सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन- समाचार - कान्तिपुर समाचार

सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

नेकपा एमालेबाट निर्वाचित संघीय सांसद कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । 'माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ ।

यसअघि सांसद कोइरी संसद्‍ बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले पनि प्रश्न उठाएका थिए । साथै पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउँदा लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : माघ ६, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

नरैनापुर गाउँपालिकाद्वारा पञ्चे बाजा वितरण

रुपा गहतराज

नेपालगन्ज — पछिल्लो समय नयँ प्रविधि आविस्कारसँगै लोप हुँदै गएको पञ्चे बाजा संरक्षणका लागि नरैनापुर गाँउपालिकाले केही योजना अवलम्बन गरेको छ । शुक्रबार मात्रै गाउँपालिकाले एउटा समूहलाई बाजा वितरण गरेको छ ।

पछिल्लो समय नयाँ पुस्तामा पञ्चे बाजाप्रतिको रुची कम हुँदा बढी प्रचलित पञ्चे बाजा बजाउने संख्या घट्दै गएको देखेपछि पञ्चे बाजाको संरक्षण र यसका वाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नरैनापुर गाउँपालिका वडा नं. ६ को पञ्चे बाजा समूहलाई बाजा खरिद गरेर प्रदान गरिएको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

पञ्चे बाजा समूह बिहे, ब्रतबन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ । पछिल्लो समय पञ्चे बाजा सांस्कृतिक, सामाजिक हिसाबले महत्त्वपूर्ण भए पनि बजाउनमा नयँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले पञ्चे बाजा संरक्षणको योजना अघि सारेको हो ।

यसका लागि उक्त बाजा बजाउने समुदायलाई बाजा प्रदान गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको भनाइ थियो ।

प्रकाशित : माघ ६, २०७९ १९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×