संघीय सरकारको २० प्रतिशत बजेट कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय सरकारको २० प्रतिशत बजेट कटौती गर्ने अर्थ मन्त्रालयको निर्णय

इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सूचना प्रणाली लगायत १९ क्षेत्रमा खर्च कटौती गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थ मन्त्रालयले संघीय सरकारको बजेटमा २० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै संघीय सरकारको सबै मन्त्रालय र निकायहरुको स्वीकृत बजेटबाट २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनागत सुधार तथा पुँजीगत सुधार खर्च लगायत शीर्षकमा खर्च कटौती गर्ने जनाएको हो ।

विनियोजित बजेटमा बाँकी रहेकोमध्ये तत्काल लागू हुने गरी २० प्रतिशत खर्च कटौती गरिएको छ । कोभिड महामारीको असर, युक्रेन-रुस युद्ध तथा अन्य विविध कारणबाट विश्वव्यापी रुपमा आपूर्ति श्रृङ्खलामा परेको प्रतिकुल प्रभाव र विभिन्न १२ क्षेत्रमा परेको चाप व्यवस्थापन गर्न पूर्ण बन्देजको निर्माणपछि देशभित्रको आर्थिक गतिविधि संकुचन हुन गएकाले यस्तो निर्णय गर्नुपरेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पुस ११ गते बसेको मन्त्रिपरिषद्‍को पहिलो बैठकले सरकारी खर्चमा कटौती गर्ने प्रस्ताव पारित गरे पनि कुन कुन क्षेत्रमा कटौती हुने भन्ने विषयमा मंगलबार अर्थमन्त्रालयले निर्णय गरेको हो ।


प्रकाशित : माघ १७, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय प्रक्रिया बुझाउन सांसदलाई प्रशिक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई संसदीय प्रक्रियाको जानकारी दिन दुई दिन तालिम दिने भएको छ । सचिवालयले सांसदहरुलाई आचारसंहिता, संसदीय मर्यादा, कानुन निर्माण प्रक्रिया, सार्वजनिक नीति, सचिवालयबाट पाउने सुविधा र सांगठनिक स्वरुपको बारेमा जानकारी दिन लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहीबार र शुक्रबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये १ सय ४२ जना पहिलो पटक संसद्मा प्रवेश गरेकाले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको सचिवालयका सचिव रोजनाथ पाण्डेले बताए ।

बिहीबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा र सांसदको भूमिकामाथि प्रशिक्षण दिने छन् । त्यस्तै पूर्वउपसभामुख पुष्पा भुषालले संसदीय प्रक्रिया र अभ्यासको बारेमा कक्षा लिने छिन् । उनले सभामा शून्य र विशेष समयको सदुपयोग कसरी गर्ने ? प्रश्नोत्तर कार्यक्रम, सभामा प्रस्तुत हुने प्रस्ताव साथै निर्णय गर्ने प्रक्रियाबारे पनि जानकारी दिइने कार्यक्रम तय गरिएको छ ।

संविधानसभाका सदस्य खिमलाल देवकोटाले संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीको बारेमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । उनले संसदीय समितिको सैद्धान्तिक पक्ष, संसदीय निगरानी, समितिको कार्यक्षेत्र, समिति र सरकारबीचको अन्तरसम्बन्ध, समितिको प्रभावकारिता लगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम बनाएको सचिवायलले जनाएको छ ।

शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेट तर्जुमा, निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिकाबारे प्रशिक्षण दिने छन् । त्यस्तै कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले कानुन निर्माण प्रक्रियाको बारेमा जानकारी दिने छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले राष्ट्रिय नीति, सरकारका नीति तथा कार्यक्रम, नीति कार्यक्रम तथा बजेटको बारेमा जानकारी दिने कार्यक्रम राखेको छ । सचिव पाण्डेले सचिवालयको सांगठनिक संरचना र सेवा प्रवाहको जानकारी दिने छन् ।

प्रकाशित : माघ १७, २०७९ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×