२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आन्तरिक हवाई दुर्घटनामा अहिलेसम्मकै ठूलो मानवीय क्षति

काठमाडौँ — हवाई सेवाको साढे ६ दशक लामो इतिहासमै नेपाली आकाशमा दुर्घटनाको संख्या ‘थ्री डिजिट’ मा चढिसकेको छ । एकातिर व्यावसायिक आन्तरिक उडानमा चाप बढ्दो छ भने अर्कोतिर त्यसको चुस्त व्यवस्थापन हुन सकेको छैन । यस्तोमा बाक्लिएर भइरहेका भयानक दुर्घटना र क्षतिका कारण नेपालको आकाशमार्ग नै कति सुरक्षित छ ? भन्ने प्रश्न पेचिलो बन्दै आएको छ । 

आन्तरिक हवाई दुर्घटनामा अहिलेसम्मकै ठूलो मानवीय क्षति

आइतबार पोखरामा भएको विमान दुर्घटनाले हवाई सुरक्षामाथि उठ्ने गरेको त्यही प्रश्न फेरि एक पटक उजागर भएको छ । पोखरा विमान दुर्घटना नेपाली आकाशमा भएको १०४ औँ हवाई दुर्घटना हो भने व्यावसायिक आन्तरिक उडानमा यो ५० औँ दुर्घटना हो । तर, यो नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो दुर्घटना पनि हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा यति धेरै मानवीय क्षति भएको यो पहिलो दुर्घटना हो ।

पोखरामा आइतबार भएको हवाई दुर्घटनामा परी हालसम्म ६८ जनाको ज्यान गइसकेको छ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०:५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट–२०२२’ अनुसार आन्तरिक उडानमा यसअघि यति ठूलो मानवीय क्षति भएको थिएन । नेपाली आकाशमा भएका अन्तर्राष्ट्रिय उडानसहितको इतिहास हेर्ने हो भने पनि यो तेस्रो ठूलो दुर्घटना हो । व्यावसायिक आन्तरिक उडानतर्फ सन् १९६९ को जुलाई १२ मा हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो । आन्तरिक उडानतर्फ नेपाल एयरलाइन्सकै सन् २००० को डडेल्धुरा जोगबुढा दुर्घटना (२५ जनाको मृत्यु), तारा एयरको सन् २०१६ को म्याग्दी दुर्घटना (२३ जनाको मृत्यु), ताराकै सन् २०१० को ओखलढुंगा दुर्घटना (२२ जनाको मृत्यु) र गत वर्ष भएको मुस्ताङ दुर्घटना (२२ जनाको मृत्यु) सबैभन्दा ठूला हुन् ।

पोखरा दुर्घटनामा व्यावसायिक आन्तरिक उडानतर्फ नेपालले अहिलेसम्मकै ठूलो र दर्दनाक मानवीय क्षति व्यहोरेको छ । व्यावसायिक आन्तरिक उडानमा भएका ५० दुर्घटनामध्ये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । २९ दुर्घटनामध्ये पोखराबाहेक मात्रै ३ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा सन् १९९२ मा एकै वर्ष दुई ठूला दुर्घटना भएका थिए । भट्टेडाँडामा भएको पाकिस्तान इन्टरनेसनल एयरको दुर्घटनामा १६७ र ग्यानफेदीमा भएको थाई एयरवेजको दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । सन् २०१८ मा त्रिभुवन विमानस्थलमै भएको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।

प्राधिकरणका अनुसार नेपालमा अहिलेसम्म एक इन्जिनयुक्त आठवटा दुर्घटना भएका छन् भने ३६ वटा हेलिकप्टर दुर्घटना भएका छन् । १० अन्तर्राष्ट्रिय वायु सेवाका उडान दुर्घटनामा परेका छन् । सन् १९९५ मा नेपालमा पहिलो पटक बाराको सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

यी दुर्घटनामा आइतबारको पोखारा दुर्घटनाबाहेक नै ८ सय ४९ को मृत्यु भइसकेको छ । जसमा आन्तरिकतर्फ ३ सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३ सय ७५ गरी गरी जम्मा ८ सय ४९ को मृत्यु भएको हो ।

आइतबार भएको दुर्घटना भएको विमानमा चालक दलका ४ र ६८ गरी ७२ जना सवार थिए । यती एयरलाइन्सका अनुसार विमानमा सवारमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए भने उनीहरूमध्ये ५३ नेपाली नागरिक थिए भने ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्ट्रेलियन, १ आइरिस र १ फ्रान्सेली गरी १५ जना विदेशी नागरिक थिए ।

प्रकाशित : माघ १, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?