‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सुस्ता बचाऊ’ अभियन्ता गोपाल गुरुङको निधन

पैसा अभावमा समयमै उपचार हुन नसकेको स्थानीयको भनाइ
नारायण शर्मा

नवलपरासी पूर्व — ‘सुस्ता बचाऊ’ आन्दोलनका मुख्य अभियन्ता गोपाल गुरुङको निधन भएको छ ।  गत पुस ८ गते घरमै बेहोस भएका गोपाललाई त्यसैदिन भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

मस्तिष्कघात भएका उनको आर्थिक अभावका कारण त्यहीदिन शल्यक्रिया गर्न नसकिएको सुस्ता बचाऊ आन्दोलनका प्रवक्ता रवीन्द्र जयसवालको भनाइ छ । उनले भने, ‘रगत र अपरेशन गर्न पैसा खोज्दाखोज्दै ३ दिन ढिलाभयो । पैसा भैदिएको भए त्यहीदिन अपरेशन हुन्थ्यो ।’

उनको मंगलबार उपचारकै क्रममा अस्पतालमै निधन भएको हो । उनको उपचारमा १० लाख खर्च भैसकेको छ । करिब ६ लाख अस्पतालमा बुझाइएको छ । बाँकी ४ लाख खोजखाज गरेर शव बुझ्ने जयसवालले बताए ।

भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन उनले २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहे । उपचारका क्रममा पैसा अभाव भएपछि भने सुस्तेलीले गोपाल गुरुङ बचाउअभियान सुरु गरेर घरघरै नगद सहयोग मागेका थिए । त्यसबाट करिब १ लाख ९० हजार रुपैयाँ संकलन भएको थियो ।

रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ । ‘उनको अवस्था विपन्न हो । हामीले उनलाई बचाउने अभियान सुरु गरे पनि सरकारले चासो नदिँदा सुविधासम्पन्न अस्पताल लैजान नसक्दा उनको ज्यान गयो,’ अभियानका उपाध्यक्ष आदम खाँ भन्छन्, ‘देशका लागि एक्लै लडेका गोपालको रकम अभावमै ज्यान गयो ।’

उनी ५९वर्षका थिए । २०५५ सालमा नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि सुस्तामै घर बनाएर उनले बसोबास थालेका थिए । सुस्ता चौकीमै ड्युटी रहेकै बेला उनले अवकाश पाएका हुन् ।

उनी २०५७ सालमा भारतमा जेलसमेत परेका थिए । उनी सुस्ताको नेपाली भूमि सुस्तावासीले मात्र जोगाउन सक्ने भन्थे । सुस्तावासीलाई एक बनाएर वर्षौंदेखि नेपाली भूमिका रक्षामा खटिएका गुरुङको पैसा अभावमा निधन हनु विडम्बना भएको खाँ बताउँछन् ।

प्रकाशित : माघ ११, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेस : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

कान्तिपुर संवाददाता

मधेस — मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोकेका छन् । 

मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मधेस

मुख्यमन्त्री यादवले बाँकी सात मन्त्रालय भने हाल आफैँसँग राखेका छन् । मधेस प्रदेसमा १० मन्त्रालय छन् । प्रदेसमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेससभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ ।

प्रकाशित : माघ १०, २०७९ २२:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×