कांग्रेसप्रति आक्रामक एमाले- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसप्रति आक्रामक एमाले

राष्ट्रपतिमा आफ्ना उम्मेदवार निर्वाचित गराउने रणनीतिमा रहेका दुवै दल निर्णायक मतभार रहेको माओवादीलाई आफ्नो पक्षमा पार्ने कोसिसमा छन् 
मणि दाहाल

काठमाडौँ — माओवादीसँग निकटता बढाउन प्रयास गरिरहेको कांग्रेसप्रति प्रमुख सत्ता घटक एमाले झन् आक्रामक बनेको छ । नयाँ सरकार गठनअघिसम्म सहकार्यको विषयमा छलफलमा रहेका कांग्रेस र एमाले पछिल्लो समय एक–अर्काप्रति आक्रामक बनेका हुन् । 


दुई दलबीच खासगरी राष्ट्रपति निर्वाचनलाई लिएर द्वन्द्व सुरु भएको छ । फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनसम्म पुग्दा यो द्वन्द्व झनै बढ्ने देखिन्छ । दुवै दल राष्ट्रपतिमा आफूले चाहेको उम्मेदवार निर्वाचित गर्ने रणनीतिमा छन् । यसका लागि निर्णायक मतभार रहेको माओवादीलाई आफ्नो पक्षमा पार्ने कोसिसमा कांग्रेस र एमाले छन् ।

एमालेले सत्ता गठबन्धनमा सहमति भइसकेकाले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेसले प्रमुख सबै पद एमालेको पोल्टामा पुगे एकलौटी हुने भन्दै आफूले पाउनुपर्ने धारणा राख्दै आएको छ । एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफूले अघि सार्ने उम्मेदवारलाई माओवादीले सघाउने अपेक्षा लिएको छ । यसका लागि कांग्रेसले संवाद पनि अघि बढाएको छ ।

नयाँ सरकार गठन हुनुअघिसम्म एउटै गठबन्धनमा रहेका कांग्रेस र माओवादीबीच पछिल्लो समय बढ्दै गएको निकटताबाट एमाले नेताहरू झस्किएका छन् । पुस १० मा नयाँ समीकरण बन्नुअघिसम्म एमालेको आलोचनाको केन्द्रमा माओवादी अध्यक्ष दाहाल थिए । कांग्रेस भने गठबन्धन छाडेर गएको माओवादीभन्दा एमालेप्रति बढी आक्रोशित देखिएको छ । प्रदेश तथा अन्यत्र एमालेले उम्मेदवार उठाएका पदमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले माओवादीका उम्मेदवारलाई भने साथ दिइरहेको छ ।

पछिल्ला सबैजसो सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको चर्को आलोचना गर्दै आएका छन् । उनले कांग्रेस प्रमुख प्रतिपक्षी दल पनि बन्न नसकेको बताउने गरेका छन् । पुस २६ मा विश्वासको मत दिने बेला कांग्रेस सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले कांग्रेस सभापतिले डेमोक्रेसीको नयाँ परिभाषा बनाएको बताएका थिए ।

उनले विश्वासको मत दिएर कांग्रेसले माछा पार्न ‘ढोक्सा’ थाप्न लागेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री दाहालले माघ ३ मा बोलाएको सर्वदलीय बैठकमै एमाले अध्यक्ष ओली र कांग्रेस नेताहरूबीच भनाभन भएको थियो । माघ ११ मा एमाले स्कुल विभागले आयोजना गरेको कार्यक्रममा पनि ओलीले कांग्रेसको ध्यान सत्तामा मात्रै रहेको बताएका थिए । ‘कांग्रेसले देशका बारेमा चर्चा गर्न, चिन्ता गर्न आवश्यक नै ठानेन । उसको एउटा मात्रै सूत्र छ– आफू सरकारमा हुनुपर्छ । त्यही हो लोकतन्त्र । त्यही हो विकास । नेपाली कांग्रेसको सरकार । देशमा लोकतन्त्र, देशमा विकास– त्यही हो,’ उनले भनेका थिए, ‘देशमा सरकार कांग्रेसको छ भने विकास कस्तो हुन्छ ? अर्थतन्त्र ध्वस्त भए पनि केही छैन । विकास हुनुपर्नेको भएकै छ । त्यही हो विकास । यस्तोमा बोल्न नसक्ने अभिशप्त एउटा जमात हुन्छ ।’

विश्वासको मत दिएपछि माओवादी नेताहरू पनि कांग्रेसप्रति नरम देखिएका छन् । माओवादीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत अन्य दलले पनि दिएका कारण परिस्थिति फरक भएको बताउँदै आएका छन् । यसले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच शंका र अविश्वास बढाएको छ । माघ ५ मा सभामुख निर्वाचनपछि संसद्बाट बाहिरिने क्रममा ओलीले एमालेले राष्ट्रपति उम्मेदवार उठाउने र त्यसमै राष्ट्रिय सहमति हुने बताउँदै आएका छन् ।

एमाले नेताहरूले राष्ट्रपतिमा यसअघि नै सहमति भइसकेको धारणा राख्दै आएका छन् भने प्रधानमन्त्री दाहालले पार्टी बैठकहरूमा एमालेसँग मौखिक सहमति मात्रै भएको बताउने गरेका छन् ।

नयाँ राष्ट्रपति पनि एमालेबाटै निर्वाचित भए प्रमुख पाँच शीर्षमध्ये राष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित सबै पद पाँच वर्षका लागि एमालेको पोल्टामा जाने र आफूलाई स्वतन्त्र रूपमा सरकार सञ्चालन गर्न अप्ठ्यारो हुने बुझाइ दाहालको देखिन्छ । कांग्रेस र एकीकृत समाजवादीलगायत दलले पनि सबै पद एमालेमा जानबाट रोक्न माओवादीको साथ खोजेका छन् । माओवादी, एस र जसपा राष्ट्रपति चुनावअघि नै मोर्चा निर्माणको विषयमा समेत छलफलमा छन् । तीनै दलको मोर्चा बन्दा संघदेखि प्रदेशसम्म निर्णायक शक्ति बन्नेछ ।

खुला विश्वविद्यालयका राजनीतिशास्त्रका सहप्राध्यापक खगेन्द्र प्रसाईंले कांग्रेसका कारण गठबन्धनमा आफूले भनेको जस्तो नहुने अवस्था सिर्जना भएकाले एमाले आक्रोशित भएको बताए । ‘अहिलेको गठबन्धनमा कांग्रेस एक प्रकारले प्रवेश गरेको जस्तो अवस्था छ, सरकार नै नभए पनि क्रियाशील भएको छ,’ प्रसाईंले भने, ‘एमालेले जे सोचेको थियो वा जे भूमिका हुन्छ भनेको थियो, त्यसमा कांग्रेस बाधक हुने देखेपछि आक्रामक हुनु स्वाभाविक हो ।’

प्रसाईंका अनुसार अहिले भइरहेका संवादले माओवादी कुनै पनि समय कांग्रेससँगको गठबन्धनमा जान सक्ने देखाएको बताउँछन् । कांग्रेसले माओवादीसहितको नयाँ समीकरण बनाउन सके संघदेखि प्रदेशसम्म एमाले सत्ताबाट बाहिरिने अवस्था आउनेछ । एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीबीच गठबन्धन हुँदा संसद्को पहिलो दल कांग्रेस सबैतिर सत्ताविमुख भएको छ ।

इस्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका निर्देशक समृद्ध घिमिरे सबैतिर पद गुमाएर निराश भएको कांग्रेस माओवादीलाई फकाउन लागेकाले एमालेले त्यसको प्रतिरोध गर्न खोजेको बताउँछन् । ‘लामो समयदेखि कांग्रेस परजीवी जस्तो बनेर बस्दै आएको छ, ओली प्रधानमन्त्री भएका बेला विपक्षी दलको नेता रहेर पनि देउवाले सत्तामा भाग खोजेकै हो,’ घिमिरेले भने, ‘सबै गुमाएको कांग्रेस राष्ट्रपतिमा आफूले चाहेको व्यक्तिलाई निर्वाचित गराउन सकिन्छ कि भनेर लागेको छ । त्यो कुरा एमालेले बुझेको छ । त्यसैले आक्रामक भएको हो ।’

आफ्नोभन्दा केही बढी मतभार रहेको कांग्रेसले माओवादीको साथ पाउने विश्वासमा उम्मेदवार उठाउने बताएपछि एमाले आक्रामक हुनु स्वाभाविक भएको घिमिरेले बताए । ‘एमाले अन्य पार्टीभन्दा संगठित र योजनाबद्ध रूपमा आफ्नो रणनीति बनाएर जाने दल हो,’ घिमिरेले भने, ‘राष्ट्रपति निर्वाचनका लागि कांग्रेसविरुद्ध आक्रमण गरेर ग्राउन्ड बनाउँदै छ । आफूभन्दा केही बढी मतभार भएको कांग्रेसले उम्मेदवार बनाउँछ भन्ने एमालेलाई लागेको छ ।’

च्यासलस्थित एमाले मुख्यालयमा शनिबार आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेलले पनि देशलाई पुनः राजनीतिक अस्थिरतातर्फ लैजाने कोसिस भएको बताए । ‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू भइरहेका छन्, एमाले त्यसप्रति अन्त्यन्त गम्भीर छ,’ पोखरेलले भने, ‘सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

पाल्पा पुगेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसले धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् । नेता ज्ञवालीले अहिलेको यो गठबन्धनलाई कमजोर गराउने कुनै पनि प्रयास सफल नहुने दाबीसमेत गरे । सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने दाबी गर्दै उनले भने, ‘सत्तालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’

सत्ता गठबन्धनको सहमतिअनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने दाबी उनको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नुभएको छैन । पूर्वसहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा शंका छैन ।’ सत्ता गठबन्धनका दलप्रति एमाले सशंकित नरहेको उनले बताए । ‘कांग्रेस सत्तापक्ष बन्न त सकेन नै,’ उनले भने, ‘मुलुकको विडम्बना, प्रतिपक्ष बन्न पाऊँ भन्दै संसद् सचिवालयमा निवेदन दिनुपर्ने इतिहासमै अचम्मको घटना भएको छ ।’

प्रकाशित : माघ १५, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

उपराष्ट्रपतिको कार्यकाल लम्बिने !

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन अन्तिम साता गर्ने तयारी थालेपछि उपराष्ट्रपतिको पदावधि भने लम्बिने भएको छ । राष्ट्रपति निर्वाचन फागुन २६ मा गर्ने गरी यही साता मिति घोषणा गर्ने आयोगको तयारी छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनमा पदावधि सकिनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था रहे पनि आयोगले यो प्रावधान गलत रहेको भन्दै ‘राष्ट्रपतिको कार्यकाल ५ वर्ष हुने’ संविधानको व्यवस्था कार्यान्वयन गर्न लागेको हो । ०७४ फागुन २९ मा निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ मा सकिँदै छ ।

आयोगले राष्ट्रपति निर्वाचन कार्यकाल सकिनुभन्दा तीन दिनअघि मात्रै गर्ने भएपछि उपराष्ट्रपति निर्वाचन कार्यकाल सकिएपछि हुने निश्चित भएको हो । आयोग स्रोतका अनुसार उपराष्ट्रपति निर्वाचन चैत पहिलो साता हुनेछ । ‘राष्ट्रपतिको निर्वाचन फागुन अन्तिम साता हुँदा उपराष्ट्रपतिको कार्यकाल संविधानविपरीत कम्तीमा ५ दिन लम्बिने भएको छ,’ आयोग स्रोतले भन्यो ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । यही व्यवस्थामा टेकेर आयोगले ऐनको दफा ४ को उपदफा १ मा रहेको ‘पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गर्नुपर्ने’ प्रावधान गलत रहेको व्याख्या गरेको हो । दलका नेताहरूले पनि संविधान र ऐनको प्रावधान बाझिएकाले संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार पुनको पाँच वर्षको कार्यकाल ०७९ चैत ३ मा सकिँदै छ । उनी ०७४ चैत ४ मा निर्वाचित भएका थिए । राष्ट्रपतिको निर्वाचन फागुन २८ मा सकिएपछि मात्रै उपराष्ट्रपतिको निर्वाचन कार्यक्रम घोषणा हुने कानुनी व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन चैत ९ भित्र सक्ने आयोगको तयारी छ ।

राष्ट्रपतिको पदावधि सकिने दिनसम्म पनि नयाँ राष्ट्रपति निर्वाचित हुन नसकेमा बहालवालालाई निरन्तरता दिने संवैधानिक व्यवस्था छ । कानुनअनुसार निर्वाचन नगरी ढिलो भएमा राष्ट्रपति भण्डारीको कार्यकाल लम्बिन सक्ने आशंका पनि छ । संविधानको धारा ६३ को उपधारा २ ले यो आशंका उब्जाएको हो । उपधारा २ मा भनिएको छ, ‘पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधानबमोजिमको कार्य सम्पादन गर्नेछ ।’

आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ मा घोषणा गर्दा कुनै उम्मेदवारको बहुमत नपुगेमा दोस्रो चरणको निर्वाचन गर्नर्पुर्ने हुन्छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारको बहुमत नपुगेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाबीच मतदान गर्नुपर्ने हुन्छ । निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा पुनः मतदानमा जानुपर्ने हुन्छ । तेस्रो चरणको मतदानमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ । ‘कार्यकाल सकिनुअघि नै निर्वाचन गर्ने र यी सबै प्रक्रिया पूरा गर्न लाग्ने समय हेरेर मिति घोषणा चाँडै गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

दलहरूबाट समेत कार्यकाल सकिनुभन्दा एक साताअघि निर्वाचन गर्न सहमति पाएपछि मिति घोषणा गर्न लागेको हो । ‘ऐनमा त्रुटि भएकाले पछि सच्याउँला, अहिले निर्वाचन गर्नुस् भन्ने दलहरूको सुझाव छ,’ आयोग स्रोतले भन्यो, ‘कार्यकाल सकिनुभन्दा एक साताअघि चाहिँ नगर्नुस् भन्ने दलहरूको आग्रह छ किनभने राष्ट्रपति दुई जना हुनेबित्तिकै लफडा सुरु हुन्छ भन्नेछ । निर्वाचित भएपछि किन शपथग्रहण नगराएको भन्ने हुन्छ । त्यसैले २६ गते निर्वाचन गराउने, २८ गते निर्वाचित राष्ट्रपतिलाई प्रमाणपत्र दिने र २९ गते शपथग्रहण गराएर ह्यान्डओभर र टेकओभर हुन्छ ।’

प्रकाशित : माघ १५, २०७९ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×