सरकार र माओवादीलाई युवाहरूको धेरै मद्दत चाहिएको छ : प्रधानमन्त्री दाहाल

पुस २७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताएका छन् ।  बुधबार काठमाडौंमा योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताए ।

सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको उनको भनाइ थियो । उनले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै यो सफलतालाई कम आक्न नहुने बताएका थिए । ‘यतिबेला सरकार र पार्टी नेतृत्वलाई तपाईँहरुको धेरै मद्दत चाहिएको छ । प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई हामी कसैले पनि कम आँक्नु हुँदैन,' उनले भनेका छन् ।

यस्तै युवाहरूलाई रोजगारी र नियुक्तिका विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास गर्ने उनको भनाइ थियो । साथै उनले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन पनि दिएका थिए ।

कान्तिपुर

Link copied successfully