चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?- समाचार - कान्तिपुर समाचार

चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताएका हुन् । 

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए । उनले भने, 'संसद्‍मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।'

त्यस्तै केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, 'सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ?'

नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । 'सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,' उनले भने ।

प्रकाशित : माघ ५, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

सांसद राउतको प्रश्न : मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ? 

राउतले मधेस आन्दोलनका सहिदको सम्मानमा १ मिनेट रोस्ट्रमबाटै गरे मौनधारण
कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको बताएका हुन् । 

राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, 'राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?' तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको उल्लेख गर्दै उनले भने, 'तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।'

मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।'

मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि गृहमन्त्री रवि लामिछानेसहित अधिकांश दलका सांसदहरूले उठेर मौनधारण गरेका थिए ।

राउतले जनमत पार्टी अहिले पनि सरकारमै रहेकाले सभामुखमा एमाले उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । यसअघि जनमतले आफूलाई दिने भनिएको उद्योग मन्त्रालय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । जनमतबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गरेका छैनन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : माघ ५, २०७९ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×