जोडीको आत्महत्या प्रकरण

अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा, थुनामुक्त गराउन लेनदेन

अन्तरजातीय विवाहलाई छुट्याउने घटना सामसुम पार्न पैसाको लेनदेन गर्ने काममा स्थानीय तहका जनप्रतिनिधिदेखि नेतासम्म संलग्न
पर्वत पोर्तेल

कचनकवल, झापा — मुलुककै होचो भूभाग कचनकवलको पुछारको गाउँ लोधाबारी मंगलबारदेखि शोकमग्न छ । सदरमुकाम चन्द्रगढीदेखि करिब ३० किलोमिटर दक्षिणको यो सीमान्त देहातमा अन्तरजातीय बिहेपछिको बिछोड खेपेका कचनकवल–४ का २५ वर्षीय राजेशकुमार गणेश (गनगाई) र १८ वर्षीया पवित्रा राजवंशी मृत फेला परेका थिए ।

राजेशको परिवार भने दोहोरो पीडामा छ । उनका बाबु ५० वर्षीय जितलाल र ४५ वर्षकी अन्नवतीको आँखा अझै ओभाएको छैन । अन्नवती आँगनमा बर्बराइरहेकी छन् । जितलाल भक्कानिँदै बिलौना सुनाउँछन्, ‘पैसा, पैसा सकियो । जवान छोरा गयो, हामीलाई सहनै नसक्ने दुःखले छोप्यो ।’

अन्तरजातीय प्रेम विवाह गरेका जोडीलाई समाजले छुट्याएको थियो । राजवंशीहरू आफूलाई उच्च जातको मान्छन् भने गणेशहरूलाई तल्लो जातको । २०७८ साउन पहिलो साताको एक साँझ राजेशले कचनकवल–४ खुट्टामनी टोलकी पवित्रा राजवंशीलाई प्रेम विवाह गरेर घर भित्र्याएका थिए । गणेश परिवारले बुहारी आएकामा हर्ष नै माने । तर, पल्लो गाउँको राजवंशी परिवार भने छोरीले अन्तरजातीय विवाह गरेकामा खुसी थिएन । स्थानीय महेन्द्र रत्न माविमा ८ मा पढ्दै गरेकी पवित्राले परिवारको मञ्जुरीविपरीत प्रेम विवाह गरेकी थिइन् ।

सुरुमा त राजवंशी परिवारले पहिला छोरीलाई छुट्याउने प्रयत्न गरे । तर, पवित्राले ‘राजीखुसी बिहे गरेर आएकी हुँ’ भनेपछि बाबु भुवनलालको केही लागेन । तर, उनले गणेश परिवारलाई धम्क्याउँदै छोरीका नाममा जमिन पास नगरे मुद्दा चलाउने धम्की दिए । कमजोर आर्थिक हैसियतका गणेशको परिवारले भनेजस्तो गर्न सक्ने अवस्था थिएन । राजेश त्यतिबेला कचनकवल गाउँपालिकाको माछापोखरी हेरालुको करार जागिर गर्थे । जसको आम्दानीले खान, लाउन जेनतेन मात्रै पुग्थ्यो ।

राजकुमारको गाउँ कचनकवल गाउँपालिका–४ लोधाबारी । तस्बिर : पर्वत/कान्तिपुर

कान्तिपुरसँगको कुराकानीमा पनि भुवनलालले केटाकेटीको जीविकाका लागि संयुक्त नाममा १० कट्ठा जमिन पास गरिदिन गणेश परिवारसँग माग गरेको बताए । उनले भने, ‘जमिन पास गर्न नमानेपछि मैले मुद्दा हालेको हो ।’ समाजले पनि मुद्दामा जान उक्साएपछि २०७८ असोज १२ मा भुवनलालले जिल्ला प्रहरी कार्यालय झापा पुगेर राजेशविरुद्ध घरमा गएर छोरीलाई बलात्कार गरेको आरोपमा उजुरी दिए । भोलिपल्टै प्रहरी टोली गाउँमै पुगेर राजेश र पवित्रा दुवैलाई नियन्त्रणमा लियो । पवित्रालाई राति नै परिवारको जिम्मा लगायो भने राजेशलाई थुनामा राख्यो । ‘प्रहरीले तपार्इंको छोरामाथि अपहरणको उजुरी परेको छ, छाड्न मिल्दैन भन्यो,’ जितलालले सुनाए, ‘अनि हामी घर फर्कियौं ।’

त्यसपछि छुटाउने कोसिस सुरु भयो । त्यसबेला भुवनलालले पैसा दिए मुद्दा फिर्ता गरिदिने सर्त राखेको जितलालले बताए । भुवनलालले सुरुमा १० लाख रुपैयाँ मागेका थिए । तर, त्यत्रो रकम दिने हैसियत नभएको भनेपछि साढे ६ लाख रुपैयाँमा सहमति भएको केटाका मामा रघुनन्दनले बताए । तत्कालीन वडाध्यक्ष परमानन्द सिंह राजवंशी र कांग्रेसका नेता (वर्तमान प्रदेश सांसद) भूमि राजवंशीको रोहवरमा रकम दिने सहमति भएको थियो । ‘ऋणपान र भएका जायजेथा बेचेर साढे ६ लाख बुझाइयो,’ जितलालले बुधबार बगेको आँसु पुछ्दै भने, ‘पैसा बुझाएपछि वकिलमार्फत काम गर्दा छोरा चाँडो छुट्ने आश्वासन पनि दिए ।’

प्रदेशसभा सदस्य भूमी राजवंशीले दुवै परिवारलाई मिलाउन सहजीकरण गरेको दाबी गरेका छन् । ‘केटाबिना केटी पनि बस्न नसक्ने अवस्था भएपछि समझदारीमै वकिलसँग सल्लाह गरेर केटाअनुकूल मुद्दा बनाइएको हो,’ उनले भने, ‘त्यसपछि केटा छुटेको हो ।’

यो घटनालाई नजिकबाट नियालेकाहरूका अनुसार केटा निस्किएपछि मात्रै परिवारलाई रकम दिने सर्तअनुसार वडाध्यक्षको हातमा साढे ६ लाख रुपैयाँ दिइयो । तर, भुवनलालले भने ५ लाख मात्रै हात पारे । डेढ लाख रुपैयाँ कसले गायब पार्‍यो भन्नेबारे दुवै पक्ष बेखबर छन् ।

आरोपितविरुद्ध प्रहरीले कात्तिक ४ मा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको थियो । झापा अदालतका न्यायाधीश टीकाराम आचार्यले कात्तिक ७ मा राजेशलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेका थिए । जेल चलान भएको करिब डेढ महिनापछि मंसिर २१ मा न्यायाधीश आचार्यकै इजलासले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दियो ।

राजेशको पक्षमा मुद्दा हेरेका एक कानुन व्यवसायीका अनुसार केटीले ‘केटालाई जेलबाट नछुटाए आत्महत्या गरिदिन्छु’ भनेर त्यतिबेलै परिवारलाई धम्क्याएकी थिइन् । त्यसपछि राजवंशी परिवारले आर्थिक लेनदेन गरेर राजेशलाई थुनामुक्त गराउने पहल गरेको हो । ‘राजवंशी परिवारले हामीले गाउँमै कुरा मिलायौं भने,’ ती कानुन व्यवसायीले भने, ‘अनि केटीको अनुकूल बकपत्र गराइएपछि केटा जेलमुक्त भए ।’

गणेश परिवारका अनुसार राजवंशी परिवारलाई दिएको साढे ६ लाखबाहेक पनि अरू ७ लाख रुपैयाँ अदालती प्रक्रियामा खर्च भएको थियो । ‘वकिल, प्रहरी र न्यायाधीशलाई मिलाउने काममा ७ लाख जति खर्च भयो,’ रघुनन्दन गणेशले भने, ‘करिब १४ लाख हाराहारी खर्च भएपछि बल्ल भान्जा जेलबाट छुटे ।’ अदालती खर्चका लागि गणेश परिवारले ६ कट्ठा जमिन मात्रै बेचेनन्, आफन्तसँग ऋण पनि लिएका थिए ।

कारागारबाट निस्किएका गणेश गत असारसम्म गाउँपालिकाले खटाएकै काम गर्दै थिए । पुराना जनप्रतिनिधि गएर जब नयाँ आए, उनको करारको जागिर खोसियो । जागिर गुमेपछि घरदेखि करिब एक किलोमिटर नजिकै ब्रोइलर कुखुरा पाल्न सुरु गरेका थिए । सोमबार राति भाइ दिनेशसँग पोल्ट्री फार्ममा सुतेका उनी उठेर गएपछि फर्किएनन् । ‘११ बजेसम्म कुखुरालाई चारो दिएर दाइ सुतेको थियो,’ भाइ दिनेशले भने, ‘ब्युझिँदा दाजु छैन । खोज्दै जाँदा बगानमा झुन्डिएको भेटियो ।’


प्रकाशित : माघ १२, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

आचार्यको दुःखान्तले देखाएको देशको अर्थराजनीतिक तस्बिर

सम्पादकीय

यतिखेर नेपालीहरू एक दुःखद घटनाका कारण जति स्तब्ध छन्, त्यत्ति नै आक्रोशित पनि । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार देहान्त भएसँगै राज्यको अर्थराजनीतिक दुश्चक्रप्रतिका प्रश्नहरूले नेपाली समाज फेरि उद्वेलित भएको छ ।

आफैंलाई जलाउनुअघि इलामका ३६ वर्षीय यी व्यवसायीले सामाजिक सञ्जालमा राखेको र सञ्चारमाध्यमहरूलाई पठाएको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ । व्यावसायिक जीवनका क्रममा हजार हन्डर खाएका उनी निश्चय पनि यसबीचमा ठूलो अवसादबाट गुज्रिएका थिए, जसलाई उनी आफैंले पनि स्विकारेका छन् । र, त्यही अवसादको उत्कर्षस्वरूप आत्मदाहको बाटो रोजेका हुन् ।

भन्नै पर्दैन, जतिसुकै चिन्ता–व्याकुलतामा पनि आत्महत्याको बाटो सही होइन, कसैले पनि यस्तो गर्नु हुँदैन । तर, यसो भनेर मात्र समाजमा आत्महत्या रोकिँदैन । त्यसका निम्ति यसका कारणहरूसम्म पुग्न जरुरी हुन्छ । यहाँ भुल्नु हुँदैन— निज आचार्यलाई जीवन त्याग्न डोर्‍याउने अवसाद उनको उद्विग्नताको लक्षण मात्र हो, कारण होइन । आफैं गरिखान खोज्दा राज्य, व्यावसायिक जगत् र समाजबाट जेजस्ता असहयोग भोगे, तिनैले उनको जीवनलाई विषादको सुरुङभित्र फसाएका हुन् । तर पनि आफ्नो शक्तिहीनतालाई उनले बाँचेरै पराजित गर्नुपर्थ्यो, मरेर होइन । जीवन त्यागिसकेका उनको हकमा यस्तो कामनाको पक्कै अर्थ छैन, परन्तु हाम्रो अर्थराजनीतिक–सामाजिक संरचनाबाट उनी दुरुत्साहित भएको तथ्य बिर्सनु हुँदैन । राज्य, समाज र व्यावसायिक क्षेत्रभित्र मौलाइरहेको असहयोगी र दोहनकारी चरित्रका कारण भविष्यमा फेरि कसैले यसरी हरेस खानु नपरोस् भनेर पर्याप्त सामूहिक सावधानीका निम्ति यो घटनाबाट पाठ सिक्नैपर्छ ।

आचार्यले औंल्याएका तथ्यहरू सम्पूर्ण रूपमा सत्य होलान्–नहोलान्, थोरै मनोगत र बढाइचढाइ गरिएका पनि छन् कि, तर मूल सवाल त्यो होइन । उनका टिप्पणीहरूबाट हाम्रो राज्य र व्यावसायिक जगत्को जुन समग्र चित्र देखिन्छ, त्यो कदापि झुटो होइन । महत्त्वाकांक्षा, लगानीको मात्रा, व्यवसायको किसिम र दायरा फरक होलान्, तर देशभित्रै केही गरौं भन्दै स्व–व्यवसायमा होमिएका सबैजसोको साझा कथा यही हो । त्यसैले सम्बन्धित सबैले आचार्यका दुखेसोको आयतन र गहिराइलाई मापन र मनन दुवै गर्न सक्नुपर्छ । र, यसबाट शिक्षा लिएर साना तथा मझौला उद्यमी तथा स्व–व्यवसायीहरूको हित संरक्षणका खातिर राज्य र व्यावसायिक क्षेत्रले व्यवस्थित पहल लिनुपर्छ ।

आचार्यले फोइदिएको पन्तुराभित्र केवल एक व्यक्तिको होइन, हर व्यवसायीका दुःखका कथाहरू छन् । व्यावसायिक जगत्भित्रै पनि ठूलाबाट साना कसरी लुटिन्छन्, व्यापारीहरूबाट उत्पादकहरू कसरी ठगिन्छन् भन्ने एक–एक दृष्टान्त छन् । हाताहाती नगदमा बेच्ने व्यापारीले ती सामग्रीका उत्पादकहरूलाई भने कसरी उधारोमा फसाइरहेका छन् भन्ने नालीबेली उधिनिएका छन् । अनि, सरकारी अनुदान कसरी घुमाईफिराई उही पहुँचवालाहरूकामा मात्र थुप्रिन्छ र वास्तविक रूपमा सहयोगको खाँचो भएकाहरूलाई जति प्रयास गर्दा पनि रित्तो हात पारिन्छ भन्ने यथार्थ पस्किएर उनले राज्य–चरित्र उदांगो पारिदिएका छन् । यी सबै बेथितिहरूमाथि हस्तक्षेप गर्नुपर्ने टड्कारो खाँचो उनले औंल्याएका छन् ।

खासमा साना व्यवसायीहरू खासै संगठित छैनन्, भए पनि तिनको आवाज सानै हुन्छ । राम्ररी संगठित र राज्यसित ठाडो पहुँच भएका ठूलाहरूको आवाज पनि ठूलै हुन्छ, उस्तै पर्दा तिनले राज्यलाई चुनौती नै दिन्छन् । सरकारी करदेखि बैंकको साँवा–ब्याज नतिर्दा पनि उन्मुक्ति पाएकै हुन्छन् । अरू प्रयोजनमा लिएको ऋण जग्गामा खन्याएर समयमा साँवा–ब्याज नतिरी उल्टो आन्दोलन गर्न पनि तिनीहरू ‘स्वतन्त्र’ नै छन् । तर यस्तो सुविधा साना तथा मझौला व्यवसायीलाई छैन; राजनीतिज्ञ र प्रशासकहरूसित व्यक्तिगत पहुँच छैन भने उनीहरूको आवाज कतै सुनिन्न । तसर्थ, आज आवश्यक छ— साना तथा मझौला व्यवसायीहरूको संरक्षण र ठूला व्यवसायीहरूको एकाधिकारको अन्त्य ।

खास गरी ठूला व्यवसायीहरूले ‘सिन्डिकेट’ खडा गरी जसरी मनोमानी गरिरहेका छन्, त्यसले बजार प्रतिस्पर्धाको स्वाभाविक लय बिगारेको छ, उपभोक्ताहरूलाई अस्वाभाविक महँगीको मार थोपरेको छ, राज्यशक्तिलाई चुनौती दिएको छ, र अरू साना–मझौला व्यवसायी–उद्यमीहरूलाई माथि उठ्नै नसक्ने गरी थिचेको छ । खासमा ‘खुला बजार अर्थतन्त्र’ नाम मात्रकै छ, यो केवल केही शक्तिशालीहरूको मुठीभित्र छ । त्यसको स्वाभाविक परिणति, केही गर्न खोज्नेहरू पहिलो–दोस्रो पाइलामै हतोत्साही बन्नुपर्ने अवस्था छ । र, सबैभन्दा दुःखको कुरा त जे भइरहेको छ, त्यसप्रति कसैको चिन्ता छैन ।

आफ्नो ‘भारत जोड्ने यात्रा’ का दौरान भारतीय कांग्रेसका नेता राहुल गान्धीले एक महिनाअघि अर्थशास्त्री रघुराम राजनसित एक भिडियो संवादमा यस्तै ठूला उद्यमीको मनोमानी सम्बन्धी चिन्ता जनाउँछन्, जहाँ राजनले बेरोजगारी, कर्जा र ब्याजदर वृद्धिले न्यून–मध्यम वर्गलाई नराम्ररी गाँजेको भन्दै तिनका निम्ति नीति बनाउनुपर्ने खाँचो औंल्याउँछन्, र भन्छन्, ‘देशका लागि साना–ठूला सबै उद्यम चाहिन्छन्, तर एकाधिपत्य चाहिँ हुनु हुन्न ।’ आज हाम्रा नीतिनिर्मातादेखि व्यवसायीहरूसम्मले गर्नुपर्ने चिन्तन पनि यस्तै हो । नत्र नागरिकहरू, खास गरी युवाहरूमा पछिल्लो समय जुन रूपमा नैराश्य बढिरहेको छ, त्यसले एक दिन अस्वाभाविक विस्फोटको रूपसमेत लिन सक्छ । सन् २०१० को अन्त्यतिर ट्युनिसियामा एक २६ वर्षीय सडक व्यापारीले आत्मदाह गरेको घटनाले अरब आन्दोलनकै निम्ति उत्प्रेरकको काम गरेको तथ्य विश्व–स्मृतिबाट विलीन भैसकेको छैन ।

त्यसैले राज्यमा निर्णायक भूमिका खेल्ने सबै तह र तप्काले वर्तमान नेपालबारे सघन सुर्ता गर्नैपर्छ । काठमाडौं विश्वविद्यालय लगायतले गरेको ‘नेपाली जनमत सर्वेक्षण–२०२०’ मा ६५.६ प्रतिशतभन्दा बढी नेपालीले देश सही दिशातर्फ अघि बढिरहेको बताएकामा यसपालिको सोही प्रतिवेदनमा यो संख्या ४१.७ प्रतिशतमा झरेको छ । यसको मतलब १० मध्ये छ जना नेपाली यति बेला देशप्रति आशावादी छैनन्, जुन चरम निराशाको द्योतक हो ।

यसैले पनि भन्नैपर्ने हुन्छ— आचार्य जल्दा जागेका प्रश्नहरूलाई कसैले पनि निभ्न नदेऊ; गरिखान खोज्नेहरूलाई राज्य र सम्बन्धित सबैले सकस होइन, सुविधा देऊ । सबै मिलेर गरिखाने वातावरण बनाऊ ।

प्रकाशित : माघ १२, २०७९ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×