![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरी निर्बाध संसद् आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![फरार सांसद कोइरी निर्बाध संसद्मा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/koiri-1912023034549-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।
२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता उनी फरारको सूचीमा छन् ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को कामकारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो ।
प्रहरीको पत्रपछि पनि कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन बैठकमा सहभागी भएका थिए । संसद् भवनको बाहिर र गेटमा नेपाल प्रहरी नै खटिएका हुन्छन् । संसद् भवनभित्र मर्यादापालक पनि प्रहरी नै हुन्छन् । सचिवालयको काम विवादमा परेका सांसदलाई पक्राउ गर्न सघाउने निकाय नभएको सचिवालयका एक उच्च अधिकारीले बताए ।‘प्रहरीले सचिवालयलाई पत्र लेखेर आफू पन्छिने काम गरेको हामीले बुझेका छौं,’ ती अधिकारीले भने ।
कोइरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको समाचार आएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले संसद् भवनमा खटिएका प्रहरीले नचिनेकै कारण कोइरीलाई पक्राउ गर्न नसकेको हुन सक्ने बताए । ‘मातहतको इकाइलाई पक्राउ गर्न निर्देशन भइसकेको छ,’ उनले भने, ‘अदालतको आदेश कार्यान्वयन हुन्छ ।’
प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद्मा उपस्थित भएका कोइरी बिहीबार सभामुखको निर्वाचनमा भने जान्छन्/जाँदैनन् यकिन छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)