१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

२०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहास अनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् ।

काठमाडौँ — सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् ।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्‍यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेले कार्यकाल सम्हाल्नेछन् ।घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्‍मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।

२०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्‍देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्‌मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भएका थिए ।

प्रकाशित : माघ ५, २०७९ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?