प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाई तत्काल नदिने

गृह मन्त्रालय नदिने हो भने त सरकारमा पंगु बनाएर काम गर्न नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीलाई असफल बनाउने षडयन्त्र भएको हो कि भनेर हामीले हेर्नुपर्ने हुन्छ'- मुकुल ढकाल, रास्वपा प्रवक्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने भएका छन् । नागरिकताका कारण सांसद बन्ने योग्यता सर्वोच्चबाट गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन भनेर दबाब दिने र सरकारको सहयात्री एमालेमार्फत् पनि दबाब दिन थालेपछि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् । 

प्रधानमन्त्रीले गृह मन्त्रालय रास्वपालाई तत्काल नदिने

दाहालले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई नदिने निर्णय सुनाएका थिए । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सचिव गणेश साहले भने, ‘अहिले रवि लामिछानेबारे जुन सर्वोच्च अदालतको निर्णय छ, त्यसको पूर्णपाठ पनि अझै नआइसकेको अवस्थामा छ । गृहमन्त्रालय अहिले प्रधानमन्त्रीले नै हेर्नुहुन्छ । रवि लामिछानेमाथि सर्वोच्चको निर्णयको पूर्णपाठ नआइसकेको अवस्था छ । उहाँ अहिले सांसद रहनुभएन । त्यसैले गैरसांसदलाई मन्त्री बनाउँदाखेरी अरूपनि गैरसांसदहरूको मन्त्री बन्ने इच्छा व्यक्त हुनसक्छ । त्यसैले उहाँहरूको पूूर्णपाठ नआउन्जेलसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँ हेर्नुहुन्छ ।’

लामिछाने मंगलबार बिहानै प्रधामन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । त्यहाँ उनले आफूलाई ६ महिनाका लागि गैरसांसदका रूपमा गृहमन्त्री बनाउन माग गरेका थिए । गैर सांसद मन्त्री बन्ने संवैधानिक व्यवस्थाअनुसार नै आफूलाई गृहमन्त्रीमा फर्काउन उनको माग थियो ।

रास्वपाका महामन्त्री मुकुल ढकालले भने गृहमन्त्री यसअघि आफ्नो पार्टीको भागमा परेको र त्यसको पालना गर्दै तत्काल पार्टीबाट गृहमन्त्रीको नाम पठाउन माग गर्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए । त्यसो हुन नसकेमा राजनीतिक अवस्था सरकार बन्नु पहिलेकोमा जाने उनको भनाइ थियो । ‘हामी सरकारमा जाँदैगर्दा काम गर्ने वातावरण बनाउने सहमति भएर हामी सरकारमा गएको हो । जिम्मेवारी बाँडफाँटमा गृह मन्त्रालय हामीलाई परेको हो । आज गृहमन्त्रालय नदिने हो भने त हामीलाई सरकारमा पंगु बनाएर काम गर्न नदिने हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीलाई असफल बनाउने षडयन्त्र भएको हो कि भनेर पनि हेर्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रधानमन्त्रीले सरकार गठनताका भएको भागबण्डाका आधारमा रास्वपाबाट गृहमन्त्री बन्ने व्यक्तिको नाम माग्नुपर्ने ढकालको भनाइ थियो । प्रधानमन्त्रीले रास्वपाबाट कसलाई गृहमन्त्री बनाउने भन्नेमा चासो राख्न नहुने पनि उनको दाबी छ । ‘पहिला प्रधानमन्त्रीले नाम पठाउनुस् भन्नुपर्‍यो । कसलाई पठाउने भन्ने रास्वपाको निर्णयमा भर पर्‍यो । उहाँले नाम पठाउनुस् भनेपछि छलफल गरेर निर्णय गर्छौं । प्रधानमन्त्रीले यो वा त्यो व्यक्ति मन्त्री पठाउ भन्न मिल्दैन,’ उनले भने । रवि लामिछाने पनि गृहमन्त्री भएर जानसक्ने र अरु व्यक्तिलाई पनि पार्टीले पठाउन सक्ने ढकालको भनाइ छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका माओवादीका उपमहासचिव हरिबोल गजुरेलले भने रवि लामिछानेको मुद्दामा कानुनी र जनताको स्तरमा प्रश्न उठेकाले तत्कालै गृहमन्त्रीमा फर्काउने पक्षमा प्रधानमन्त्री दाहाल नरहेको बताए । ‘कानुनी प्रश्न उठिरहेको अवस्थामा जनस्तरमा चासो रहेको छ । उहाँहरूको पार्टीको बाध्यता होला । जनतासँग जोडिएको जनसरोकारको विषय पनि हो । अदालतले पूर्ण पाठ पनि दिएको छैन,’ उनले भने ।

लामिछानेले भने पार्टीका नेता र कार्यकर्ताहरूबाट दबाब आएकाले आफूलाई गृहमन्त्रीमा फर्काउन माग गरेका थिए । रास्वपाका प्रवक्तासमेत रहेका महामन्त्री ढकालले प्रधानमन्त्रीलाई तत्काल निर्णय गर्न पार्टीको तर्फबाट भनिएको बताए । ’हामीले प्रधानजमन्त्रीज्यूलाई छिटो निर्णय गर्नुपर्छ, १-२ दिनभित्र निर्णय गरिसक्नुपर्छ भनेका छौं,’ उनले भने ।

पार्टीलाई गृहमन्त्री नदिएको अवस्थामा केन्द्रीय समितिको बैठक आह्वान गरिने र सरकारबाट बाहिरिनेसम्मको निर्णय लिनसक्ने अवस्थामा पुगिएको पनि ढकालले बताए । केहीदिनभित्रै पछिल्लो राजनीतिको समीक्षा र आगामी योजनाबारे छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाउन लागेको बताइएको छ ।

प्रकाशित : माघ १७, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?