२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

खागले बर्बाद प्रजा परिवार

खाग तस्करी अभियोगमा चितवन कालीखोलाका राजकुमार प्रजा र उनका माइला दाजु बलबहादुर जेलमा छन्, साइँला रामकुमार फरार छन्, तीन दाजुभाइ मात्रै होइन, वन्यजन्तु अपराधसम्बन्धी कडा कानुन र फितलो अनुसन्धानको मारमा उनीहरूका धेरै नातेदारसमेत पिल्सिएका छन्
तुफान न्यौपाने

कोराक, चितवन — नारायणगढ बजारबाट करिब २० किमि पूर्वमा पर्छ, खुरखुरे चोक । त्यहाँबाट उत्तरतर्फ गाडीमा करिब आधा घण्टा यात्रा गरेपछि समिटार पुगिन्छ । समिटारबाट कालोपत्र सडक सकिएपछि पश्चिम–उत्तरतर्फ अर्को करिब तीन किमि पर कालीखोला भेटिन्छ । साबिकको कोराक गाविस (हाल : राप्ती नगरपालिका–१०) मा पर्ने कालीखोलाको पारिपट्टि एउटै आँगन भएका चार घर छन्, ती प्रजा परिवारका हुन् ।

खागले बर्बाद प्रजा परिवार

सबैभन्दा दायाँपट्टि राजकुमार प्रजाको घर छ, बाँकी तीन उनका दाजुहरूको हो । गत पुस पहिलो साता राजकुमारको घर पुग्दा उनकी ३६ वर्षीया पत्नी मोतीमाया भर्खरै मकै गोडेर फर्किएकी थिइन् । ‘यो ऐलानी जग्गा हो, दुई बाली मकै लगाउँछौं, बर्खामा धान रोप्छौं तर त्यतिले वर्षभरि पनि खान पुग्दैन,’ मोतीमायाले भनिन् ।

राजकुमार तिनै व्यक्ति हुन्, जो ०६० देखि ०६७ का बीचमा चितवन राष्ट्रिय निकुञ्जभित्र कम्तीमा २१ वटा गैंडा मारेर त्यसको सिङ (खाग) तस्करी गरेको अभियोगमा सजाय काटिरहेका छन् ।

राजकुमारकी ३६ वर्षीया पत्नी मोतीमाया नातिनीसँग ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७१ माघ २५ मा काठमाडौं विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो । उनको साथबाट भक्तराज गिरीको नाममा जारी भएको ०५५०२४०८ नम्बरको राहदानी, बोर्डिङ पास, विदेशी कामदारको सूचना भएको पत्र र नेपाली दूतावास क्वालालम्पुरबाट जारी एकतर्फी ट्राभल डकुमेन्ट बरामद भएको थियो । उनले गोरखा नगरपालिका–४ का कृष्णबहादुर गिरीको छोरा भन्दै भक्तराज गिरीको नाउँमा गोरखाबाट २०६७ जेठ १२ मा नागरिकता (नं.४४१००१/२७४९) लिएका थिए । त्यसैका आधारमा जेठ २० मा ४७२०४६४ नम्बरको राहदानी बनाएर उनी असोज २६ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए ।

मलेसियामै राहदानी हराएपछि २०६७ चैत ३ मा उनले त्यहाँको नेपाली दूतावासबाट ०५५०२४०८ नम्बरको राहदानी प्राप्त गरी क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तर–पश्चिमको वानतिङस्थित ‘हो कु इलेक्ट्रोनिक्स’ मा काम गर्दै आएका थिए ।

नेपाल प्रहरीले १० वर्षदेखि खोजिरहेका र इन्टरपोलले समेत रेडकर्नर नोटिस जारी गरेका उनलाई सीआईबीको आग्रहमा मलेसिया प्रहरीले २०७१ माघ १६ मा नक्कली राहदानी प्रयोग गरेको आरोपमा पक्राउ गरी ९ दिनपछि नेपाल फर्काइदिएको थियो । पक्राउ पर्नबाट जोगिन भक्तराज गिरीको नामबाट नक्कली कागजात बनाएर मलेसिया पुगेका राजकुमारलाई नेपाल फर्काएपछि सुरुमा राष्ट्रिय निकुञ्जले हिरासतमा राखेको थियो । ०७२ को संविधान जारी हुनुअघि वन्यजन्तु अपराधका सबै मुद्दाको सुरुआती सुनुवाइ (ट्रायल) निकुञ्जले नै गर्थ्यो तर संविधानले एक वर्षभन्दा बढी कैद हुने कसुरमा सुरुवाती सुनुवाइ जिल्ला अदालतबाट मात्र गर्ने व्यवस्था गरेपछि प्रजाको मुद्दा अदालत पुग्यो । न्यायाधीश टेकनारायण कुँवरले ०७३ मा उनीसहित १० जनालाई १५ वर्ष कैद र एक जनालाई ७ वर्ष कैद हुने फैसला सुनाए ।

राजकुमार प्रजालाई गैंडाको शिकार र खाग बिक्रीमा अदालतले गरेका फैसला

फैसलामा ‘गैंडा मार्ने योजना बनाउने, बन्दुक–गोलीगट्ठालगायत बन्दोबस्तीका सामान जुटाउने, निकुञ्जमा अवैध रूपमा प्रवेश गरी गैंडा मार्ने, खाग काट्ने, त्यसलाई उसिनेर बिक्रीका लागि तयार पार्ने, बिक्री गर्ने र प्राप्त रकम अन्य व्यक्तिलाई बाँड्ने गरी सुरुदेखि अन्त्यसम्मको आपराधिक कार्यमा प्रजाको प्रत्यक्ष संलग्नता रहेको’ उल्लेख छ । यही आरोपमा उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले निर्धारण गरेकोमध्ये अधिकतम सजाय तोकिएको थियो । उक्त ऐनमा ५ देखि १५ वर्षसम्म कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

फैसलामा प्रजालाई ‘गैंडाको चोरी सिकार एवं खागको बिक्री व्यवसायमा संलग्न कुख्यात तस्कर’ को रूपमा चित्रण गरिएको छ । उनलाई २१ वटा गैंडाको चोरी–सिकारमा संलग्न भनी फैसलामै किटान गरिए पनि उनले त्यति ठूलो संख्यामा गैंडा मारेको भने प्रमाणित भएको छैन । हालसम्म सात वटा मुद्दामा उनी दोषी पाइएका छन् । जसमध्ये तीन वटामा १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना, एउटामा १५ वर्ष कैद मात्र र तीन वटामा १०/१० वर्ष कैदको सजाय हुने फैसला भएको छ ।

चितवनको राप्ती–१० कालीखोलास्थित उनको परिवार भने वर्षौंदेखि चरम गरिबीमा पिल्सिएको र बाँच्नकै लागि रातदिन संघर्ष गरिरहेको छ । राजकुमार जेल परेपछि श्रीमती मोतीमायाको काँधमा वृद्ध सासूसँगै छोरा–बुहारी र तीनवर्षे नातिनीको जिम्मेवारी आइलागेको छ । किशोरावस्थामै रहेका छोरा–बुहारीको कुनै कमाइ छैन । १९ वर्षीय छोराको पढाइ १० कक्षापछि छुट्यो । बालखमै भित्र्याइएकी बुहारीको पढाइ पनि त्यत्तिकै रह्यो ।

‘जीवन चलाउनै गाह्रो छ, श्रीमान्लाई जेल हालेका छन्, मजदुरी गरेर पाँच जनाको परिवार पालिरहेकी छु,’ मोतीमायाले भनिन्, ‘एक पटक जेल बसेर छुटेका गाउँका केटाहरूलाई संस्थाले बाख्रा पालन र अरू कमाउने उद्यममा सहयोग गर्छन् तर जेलमै रहेको मानिसको परिवारलाई भने कसैले नहेर्ने रै’छ ।’ उनका अनुसार राजकुमार तीन वर्षदेखि वीरगन्ज कारागारमा छन् । पैसा नभएकै कारण उनले घरबाट करिब १३० किलोमिटर टाढा जेलमा रहेका श्रीमान्लाई भेट्न पाएकी छैनन् । तिहारमा जेलभित्रैबाट राजकुमारले फोन गरेयता कुराकानीसमेत हुन पाएको छैन । ‘कुरा गर्न त कत्ति मन लाग्छ नि,’ उनी भन्छिन्, ‘पैसा नभएर वकिल राख्न सकेनौं । निकुञ्जले जे/जे आरोप लगायो, त्यसैमा फैसला भयो ।’

कालीखोलास्थित प्रजा परिवारको घर ।

प्रजालाई जेल पठाउने अदालतको फैसला केलाउँदा उनले आफ्नो प्रतिरक्षाका लागि कोही पनि कानुन व्यवसायी राख्न नसकेको देखिन्छ । उनी दोषी ठहर भएका सातमध्ये केबल एउटा मुद्दामा मात्रै अदालतले नै नियुक्त गरिदिएका वैतनिक वकिल तीर्थराज पोखरेलले प्रजाका तर्फबाट बहस गरेका थिए । वकिल पोखरेलले अदालतको बहसमा प्रजाले सफाइ पाउनुपर्छ जिरह गरेनन् । ‘प्रजालाई लगाइएका सबै आरोप उनले स्वीकार गरेर अदालतलाई सहयोग गरेकाले न्यूनतम सजाय होस्’ भन्ने मात्र उनको माग थियो । पोखरेलको जिकिरमा अदालत सहमत भएन र उनलाई अधिकतम १५ वर्ष कैद गर्‍यो ।

त्यतिधेरै खाग तस्करी गरी मनग्य पैसा कमाएको आरोप लागेका प्रजाले आफ्नो कानुनी प्रतिरक्षाका लागि वकिल राख्नसमेत किन सकेनन् होला ? कतै उनी वन्यजन्तुका ठूला तस्करहरूले सामान्य रकम दिएर खटाएका सिकारी/भरिया मात्र त थिएनन् ? ‘अदालतमा के/के भयो, हामीले थाहै पाएनौं । कति वर्ष जेल बस्नुपर्ने हो ?, कहिले छुटेर आउने हुन् ? आएपछि फेरि अर्को मुद्दामा पक्रिने पो हो कि ? त्यो पनि थाहा छैन,’ मोतीमायाले भनिन् ।

परिवार नै बर्बाद

राजकुमार प्रजाको परिवार चितवनको शक्तिखोरबाट ४० को दसकमै कोराक सरेको हो । उनका साइँला दाजु रामकुमार पनि गैंडा चोरी–सिकारको आरोप लागेपछि फरार छन् । माइला दाजु बलबहादुर १२ वर्षे सजाय काट्दै छन् ।

गैंडा मारी खाग बेचेको भन्ने सुराकीको सूचनाका आधारमा निकुञ्जको चोरी प्रतिरोध एकाइको संयुक्त गस्ती टोलीले चितवनको साबिक सिद्धि गाविस–२ का सुमन बम्जनलाई ०६७ फागुन ११ मा पक्राउ गरेको थियो । उनले आफूसहित राजकुमार प्रजा, राजकुमारका दाइ बलबहादुर प्रजा, कान्छा भनिने राजकुमार प्रजा (उही नामका अर्कै व्यक्ति), रमेश तामाङ, शेरबहादुर चेपाङ, दिलबहादुर प्रजा र बमे भन्ने बलबहादुर प्रजा (राजकुमारको दाजु नभएर उही नामका अर्को व्यक्ति) लाई पोल गरे । त्यसका आधारमा निकुञ्जले राजकुमारका दाजु बलबहादुरलाई पक्राउ गर्‍यो । उनले अनुसन्धान अधिकृत र इजलाससमक्ष बयान गरे– ‘०६७ वैशाखमा मसमेत निकुञ्जभित्र गैंडा मार्न गएको र खाग बिक्रीपश्चात् सुमनलाई ५० हजार रुपैयाँ दिएको भनी उनले गरेको बयान झूटो हो । मैले उनलाई चिनेकै छैन । गैंडा मारेको र खाग बिक्री गरेको पनि छैन । किन मलाई पोल गरे थाहा छैन ।’

बम्जनको पोल कति कमजोर थियो भने उनले आफूसँगै ०६७ वैशाख ६ मा गैंडा मार्न र खाग निकाल्न सक्रिय रहेको भनी बयान दिएका ८ जनामध्ये बमे भनिने बलबहादुर प्रजा ०६० साउन १९ मा पक्राउ परी गैंडा मारेको अर्को मुद्दामा कास्की कारागारमा १५ वर्षको जेल सजाय भोगिरहेका थिए । फैसलाको उक्त मिसिल केलाउँदा निकुञ्जले बलबहादुर (राजकुमार प्रजाका माइला दाजु) विरुद्ध बम्जनको पोलबाहेक अन्य कुनै प्रमाण जुटाउन सकेको देखिँदैन । तर पनि चितवन राष्ट्रिय निकुञ्जले ०७२ असार १५ मा फैसला गर्‍यो– ‘बलबहादुर प्रजालाई गैंडा मारेको र खाग बिक्री गरेको अभियोगमा १२ वर्ष कैद हुन्छ ।’

०७४ साउनमा उच्च अदालत हेटौंडाले पनि निकुञ्जको फैसलालाई सदर गर्‍यो । ०७१ माघमा पक्राउ परेका बलबहादुर त्यसयता भरतपुर कारागारमा १२ वर्षे कैद सजाय भुक्तान गर्दै छन् । बलबहादुर जेल परेपछि उनकी श्रीमतीले दोस्रो बिहे गरिन् । ६ कक्षा पढ्दै गरेका छोरा आशिषको पढाइ छुट्यो । केही समयपछि आशिषले स्कुल पढ्दाकी सहपाठी कल्पनालाई बिहे गरे । आशिष–कल्पना सानी छोरीका बाउ–आमा बनेका छन् । ‘हामीजस्ता गरिबले धेरै पढ्न पाइने रहेनछ । बाँच्नै मुस्किल भएको छ,’ बलबहादुरकी बुहारी कल्पनाले भनिन्, ‘मेरो बिहेअघिदेखि नै ससुरा जेलमा हुनुहुन्छ । एक्लै घर चलाउन गाह्रो भएर सासूले अर्को बिहे गर्नुभएछ । ससुरा जेलमा कसरी बस्नुभएको छ, थाहा छैन ।’

राजकुमारका जेठा दाजु बलबहादुर गैंडाको खागकै चोरी–सिकारमा संलग्न भएको आरोपमा सात वर्ष जेल बसेपछि निर्दोष साबित भएर छुटेका छन् । उनी वैदेशिक रोजगारीमा साउदी अरब गएर फर्किएका थिए । ०६७ सालको साउन २ मा फेरि साउदी उड्ने तालिका थियो । त्यसअघि असार १४ मा उनी कोराक–९ चिप्लेटी बस्ने ससुरा बिजराम प्रजाको घरमा चर्पी बनाइदिन गए । दलबहादुरका साला काजीमानले बा बिजरामको घरसँगै जोडेर नयाँ घर बनाउँदै थिए । नयाँ घर बनाउन थालेको खुसियालीमा भोज खान उनले दिदी लीलाकुमारी र भिनाजु दलबहादुरलाई पनि बोलाए । खाँदै गर्दा निकुञ्जबाट खटिएका सुरक्षाकर्मीले घर घेरे । काजीमान फुत्किए । दलबहादुर र उनकी श्रीमती लीलासहित जितबहादुर पुन, शक्ति प्रजा, बुद्धिबहादुर प्रजा, दुर्गाबहादुर तामाङ, महेन्द्र गुरुङ, काजीमानकी श्रीमती दिलमायालगायत पक्राउ परे ।

त्यसको दुई साताअघि ०६७ जेठ २८ मा डुमरिया पोस्टदेखि दक्षिणतर्फ गौरमचान नजिक बाँस खोलादेखि करिब २०० मिटर पश्चिम चुरेको घाँच सालघारीमा २० वर्षको भाले गैंडा खाग झिकिएको अवस्थामा मृत भेटिएको थियो । सुराकीका आधारमा सुरक्षाकर्मीले उक्त गैंडालाई जितबहादुर पुन र काजीमानको समूहले मारेको निष्कर्ष निकाले । त्यसैले काजीमानको घरमा छापा हानिएको थियो । काजीमान भागे पनि उनकी श्रीमती दिलमाया, दिदी लीला, भिनाजु दलबहादुर, घर बनाउने मजदुरहरू तामाङ, गुरुङलगायत पक्राउ परे । पछि सुरक्षाकर्मीले पक्राउ परेका व्यक्तिसहित राजकुमार र काजीमानलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्‍यो । एक महिना हिरासतमा रहेकी लीला निकुञ्जले बोलाएको समयमा हाजिर हुने सर्तमा रिहा भइन् ।

करिब ७ वर्ष जेल बसेर निर्दोष ठहरिएका दलबहादुर प्रजा ।

०७० जेठ २९ मा निकुञ्जले फैसला गर्दा करिब तीन वर्ष जेल बसिसकेका दलबहादुर निर्दोष ठहरिए । नेपाल सरकारको पुनरावेदन परेपछि तत्कालीन पुनरावेदन अदालत हेटौंडाले ०७१ माघमा निर्दोष ठहर्‍याएको थियो । (पछि ०७३ चैतमा सर्वोच्च अदालतले पनि उनलाई निर्दोष रहेको ठहर गर्‍यो ।) तर, उनलाई अर्को मुद्दाका प्रतिवादीले पोल गरेको भन्दै तत्कालै पक्राउ गरी निकुञ्जले फेरि १० वर्ष कैद हुने फैसला गर्‍यो । त्यसविरुद्ध उनले उच्च अदालत हेटौंडामा पुनरावेदन गरेकोमा ०७४ को फागुनमा सफाइ पाए । त्यतिन्जेल उनी ०६७ मा पक्राउ परेको मितिबाट सात वर्ष कैद बसिसकेका थिए ।

दलबहादुरका साला काजीमान पछि पक्राउ परे । उनलाई निकुञ्जले ०७० जेठ २९ मा १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनायो । उनकी श्रीमती दिलमायालाई १० वर्षको कैद र ७५ हजार जरिवाना हुने निकुञ्जको फैसलालाई हेटौंडा उच्च अदालतले ०७१ माघ २७ मा पाँच वर्ष कैद र ५० हजार रुपैयाँमा झारिदियो । काजीमानले पुनरावेदनसमेत नगरी अहिलेसम्म निकुञ्जले तोकेको कैद भुक्तान गरिरहेका छन् ।

‘विदेश जान ठिक्क परेको मानिसलाई त्यसै पक्रेर सात वर्ष जेल हालेपछि परिवारको अवस्था चौपट भयो । मलाई पनि एक महिना थुनेर तारेखमा छाडे,’ लीलाकुमारी भन्छिन्, ‘काजीमान भाइ १५ वर्षका लागि जेलमा छन् । भाइ–बुहारी दिलमाया पनि पाँच वर्ष जेल बसेर छुटिन् । हाम्रो परिवार नै तहसनहस भयो ।’

दलबहादुर जेलमै रहेका बखत उनका कान्छो छोरा ओमप्रकाश बिरामी परे । १० कक्षामा पढ्दै गरेका छोरा सिकिस्त भएपछि लीलाले उपचार गराउन सकिनन् । ०७० असोज ५ मा ओमप्रकाश बिते । ‘छोरो उपचार नपाएरै बित्यो । म एक्लैले केही गर्न सकिनँ,’ लीलाले भनिन्, ‘वकिलले एक पटक बहस गरेको कम्तीमा १५ हजार लिन्थे । बाख्रा बेचेर बल्लतल्ल ५–७ हजार जुटाउँथें । त्यति पैसाले कसरी पुर्‍याउनु ? कहिलेसम्म पुर्‍याउनु ? यहाँबाट हेटौंडा कसरी जानु ? के खानु ? वकिललाई के तिर्नु ? उपचार कसरी गराउनु ? त्यो बेला लिएको ऋण अझै छ ।’

जेल पर्नुअघि वैदेशिक रोजगारीमा गएका दलबहादुर दुई छोरा र एक छोरीलाई पढाउँदै थिए । तर, जेल परेपछि परिवारको आम्दानी ठप्प भयो । सन्तानको पढाइ छुट्यो । छोरीले विवाह गरिन्, जेठो छोरो कुनै काम नगरी हल्लिएर हिँड्छन्, कान्छाको जीवन नै गुम्यो ।

‘शत्रुलाई पनि यस्तो नहोस्’

वन्यजन्तु अपराधमा नेपालको कानुन अन्य दक्षिण एसियाली देशहरूको भन्दा कडा छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ अनुसार पाँचदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यस्तो कडा कानुनी व्यवस्थाको चर्को मूल्य स्थानीय आदिवासी समुदायले कसरी चुकाइरहेका छन् भन्ने उदाहरण राजकुमार–मोतीमायाको परिवार नै हो । मोतीमायाका श्रीमान् र जेठाजुहरू सबै वन्यजन्तु अपराधसम्बन्धी कडा कानुनको फन्दामा छन् । यसबाट उनको माइती पनि प्रभावित छ ।

मोतीमायाका भाइ वीरबल १५ वर्ष जेल बसेर रिहा भएका हुन् । ०६२ साउन ७ मा पक्राउ पर्दा वीरबल २५ वर्षका थिए । चार छोरा र श्रीमतीसहितको परिवार पाल्न खेती किसानी गर्थे । निकुञ्जमा गैंडा सिकार गर्न जाने समूहलाई बन्दोबस्तीका सामान पुर्‍याउन आफूले सहयोग गरेको उनी स्विकार्छन् । उनले अदालतलाई दिएको बयानमा पनि दुई हजार रुपैयाँ पाउने गरी सिकारीका लागि चाउचाउ, दालमोठ र खाना पकाउने भाँडा बोकेर जंगल गएको तर गैंडा मार्ने र खाग बिक्रीमा संलग्न नरहेको तथा त्यसबापत कुनै लाभ पनि नलिएको बताएका छन् । त्यति गरेका उनलाई १५ वर्ष कैद हुने फैसला भयो । युवा उमेर जेलमै बिताएका उनी सजाय काटेर फर्किँदा परिवार तहसनहस भइसकेको थियो । श्रीमतीले अर्को विवाह गरेकी थिइन् । छोराहरू पढाइ छाडेर बरालिएका थिए । घर नामको सानो छाप्रोको नामोनिसान थिएन ।

खाग तस्करीको आरोपमा १५ वर्ष जेल बसेरका रिहा भएका वीरबल प्रजा ।

‘चेपाङले गैंडा मार्‍यो भन्छ, समात्छ, थुन्छ । संकटकालमा पक्राउ परेकाले राम्ररी अनुसन्धान भएन । पाता फर्काएर पिट्थ्यो, सहन नसकेर कबुल गरिन्थ्यो । बाध्यताले कसैको नाम लिइयो भने उनीहरूलाई पनि पक्रन्थ्यो । यस्तो क्रम लामो समय चल्यो,’ वीरबल भन्छन्, ‘धेरैको घर बिग्रियो, परिवार रहेन, बच्चाको पढाइ छुट्यो । कति उपचार नपाएर मरे ।’

कुनै समय कोराकका धेरै युवा जेलमा थिए । ऊर्जाशील उमेर जेलमै गुमाएका उनीहरू बिस्तारै छुट्दै छन् । वीरबहादुर प्रजा, वीरबल प्रजा, चन्द्रबहादुर प्रजा, मंगलबहादुर प्रजा, दलबहादुर प्रजा, जितबहादुर तामाङ, जितबहादुर बल, दुर्गा रुम्बा, रामचन्द्र प्रजालगायत छुटेका छन् । गाउँका राजकुमार प्रजा, काजीमान प्रजा, रमेश लामा, बलबहादुर प्रजा, शेरबहादुर प्रजा, वीरबहादुर प्रजा, पदमबहादुर प्रजा, जीतबहादुर तामाङ, चन्द्रबहादुर प्रजा, धनलाल प्रजा, दिलमान प्रजा, सहकारी प्रजा, सुकबहादुर प्रजा, देवबहादुर प्रजालगायत कारागारमै छन् ।

‘जेल परेकाका परिवार सडकमा पुगेका छन् । कतिका बच्चा दुर्व्यसनमा फसेका छन्, कतिका श्रीमती छैनन् । राजकुमारले त्यत्रा गैंडा मारेर खाग बेचेको हो भने अहिले उसको आर्थिक अवस्था बलियो हुनुपर्ने हैन र ? उसकी श्रीमती मेरी बहिनी हुन् । नुन तेल मागेर खानुपरेको छ । म जाबो भरियालाई १५ वर्ष जेलमा कोच्यो । छुटेर आउँदा घरपरिवारको हालत देखेर क्वाँ क्वाँ रोएको थिएँ,’ वीरबल भन्छन्, ‘पाँच सय–हजार पाउने आसमा भरिया बनेको मानिसलाई सुध्रने मौकै नदिई त्यत्रो वर्ष थुनेर राज्यले के पायो त ?’

जेलमा पाउने सिदाबापतको दैनिक ४५ रुपैयाँसमेत बचाएर घर पठाउने गरेका वीरबल १५ वर्षे जेल बसाइँपछि घर फर्किंदा परिवार नै थिएन । भन्छन्, ‘भाग्यमा यस्तै रहेछ । जेल कट्यो, जीवन पनि कट्यो । शत्रुलाई पनि यस्तो नहोस् ।’

नेपालमा वन्यजन्तु अपराधमा मुछिनेहरू अधिकांश गरिब रहेको र उनीहरूले त्यसको चर्को मूल्य चुकाउनु परिरहेको अधिवक्ता राजु चापागाईं बताउँछन् । ‘निकुञ्ज आसपासका आदिवासी समुदायको गरिबीको फाइदा उठाउँदै संगठित तस्करहरूले संरक्षित वन्यजन्तुको सिकार र अंग ओसारपोसारका लागि भरियाका रूपमा प्रयोग गरेका छन्,’ उनी भन्छन्, ‘वास्तविक अपराधीले उन्मुक्ति पाइरहने यो प्रवृत्तिले नेपालको फौजदारी न्याय प्रणालीलाई गरिबीको कोणबाट समीक्षा गर्नुपर्ने ठाउँमा ल्याइपुर्‍याएको छ ।’

को–को छन् जेलमा ?

वन्यजन्तु अपराधमा मुछिएर जेल परेकाहरू को होलान् ? अनुसन्धाता कुमार पौडेलसहित तीन जनाले सन् २०१९ को नोभेम्बरमा एक जर्नलमा प्रकाशित गरेको आलेखमा यो प्रश्नको रोचक जवाफ भेटिन्छ ।

३८४ जना कैदीसँगको कुराकानीमा आधारित उक्त आलेखमा जेलपरेकामध्ये ६१ प्रतिशत गैंडाको सिकार र खाग ओसारपोसारको आरोप लागेकाहरू थिए । जसमध्ये आधाभन्दा बढी (५६ प्रतिशत) गरिब थिए, एक तिहाइ (३२ प्रतिशत) निरक्षर थिए, ७५ प्रतिशत ऐतिहासिक रूपमै बहिष्करणमा पारिएका सीमान्तकृत आदिवासी समुदायका थिए । जबकि नेपालको जनसंख्यामा आदिवासी समुदायको हिस्सा एक तिहाइभन्दा कम छ ।

वन्यजन्तु अपराधमा जेल परेका बहुसंख्यक व्यक्तिले प्रतिनिधित्व गर्ने यस्तो विशिष्ट समूह (गरिब, निरक्षर, आदिवासी) ले वन्यजन्तु अपराधसम्बन्धी नेपालको कडा कानुनको असामन प्रयोगलाई प्रस्ट पारेको छ । जेल परेकामध्ये ६९.८ प्रतिशतले आफूलाई सम्भावित सजायबारे पहिले थाहा नभएको बताएका छन् ।

नेपालका ७४ वटा कारागारमध्ये ३८ वटामा वन्यजन्तु अपराधसँग जोडिएका कैदी पनि छन् । तीमध्ये अधिकांश कारागारमा यो अपराधमा मुछिएका व्यक्तिहरूको हिस्सा थोरै (०.१ देखि ३.३ प्रतिशतसम्म) छ । तर, चितवन कारागारमा २१.१, बर्दियामा ९.६ र रसुवामा ६.४ प्रतिशत कैदी वन्यजन्तु अपराधका छन् । उक्त आलेखअनुसार उनीहरूमध्ये अधिकांशले आफू जेल परेपछि ‘बच्चाको पढाइ छुटेको, श्रीमतीसँग सम्बन्धविच्छेद भएको, परिवारले पुर्ख्यौली सम्पत्ति बेच्नुपरेको, सामाजिक प्रतिष्ठा गुमेको, परिवारका सदस्यले धर्म परिवर्तन गर्नुपरेको तथा छोराछोरीको बिहे हुन नसकेको’ जस्ता समस्या औंल्याएका छन् । तीमध्ये एकजनाले त आफू जेल परेपछि परिवारका एक सदस्यले आत्महत्या गरेकोसमेत उल्लेख गरेका छन् ।

कैदीका यस्ता जवाफले नै वन्यजन्तु अपराधसम्बन्धी कडा कानुनको असर समाजमा कुन रूपमा परिरहेको छ भन्ने देखाउँछ । ‘संसदीय समिति वा राष्ट्रिय मानवअधिकार आयोगले यसबारे राष्ट्रिय इन्क्वायरी गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अधिवक्ता चापागाईं भन्छन्, ‘आवश्यक परेछ भने कानुनमै परिवर्तन गर्नुपर्ने हुन सक्छ ।’

वन्यजन्तु अपराधसँग सम्बन्धित चितवन जिल्ला अदालतका ३० वटा फैसला केलाउँदा के देखिन्छ भने निकुञ्ज नजिकका आदिवासीहरूलाई वन्यजन्तुको चोरी सिकार र तिनका अंग ओसारपोसारमा संलग्न भएको आरोपमा अभियोजन भएको छ र, अधिकांश मुद्दामा अधिकतम सजाय दिइएको छ ।

निकुञ्ज आसपास बसोबास गर्ने उनीहरूलाई वन्यजन्तुको बासस्थान, ओहोरदोहोर गर्ने मार्ग, सुरक्षाकर्मीको पेट्रोलिङको रुटजस्ता विषयमा जानकारी हुने भएकाले संगठित तस्करहरूले प्रलोभनमा पारी सिकारी र भरियाका रूपमा प्रयोग गर्छन् । सरकारी वकिलको अभियोजन र अदालतका फैसलाहरू हेर्दा वन्यजन्तु अपराधका कुख्यात तस्करहरू जेलबाहिरै रहेको देखिन्छ ।

प्रहरीले घरबाटै २० वटा बाघका दाह्रा बरामद गरेको काठमाडौंका लोडु डिमे निष्फिक्री घुमिरहेका छन् । पत्रकारको आवरणमा रहेर नेपालमा दुर्लभ वन्यजन्तुको अंग संकलन गर्दै आएका अमेरिकी नागरिक इयान बेकर कानुनको पन्जाबाहिरै छन् । १६ वर्ष पहिले नेपाल–चीन सीमाक्षेत्रमा भएको अहिलेसम्मकै ठूलो अप्रेसनमा मुछिएका निटुप लामा पनि अहिलेसम्म उम्किएका छन् । यस्ता व्यक्तिहरूको सूची अझै लामो बन्छ । यसले नेपालको वन्यजन्तु अपराधमा संलग्न मुख्य मानिस कहिल्यै पक्राउ नपर्ने तर सामान्य सिकारी वा भरियाले चर्को सजाय खेपिरहनुपरेको देखिन्छ ।

संविधानले नै हरेक व्यक्तिलाई आफूमाथि लागेको अभियोगमा रोजेको कानुन व्यवसायीमार्फत अदालतमा प्रतिरक्षा गर्न पाउने अधिकार दिएको छ । तर, राजकुमार प्रजा र उनको परिवार जस्तै अधिकांशले आर्थिक अभावका कारण कानुन व्यवसायीमार्फत प्रतिरक्षा गर्न सकेका छैनन् । १५ वर्षसम्म कैद हुने कसुरमा सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सकिने भए पनि थुप्रै अभियुक्तहरूले सुरु अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न सकेका छैनन् । उनीहरूको स्वच्छ सुनुवाइ तथा न्यायको हक जस्ता मौलिक हकमा पहुँच नरहेको यसबाट प्रस्ट हुन्छ ।

पत्रकारको आवरणमा रहेर नेपालमा दुर्लभ वन्यजन्तुको अंग संकलन गरेका अमेरिकी नागरिक इयान बेकर ।

चितवन र नवलपरासीका दुई जना अभियानकर्ता छविलाल न्यौपाने र चित्रबहादुर माझीले केही वर्ष पहिले लेखेको ‘संरक्षित क्षेत्रका द्वन्द्व’ किताबमा भनिएको छ, ‘कानुनलाई देखाउँदै थारू, बोटे, चेपाङ जस्ता आदिवासीहरूमाथि भइरहेको विस्थापन, जरिवाना र जेल जीवनले गरिब र सीमान्तकृत समुदायले संरक्षणको मूल्य चुकाइरहेको देखाउँछन् ।’

नेपालमा वातावरण, प्रकृति र वन्यजन्तु संरक्षणका लागि विभिन्न संरक्षित क्षेत्र तथा राष्ट्रिय निकुञ्जले पुर्‍याएको योगदान ठूलो छ । यो योगदानलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा संरक्षणको क्षेत्रमा पाएको अद्वितीय सफलताका रूपमा प्रस्तुत पनि गर्दै आएको छ । तर, मोतीमाया प्रजाजस्ता निकुञ्ज आसपासका आदिवासीले तिर्नुपरेको मूल्य भने हत्तपत्त सार्वजनिक जानकारीमा समेत आउँदैन ।

परिवारको अहिलेको अवस्था र श्रीमान् राजकुमारको जेल बसाइँबारे मोतीमायाको मनमा अनेक प्रश्न छन् । उनी सोध्छिन्, ‘राजकुमारले खाग बेचेर लाखौं–करोडौं कमायो भनेर जेल हालेका छन् । उसले पैसा कमाएको भए हाम्रो हालत यस्तो किन भयो त ? खाग बेचेर पैसा कुम्ल्याएकाहरू कहाँ छन् ? उनीहरू किन पक्राउ गर्दैनन् ?’

प्रकाशित : माघ ७, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?