ।

‘दुर्गा प्रसाईं भनेको एमालेका केन्द्रीय सदस्य हुन्, उनले त्यो पार्टी छाडेका छैनन्, न त पार्टीले कारबाही नै गरेको छ, यसमा एमालेको दृष्टिकोण के हो ?’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठको प्रश्न छ, ‘उनको एमालेप्रतिको आबद्धता के हो ?’

यसैबीच एमालेको प्रदेश १ कमिटीले प्रसाईंलाई कारबाही गर्न शुक्रबार केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?