प्रधानमन्त्री दाहाललाई नेपालको सुझाव : 'ओली प्रवृत्ति' नदेखाउनुहोला

पुस २७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी 'ओली प्रवृत्ति'को पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न प्रधानमन्त्री दाहाललाई उनको आग्रह थियो ।

केपी ओलीले मंगलबार संसद्‍ बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती (संविधान विघटन) स्वीकार नगरेको भन्दै त्यसो नगर्न अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराएका थिए । ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुश भए त हुन्थ्यो । तर यो महसुश नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुश नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला । राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला । राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईँलाई असल मानिस भनिएला । भ्रष्टाचारबाट जोगिनुभयो भने तपाईँ एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला । र देशको विकासले गति लिन सक्यो भने गति लिने काममा भूमिका खेल्नु भयो भने तपाईँले इतिहासमा नाम कमाउनु होला,' अध्यक्ष नेपालले भने ।

उनले आफूहरूले यो सरकारलाई १५ बुँदे सर्तसहित समर्थन गरेको पनि बताएका थिए । ती सर्तमा राष्ट्रियताको विषयदेखि जनजीविकाका विषय हुँदै युवा बेरोजगारीका विषय पनि समेटिएको छ ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाएका थिए । उनले विश्वासको मत लिने क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully