राष्ट्रपतिको निर्वाचनबारे कानुन संशोधन गर्न कांग्रेसको माग- समाचार - कान्तिपुर समाचार

राष्ट्रपतिको निर्वाचनबारे कानुन संशोधन गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनका व्यवस्थाबीच विरोधाभास रहेको भन्दै संशोधन गर्न माग गरेको छ । प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनमा फरक–फरक व्यवस्था हुँदा विरोधाभासहरू रहेको बताए ।

उनले संविधानबमोजिम ऐनको व्यवस्थालाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जानुपर्ने बताए । ‘संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको छ । तर, ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको छ, यहाँ विरोधाभास छ,’ उनले भने, ‘तर त्यसो गर्दा हरेक कार्यकालमा एक–एक महिना कार्यकाल घटेर जान्छ । यसलाई संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जाऔँ भन्ने हाम्रो माग छ ।’

उनले यही पटकबाट त्यसलाई संसोधन गरेर जानुपर्ने बताए ।

प्रकाशित : माघ ५, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउनु ठीक होइन : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निष्पक्ष हुनुपर्छ भन्ने नाउँमा दलभन्दा बाहिरबाट कोही व्यक्तिलाई ल्याएर राष्ट्रपति बनाउने कुरा उपयुक्त नहुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दलहरूले नै संविधानले कल्पना गरेको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने व्यक्तिलाई अघि सार्न सक्नुपर्ने बताए ।

‘संविधानअनुसार जनताको छोरा–छोरी कोही पनि राष्ट्रपति बन्न सक्छ । कुनै कुल चाहिँदैन, ठूलो घराना चाहिँदैन । यसमा मेरो व्यक्तिगत आग्रह छैन, पार्टीले जे निर्णय गर्छ, त्यही मान्ने हो,’ उनले भने ।

उनले दलहरूले नै राष्ट्रपतिको उपयुक्त उम्मेदवार अघि सार्न सक्नुपर्ने बताए । ‘संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक छ, यो दलहरूले आफैंमाथि गरेको अविश्वास हो,’ उनले भने, ‘दलहरूले एउटा यस्तो व्यक्ति, सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ; जसले संविधानले कल्पना गरेको जस्तो गरेर काम गर्न सक्नुपर्छ । दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा मलाई चाहीँ ठीक लाग्दैन ।’

पूर्वसभामुख नेम्वाङले नवनिर्वाचित सभामुख घिमिरेलाई सबैको भावना र मन जितेर काम गर्न शुभकामना दिए । ‘जसलाई हामीले सभामुखको रुपमा निर्वाचित गर्‍यौँ । उहाँले हामीले विश्वासको गरेको जस्तो गरेर, सबैको भावना बोकेर, सबैको मन जितेर काम गर्नुपर्ने हुन्छ । उहाँले त्यसरी नै काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हाम्रो शुभकामना छ ।’

प्रकाशित : माघ ५, २०७९ १६:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×